|
तस्वीर : एकराज गिरी

पर्वत : कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा पहिरोले ३ घरमा क्षति गरेको छ भने एक सय भन्दा बढी घरहरू डुबानमा परेका छन्।

शुक्रवार साँझदेखि लगातार भएको वर्षाका कारण आएको पहिरोले सुई खेतका समथर भागमा रहेका घरहरू डुबानमा पारेको र भित्तातर्फ पहाडमा जोडिएको घरहरूमा क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक सुन्दर तिवारीका अनुसार पहिरो सहितको लेदो घरभित्र पस्दा मानवीय क्षति नभएको भए पनि घरभित्र रहेका सामग्रीहरूमा क्षति भएको छ।

सुरक्षाकर्मी र स्थानीयले घरभित्रका कतिपय सामग्रीहरू भने निकालेर सुरक्षित स्थानमा राखेका छन्। पहिरोकै कारण गाई, भैँसी, कुखुरा र बाख्रा पालिएका दुई ओटा फार्महरू पुरिएका छन्।

ती फार्ममा कति पशुपक्षी पालिएका थिए भन्ने यकिन भइनसकेको र प्रहरीले खोज्ने काम गरिरहेको पनि डिएसपी तिवारीको भनाइ छ। खोलामा आएको बाढी र पहाडबाट समथर ठाउँमा जम्मा भएको बाढीका कारण सुई खेतका करिब एक सय भन्दा बढी घरहरू डुबानमा पारेका छन्।

घरका भुईँ तलासम्म पानीले पुरिएपछि डुबानमा परेका घरका सदस्यहरूलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो र डुबान स्थलको अनुगमन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जु देवी गुरुङले मानवीय क्षति नभएको भए पनि पहिरोले घरमा क्षति गरेको र डुबानका कारण पनि घरहरूको अवस्था बिग्रिन सक्ने बताइन्।

समस्यामा परेका परिवारको समस्या समाधानको लागि महानगरपालिका तयार रहेको बताउँदै उनले पशु फार्महरूमा भएको क्षतिको यकिन विवरणहरू आइनसकेको जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.