|

सुर्खेत : आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)ले नगरपालिकालाई खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ। नगरपालिकाले पहिलो चरणमा ९ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ।

नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताए। आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छानामुक्त गर्न थालिएको नगरप्रमुख केसीले बताए। आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ।

अब नगरपालिकाले वडाअनुसार जस्तापाता वितरण गर्ने जनाएको छ। नगरपालिकाले खरका छाना भएका घरको संख्या भने पहिले नै संकलन गरिएको थियो। वडा नं. १ मा ५० घरपरिवारलाई जस्तापाता वितरण गरिनेछ। वडा नं. २ मा ४६ घरपरिवार, वडा नं. ३ मा ८७ घरपरिवार, वडा नं. ४ मा ४४ घरपरिवारलाई वितरण गरिने कार्यालयले जनाएको छ।

त्यस्तै वडा नं. ५ मा ५१ घरपरिवार, नं. ६ मा ५५ घरपरिवार, नं. ७ मा ४३ घरपरिवार, वडा नं. ८ मा ३६ घरपरिवारलाई र वडा नं. ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले वडा नं. १० मा ७१ घरपरिवार, वडा नं. ११ मा ७२ घरपरिवारलाई, वडा नं. १२ मा ५८ घरपरिवार, वडा नं. १३ मा ४१ घरपरिवार र वडा नं. १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ।

अति विपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकामा फुसका छाना हटाई जस्तापाताको छानोमुनि जनता ल्याउने कार्यक्रमअन्तर्गत १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ।

पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताको आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ। जस्तापाता पाएसँगै स्थानीय बासिन्दा खुसी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.