|

सल्यान : सल्यानका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

जिल्लाको कुमाख गाउँपालिका-३ रागेचौरको सिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले वडा नं १ देखि ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा विपन्न विद्यार्थीलाई झोला, कापी, कलम, वर्णमाला लगायतका शैक्षिक सामग्री वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले यस्ता टुहुरा, अति विपन्न बालबालिकाको तथ्यांक राख्न र यस कार्यक्रमबाट बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आफू निर्वाचित भइसकेपछि आफ्नो मुख्य ध्यान शिक्षा र स्वास्थ्यमा रहेको बताए। न्यून आय भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने उनको भनाइ छ।

आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपर्ने उनको भनाइ छ। शिक्षा, स्वास्थ्य आधारभूत कुरा भएकाले राज्यले त्यसको दायित्व लिने उनको कथन छ।

विपन्न, टुहुरा बालबालिका कुमाख गाउँपालिकाका विद्यालयमा अझ धेरै भएको र क्रमशः सबैलाई सहयोग गर्न सके यस अध्ययन केन्द्रको प्रभावकारिता बढ्ने र यसका लागि स्थानीय निकायले पनि सहयोग गर्नुपर्ने शिक्षा शाखा प्रमुख दीपककुमार चन्दले बताए।

सामुदायिक अध्ययन केन्द्रले शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीमा उत्साह जोस, जाँगर र शैक्षिक क्षेत्रमा बालबालिकाले अब्बल उपलब्धि हासिल गरी आफ्नो भविष्य उज्ज्वल बनाउनेतर्फ ध्यान दिने वडाध्यक्ष केवलबहादुर रानाको भनाइ छ।

संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको सिद्ध कुमाखी अध्ययन केन्द्रका अध्यक्ष भुवनेश्वर शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.