|

हेटौंडा : बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आवका लागि २ अर्ब ७१ करोड ७९ लाखको बजेट ल्याएको छ।उपमहानगरपालिकाले आज (आइतबार) बसेको नगरसभा बैठकमा आगामी आव ०७९/८० का लागि २ अर्ब ७१ करोड ७९ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको हो।

पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख रूपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, अन्य विविध शीर्षकमा ९९ लाख रूपैयाँ विनियोजन गरिएको छ।

उपमहानगरले खर्च बेहोर्न आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

उपमहानगरपालिकाले बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। उपमहानगरले खेल क्षेत्रका लागि ३ करोड ७३ लाख रूपैयाँ विनियोजन गरेको छ। उपमेयर राजेश बानियाँका अनुसार हेटौंडा–५ स्थित क्याम्पा रंगशाला निर्माणका लागि २५ लाख रूपैयाँ, नगरमा थप एक मिनी रंगशाला तथा फुटसल निर्माणका लागि ८० लाख रूपैयाँ, स्थानीय तह गोल्डकपका लागि २५ लाख र फुटबलको नियमित प्रशिक्षण र एकेडेमीका लागि ७५ लाख रूपैयाँ विनियोजन गरिएको छ।

उपमेयर बानियाँले सीमान्तकृत तथा गरिब १ हजार ५ सय ४१ घरपरिवारको स्वास्थ्य बिमाका लागि ५३ लाख रूपैयाँ विनियोजन गरिएको जानकारी दिए। चुनावमा घोषणा गरेअनुसार खानेपानी र विद्युत पनि निःशुल्क उपलब्ध गराइने बताइएको छ। आर्थिक विपन्नता भएका ५ जनालाई प्रत्येक वर्ष केयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएस अध्ययन गर्न वार्षिक छात्रवृत्ति उपलब्ध गराइने बजेटमा उल्लेख छ।

उपमहानगरले हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रूपैयाँ, हेटौंडा–४ स्थित बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रूपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रूपैयाँ, वडा तथा बस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रूपैयाँ विनियोजन गरेको छ।

उपमेयर बानियाँका अनुसार हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रूपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रूपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रूपैयाँ विनियोजन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.