|

धेरै समयपछि विम्बल्डनको तयारी पुरानै जस्तो देखिन्थ्यो। पहिला जस्तै अर्थात आज (सोमबार) शुरु हुने प्रतियोगिताअघिको अभ्यासमा नोभाक जोकोभिच, राफेल नाडला घाँसे कोर्टमा अभ्यासरत रहेका थिए।

लामो समयदेखि आपसमा प्रतिस्पर्धा गर्दै आएका यी दुई स्टारबाहेक अभ्यासमा सेरेना विलियम्स पनि देखिन्थिन्। अमेरिकी टेनिस स्टार सेरेना २१ औं विम्बल्डनको तयारीमा रहँदा आफ्नो शरीरलाई पुरानै अवस्थामा फर्काउन गरेको प्रयास निकै लोभलाग्दो देखिन्थ्यो।

सेरेनाका लागि यो यस्तो अवसर हो जुन उनले आफूलाई पुनरागमन गर्ने या टेनिस कोर्टबाट बिदा हुने दुईओटा अप्सनको बीचमा आफूलाई राखेकी छिन्। त्यसो त उनी आफूलाई ४० वर्षको उमेरमा कोर्टमा फर्काउने प्रयासमै रहेकी छन्।

गत वर्ष विम्बल्डनमा ह्यामस्ट्रिङ समस्याका कारण उनले एउटा पनि खेल खेल्न सकिनन्। सेरेनासँग जब पुनरागमनका लागि कति उत्साही हुनुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा भनिन्‚ ‘जब पछिल्लो विम्बलडनमा अन्तिम पटक खेलेकी थिएँ, मेरो दिमागमा त्यही समयदेखि पुनरागमन गर्नु पर्छ भन्ने लागेको थियो। त्यसकारण म धेरै आत्मविश्वासी छु। गत वर्ष इन्जुरीका कारण बाहिरिनु परेको थियो। तर कसैले पनि चाहँदैनन् खेलमा यस्तो प्रकारको बहिर्गमन।’

सेरेना यो पटक नयाँ प्रशिक्षक एरिक ह्याचमेनको साथमा रहेकी छन्। ह्याचमेन युनिभर्सिटी अफ मयामीका टेनिस खेलाडीसमेत हुन्। उनले सन् २०१९ यता भेनस विलियम्सलाई प्रशिक्षण दिइरहेका थिए।  ह्याचमेन विलियम्स दिदीबहिनीलाई १५ वर्षदेखि जान्दछन्। त्यसैले सेरेनालाई सहज छ।

त्यसअघि फ्रान्सका हाइ प्रोफाइल प्रशिक्षक प्याट्रिक मोराटोग्लू १० वर्षदेखि सेरेनाको प्रशिक्षक थिए। अहिले उनी सिमोन हालेपलाई प्रशिक्षित गरिरहेका छन्। समग्रमा एक वर्षपछि पुनरागमन र नयाँ प्रशिक्षक भए पनि सेरेना यो पटक विम्बल्डनको उपाधि जित्ने लक्ष्यमा रहेकी छन्।

सेरेनाले आफ्नो कोर्टको पुनरागमन खेलमा मंगलबार फ्रान्सकी हरमोनी टेनसँग पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन्। टेन अहिले १ सय १३ औं वरीयतामा रहेकी छन्। सेरेना आठौं विम्बल्डनको उपाधि जित्ने लक्ष्यमा रहेकी छिन्। उनले २००२, २००३, २००९, २०१०, २०१२, २०१५ र २०१६ मा विम्बल्डनको उपाधि जितेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.