|

काठमाडौं : पेट्रोल र डिजेलको मूल्य घटाएपछि नेपाल वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारले आइतबार पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर २९ रूपैयाँले मूल्य घटाएको छ। हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राख्ने निगमबाट भएको मूल्य समायोजनप्रति संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

संघका प्रवक्ता योगराज कंडेल शर्माले आइतबार विज्ञप्ति जारी गर्दै हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर नेपाल आयल निगमले प्रतिलिटर १० रूपैयाँभन्दा बढी मुनाफा नहुने गरी मूल्य समायोजन गर्न अनुरोध गरेको जानकारी दिएका हुन्।

अन्तरराष्ट्रिय बजारबमोजिम इन्डियन आयल कर्पोरेशनले निगमलाई रक्सौलमा उपलब्ध गराउने करमुक्त खरिद मूल्यमा सरकारको अत्यधिक राजस्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको संघको दाबी छ।

कोरोनाको मारमा परेका वायुसेवा उद्योगलाई पुनःस्थापित गर्न छिमेकी भारत, चीनलगायत देशले हवाई इन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको स्मरण गर्दै संघले नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धरासायी हुनबाट बचाउन हवाई इन्धनको मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। हवाई सञ्चालन खर्चको ४० प्रतिशत हिस्सा हवाई इन्धनको हुने जारी विज्ञप्तिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.