|

काठमाडौं : पछिल्लो समय विश्वमा प्रविधिको विकासले फड्को मारेसँगै नेपालमा पनि विद्युतीय प्रविधिकै माध्यमबाट ई-बैंकिङ‚ व्यापार‚ आर्थिक कारोबारलगायत विभिन्न सेवा प्रवाह भइरहेको छ।

आन्तरिक राजश्व विभागले आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमबाट ई–बिलिङ (विद्युतीय बिजक) जारी गर्नुपर्ने सूचना गएको जेठ २० गते जारी गरेको थियो। विभागले वार्षिक १० करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले कम्प्युटरद्वारा निर्मित ई–बिल (बिजक) जारी गर्नुपर्ने भनेको छ। रेष्टुरेन्ट तथा होटल क्षेत्रमा भने वार्षिक ५ करोड रूपैयाँभन्दा बढी कारोबार भएका कम्पनीले ई–बिलिङ गर्नुपर्नेछ।

स्मार्ट मिसन टेक्नोलजी प्राइभेट लिमिटेड (एसएमटिइसिएच टेक्नोलजी)ले सोमबार ई–बिलिङबारे पत्रकार सम्मेलन गरी विद्युतीय माध्यमबाट बिल बिजक जारी गर्नेबारे जानकारी दिएको छ। उसले ई-बिलिङ गर्न व्यापारी‚ व्यवसायी तथा कम्पनीहरूलाई सघाउने पनि बताएको छ।

एसएमटिइसिएच टेक्नोलजी प्रालिका कार्यकारी अधिकृत (सिइओ) सुरेश पाण्डेले अहिलेको समयमा ई-बिलिङ गर्न आवश्यक रहेको बताए। उनले भने, ‘इलेक्ट्रोनिक बिलिङ प्रणालीले इन्टरनेट/कम्प्युटरमा पोइन्ट अफ सेलमा नै कारोबार रेकर्ड गर्छ र रसिद जारी गरिन्छ, कारोबारकाे वास्तविक तथ्यांक रेकर्ड गरि राखिन्छ।’

यो प्रणाली विदेशमा कार्यान्वयन भइसकेको भए पनि नेपालमा भने अझैसम्म प्रयोगमा आउन नसकेको उनले बताए। ‘अब नेपालमा पनि विस्तारै डिजिटल कारोबारमा जानुपर्छ, यसका लागि हामीले सफ्टवेयर विकास गरी सेवा दिइरहेका छौँ। यसबाट काम छिटो र छरितो हुन्छ साथै सबै विवरण सुरक्षित रहन्छ,’ उनले भने।

उनका अनुसार फुटपाथका पसलदेखि ठूला व्यवसायी सबैले ई-बिलिङबाट सजिलै सेवा लिन सक्छन्। यसका लागि व्यवसायअनुसार उपयुक्त सफ्टवेयर प्रयोग गर्नुपर्ने उनले बताए। जसका लागि उक्त टेक्नोलजीलाई वार्षिक एकमुष्ट वा मासिक रकम भुक्तानी गर्नुपर्नेछ।

तर कतिपयले सेवा लिनै नचाहेको उनको भनाइ छ। ‘हामीले सरकारीभन्दा पनि निजी व्यवसाय समेट्ने छौँ, यो सफ्टवेयरबाट नाफा घाटा सबै निस्किन्छ, क्याल्कुलेटर प्रयोग गर्नै पर्दैन,’ उनले भने।

व्यवसायीले यस्ता सफ्टवेयर प्रयोग गर्न कम्तीमा २० हजारदेखि १ लाख रूपैयाँभन्दा बढी रकम लाग्नसक्ने उनले बताए। व्यवसायी विनोदपुरुष न्यौपानेले सबैले यसबाट कारोबार गर्न सक्ने बताए। ‘व्यवसाय सञ्चालनमा समयको बचतसँगै धेरै कारोबारमा यो प्रणालीले सहयोग पुग्ने देखिन्छ,’ उनले भने।

एसएमटिइसिएच टेक्नोलजीका सिइओ पाण्डेका अनुसार एसएमटिइसिएच टेक्नोलजीले नेपालमा आइटी सिस्टम इन्टिग्रेटर, पोइन्ट अफ सेल, बार कोडिङ, सेक्युरिटी, आइडी कार्डजस्ता सेवा दिइरहेको छ।

सन् २०१३ मा स्थापना भएको यो कम्पनीले इन्फर्मेशन टेक्नोलजीसम्बन्धी तथा विभिन्न सफ्टवेयर विकाससम्बन्धी काम गर्दै आएको छ। ‘सफ्टवेयर क्षेत्रमा खासगरी ई–बिलिङ इनभ्वाइस, पोइन्ट अफ सेल, अकाउन्टिङ प्रणाली र मोबाइल एप्स क्षेत्रमा काम गर्दै आएको छ,’उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.