|

काठमाडौं : आइतबारको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित गर्न नसक्ने अवस्था आएपछि बैठक नै स्थगित गर्नुपर्‍यो। 

प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेका कारण कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन। 

सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल एमाले सांसद झपट रावलले प्रतिनिधिसभा सदस्यको गणपूरक संख्या नपुगेको र यस्तो अवस्थामा प्रस्ताव पारित गर्दा नियमावली विपरीत हुने भन्दै निर्णयार्थ पेस गर्नुअघि गणपूरक संख्या गणना गर्न माग गरे। 

‘यहाँ कोरम नपुगेका हुनाले यो निर्णयार्थ पेस गरिँदैछ। हाम्रो नियमावलीभन्दा विपरीत भएको हुनाले निर्णयार्थ पेस हुनुभन्दा पहिले यहाँ गणना गरियोस् भन्ने कुरा म राख्न चाहन्छु’ उनले भने। 

लगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यहरुको गणपूरक संख्या गणना गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए। 

गणपूरक संख्या गणना हुँदा प्रस्तावलाई निर्णयार्थ पेस गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै सदस्यहरुको मात्रै उपस्थिति देखिएकाले गणपूरक संख्या अपुग भएको भन्दै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरे। भलै, अहिले आधा घण्टापछि बैठक सुरू भएको छ। 

प्रतिनिधिसभामा हाल रहेका २ सय ७१ सांसदमध्ये २ सय ८ जना सांसद अनुपस्थित भएपछि बैठकमा गणपूरक सांसद नपुगेको हो। संविधानको धारा ९४  बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ। तर, आइतबारको बैठकमा ६३ जना मात्रै उपस्थित भए। संविधानअनुसार प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ चाहिन्छ। 

प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्यहरु पूरा समय नबस्ने गरेको विषयमा विभिन्न समयमा आलोचना हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.