'असन्तुष्टि भए पार्टीभित्रै छलफल हुन्छ'

|

काठमाडौं : सत्तारूढ नेकपा एकीकृत समाजवादी पार्टी अहिले आन्तरिक विवादमा फसेको छ। ६ महिना सरकारमा बसेर काम गरिसकेका मन्त्रीलाई फिर्ता गर्ने र नयाँ बन्ने मन्त्रीको विषयलाई लिएर पार्टीभित्र विवाद चर्किएको हो।

पार्टीको निर्णय मन्त्रीले नै नमानेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीलाई शपथ गराउनुभएको छैन। जसका कारण यो विषय थप पेचिलो बनेको हो। यसै सन्दर्भमा थाहाकर्मी जगत भण्डारीले नेकपा एकीकृत समाजवादीका नेता एवं स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङसँग गरेको कुराकानीको सम्पादित अंश :

मन्त्री फेरबदलको विषय तपाईँहरूलाई महाभारत नै भयो है? 

पार्टीले पहिले मन्त्री बनाउँदा नै ६ महिनामा मन्त्रीलाई फिर्ता बोलाउने भन्ने सहमति थियो। बीचमा स्थानीय तहको निर्वाचन लगायतका कारणले केही ढिलाइ भयो। त्यहीअनुसार पार्टीको सचिवालयले निर्णय गरेको ३ महिना जति भएको छ।

स्थायी कमिटीले मात्र होइन शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पनि यसलाई अनुमोदन गरिसकेको छ। यसैले पार्टीको निर्णय कार्यान्वयन नहुने भन्ने हुँदैन। केही असन्तुष्टि भए पनि मन्त्रीहरुले पार्टीमा राख्ने हो तर निर्णय नमान्ने भन्ने हुँदैन। वर्तमान मन्त्रीमण्डलमा रहेका र नयाँ प्रस्तावित मन्त्रीहरुको केही मतभिन्नता भए पनि पार्टीको निर्णय मान्नैपर्छ। पार्टी सिस्टममा यसको विकल्प हुँदैन।

हामीकहाँ शपथ लिइसकेपछि मात्र को मन्त्री भयो भन्ने थाहा हुने गरेको छ कतिपय अवस्थामा तर पार्टीमा छलफल नगरकन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्नु स्वभाविक मान्न सकिन्छ र?

त्यतिबेला के भयो छलफल भयो कि भएन भन्ने त मलाई थाहा छैन। किनभने म त्यतिबेला देश बाहिर थिए। इजिप्टमा थिए एउटा कार्यक्रममा भाग लिन त्यो निर्णयबारे सञ्चारमाध्यमबाट नै थाहा पाएको थिए।  

तपाई त भाग्यमानी मन्त्रीमा पर्नुभयो हैन? स्वास्थ्यराज्यमन्त्रीबाट फुल मन्त्रीमा बढुवा हुने एक्लो व्यक्ति पर्नुभयो कस्तो लागिरहेको छ?

होइन म राज्यमन्त्री हुँदा नै तपाई ६ महिनापछि फुल मन्त्री बन्नुहुन्छ अरु साथीहरू फिर्ता भए पनि तपाईं हुनुपर्दैन भन्ने नै थियो। त्यसैले मलाई आश्र्चय लागेको छैन। 

तपाईलाई फाइदा त फाइदै भयो नि हैन?

यो फाइदा घाटाको कुरा होइन पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने विषय हो। 

यसबीचमा पार्टीभित्र धेरै खिचडी पाकिसक्यो। अध्यक्ष नेपाल र मन्त्रीहरुबीच भनाभन भयो। ८ बुँदे ध्यानाकर्षणपत्र बुझाइयो । पार्टी फुटाउनेसम्मका धम्की आए यसलाई कसरी लिनुभएको छ? 

हो । यीमध्ये केही विषय सार्वजनिक भइनै सकेका छन्। मैले पनि कतिपय विषय सञ्चारमाध्यमबाट नै थाहा पाए । जुन चार मन्त्रीसहित पार्टीका १० सांसदले मन्त्रीहरू फेर्ने निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्षलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।

अहिलेसम्म ६ जनाले फिर्ता लिइसक्नुभएको छ। चित्त नबुझेको कुरा बाहिर आउनु पनि स्वभाभिक नै हो। तर यी विषयहरु पार्टीका आन्तरिक कुराहरु हुन्। यी हल हुनेक्रममा छन् ।    

पार्टीभित्र छलफल नगरीकन अपराधीजस्तो व्यवहार गरेर छापामार शैलमा हटाउन खोजेको मन्त्रीहरुको आरोप छ यस्तो गर्न मिल्छ? 

कसलाई के जिम्मेवारी दिने भन्ने निर्णय गर्ने पार्टीको एउटा तह हुन्छ। त्यसले गरेको निर्णय अनुसार कार्यान्वयन गर्ने हो नि। पहिला पनि सचिवालयकै निर्णयबाट मन्त्री बन्ने भएको हो। अहिले पनि त्यही हो।

जहिले पनि आफूले भनेको जस्तो हुँदैन । पार्टीको इमान्दार कार्यकर्ताले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाकै अनइच्छाले पनि यसमा ढिलाई भएको हो? 

अहिले गठबन्धनको सरकार छ। गठबन्धनभित्रका पार्टीहरुले कसलाई मन्त्री बनाउने के जिम्मेवारी दिने भन्ने सार्वभौम अधिकार पार्टीमै हुन्छ। तर यसमा ढिलाई भएकै हो। 

तपाईका पार्टीका प्रस्तावित मन्त्रीले सिलाएको दौरा सुरुवाल पुरानो हुनेबेला भइसक्यो !

हाहा हास्दै, हामीकहाँ मन्त्रीले मात्र दौरासुरुवाल लाउँछन् भन्ने छ । त्यसो होइन । आजभोलि सबैले लगाउँछन् नि । सांसदसँग पनि हुन्छ नि ।

सत्तारूढ अरू दलबाट मन्त्री फेरिन नपर्ने तपाईंकै समाजवादी पार्टीबाट मात्र किन यस्तो मरिहत्त मन्त्री बन्नका लागि?

सुरुमा मन्त्री बन्ने आकांक्षी बढी भएका कारणले यस्तो सहमति भएको हो। अहिले आएर यसलाई समाजवादीसँग जोडेर हेर्नुपर्छ जस्तो लाग्दैन। 

अहिले एमालेकै केही नेताहरूले तपाईका पार्टीका अध्यक्षलाई बल्ल पर्‍यो निरमाया माकुरी जालैमा भनेको सुन्नुभएको छ? 

होइन हामीले एमालेमा विद्रोह गरेर निस्किएको चित्त नबुझेर उहाँहरुले अनेक किसिमले गाली गर्नुभएको होला। अहिले थपडी बझाएर केही अर्थ राख्छ जस्तो लाग्दैन। हिजो एमाले अध्यक्ष केपी ओलीलाई जुन अप्ठेरोमा पारिएको थियो अहिले अध्यक्ष नेपाललाई उही मन्त्रीले समेत नटेर्ने अवस्था आयो।

मन्त्री बन्नकै लागि पार्टी विभाजन गरेको आरोप छ। उहाँहरुले के आरोप लगाउनुहुन्छ त्यो उहाँहरुको कुरा भयो तर सत्य कुरा के हो भने हिजो जुन हिसाबले पार्टीको नीति र सिद्धान्तविपरीत पार्टी अध्यक्षले जुन गतिबिधी गर्नुभयो त्यसको हामीले विरोध गरेका हौँ।

संविधानमिचेर संसद विघठनको निर्णय भयो। दुई तिहाइ नजिकको जनमत भत्काउने काम भयो। यस्ता निर्णयको विरुद्धमा उभिएका हौँ हामी। त्यो कुरा र अहिलेको हाम्रो पार्टीभित्रको कुरालाई जोडेर तुलना गर्न मिल्छ जस्तो मलाई लाग्दैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.