|

भोजपुर : पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ।

तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो।

पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्‍नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

अध्यक्ष राईले भने ‘हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ। यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्ने थप उर्जा मिल्ने छ।’ अहिले स्तरोन्‍नतिको काम भइरहेको भएपनि यो सडकलाई आफ्नो कार्यकालभित्र कालोपत्रे गर्ने उद्धेश्य रहेको अध्यक्ष  राईले जानकारी दिए।

अध्यक्ष राईले भने ‘यो पटक प्रदेश सरकारले हाम्रो गाउँपालिका आउने विकास बजेट कटाएको छ। हामीले यस सडकलाई कालोपत्रे गर्ने सोचका साथ काम गरिरहेका छौँ। यो सडक पौवादुङमाबासीसँगै जिल्ल्लाबासीको महत्वपूर्ण सडक हो। विकासको पहिलो आधार सडक हो।  यो सडकलाई अन्य निकायसँग पहल गरेर भएपनि पाँच वर्षभित्रमा कालोपत्रे गर्ने मेरो लक्ष्य छ।’

सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इन्जिनियरहरूले नियमित अनुगमन तथा आवश्यक सहयोग पुर्‍याएको प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराइले बताए।

उनले भने, ‘राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले उहाँलाई सम्मान गरेको हो।’

गाउँपालिकाले गरेको यो सम्मानले आफूलाई काम गर्ने थप उर्जा मिलेको राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतले बताए। राउतले भने ‘उहाँहरुको साथ सहयोग विना यो काम सम्भव थिएन। स्थानीय, गाउँपालिकाका कर्मचारी तथा गाउँपालिका अध्यक्षको सहयोगमा समयमै काम सम्पन्न गर्न सफल भएँ। मेरो कामको सम्मान गरिदिनु भएकोमा गाउँपालिका अध्यक्ष तथा सिंगो पौवादुङमा गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

सडकको स्तरउन्नतिले यहाँका सानोदुम्मा, ठूलोदुम्मा र बास्तिमका नागरिक बाह्रै महिना  सडकको पहुँचमा जोडिएका छन्। यो सडक जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्ला जोड्नका लागि सबैभन्दा छोटो मार्ग हो। यहाँबाट यात्रा गर्दा २३ किलोमिटर बाटो छोटो हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.