|

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। 

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिपमा अभागी टोली बन्यो। एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ भएपनि वर्षा बाधक बन्दा एसियाकप यात्रा टुङ्गियो। 

सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भएपनि प्रदर्शनमा भने सन्तुष्ट छन्। सोमवार स्वदेश फर्किए पछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन्। 

उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गरे पनि वाचा पूरा हुन सकेन्। उपाधि ल्याउन लक्ष्य यसपालि पनि धकेलियो। उत्कृष्ट प्रदर्शनका बावजुद वर्षा बाधक बन्दा नेपालको अघिल्लो खुड्किलो सेमिफाइनलको पहिलो इनिङमा सिमित भयो। बलियो युएईसँगको खेलमा बलिङमा जादु देखाएकी अस्मिना कर्माचार्यको ५ विकेट व्यक्तिगत प्रदर्शनमा अब्बल रह्यो। 

बलिङमा न्याय भएपनि ब्याटिङ इनिङमा प्रकृतिले नेपाललाई अन्याय ग¥यो। दुर्भाग्य नेपालको एशिया कप खेल्ने लक्ष्य वर्षाले नै मडारिदियो। सम्मुखको उपाधि टाढिए पनि नेपाली टोली आफ्नो प्रदर्शनमा सन्तुष्ट देखिएको छ। नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताइन्। 
उनले भनिन् ‘सबै खेलाडीले खेल मैदानमा आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो।

योजना अनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो। हङकङसँगको हारपछि समीकरण बदलिए पनि युएईमाथि प्रदर्शन हाम्रो लागि राम्रो हो। बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भएपनि नखेली आउनुपर्दा दुःख लागेको छ।’

टोलीमा अहिले केही अनुभवि, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरै भन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने जानकारी दिइन्। 

यस्तै जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताइन्। 

यता मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै जिम्मा आपूmले लिने बताए। एसीसी र आईसीसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भए पनि नराखेमा उनको गुनासो थियो। समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षा अनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको उनको भनाइ छ। 

मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुबिनाले भने जस्तै धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली दुई वर्षमा छलाङ मार्ने दाबी गरे। 

च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए। पाँच/पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिष्पर्धामा नेपाल समूह बीमा रहेको थियो। चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उप-विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो। 

समूह ए को विजेता युएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपालको एसिया कप यात्रामा पूर्णविराम लागेको थियो। प्रतियोगितामा यूएई च्याम्पियन बन्दा आयोजक मलेसिया उपविजेता बन्दै एसिया कपमा छनोट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.