हेटौंडा : बागमती प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल भइरहेको छ।
सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको विषयगत मन्त्रालयको बजेटमाथि प्रदेशसभामा छलफल भइरहेको हो। छलफलका क्रममा राप्रपाकी सांसद रिना गुरुङले बजेटमाथि आफ्नो धारणा राख्ने वेलामा बोल्न निकै गाह्रो भयो। मन्त्रालयहरूको बजेटमाथि व्यंग्यात्मक टिप्पणी गरेकी उनलाई प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल हाँसेपछि बोल्नै गाह्रो भएको हो।
उनको सीधा अगाडि बसेका अर्थमन्त्री जम्मकट्टेल हाँस्न थालेपछि उनको पनि हाँसो फुट्यो। माइकमा बोल्दै गरेकी उनले हाँसो रोक्न नसकेपछि एकछिन संसदमा रहेका सबैको मुखबाट हाँसो गुञ्जियो। सांसद गुरुङ बोल्न अगाडि जाँदा नै अर्थमन्त्री जम्मकट्टेल आफूभन्दा पछाडि बसेका सांसदहरूसँग कुरा गरेर मुस्कुराइरहेका थिए ।
सरकारले ल्याएको बजेट देखेर आफूलाई रमाइलो लागेको गुरुङले बताइन्। ‘केही समय अगाडि एकजना माननीयले भन्नुभयो, बल्ल संघीयता देख्न पाइयो भनेर। सरकारले एउटा रेगुलेसन पनि ल्यायो। कस्तो खालको रेगुलेसन ल्यायो भने एउटा मन्त्रालयको बजेट २४ करोड छ‚ अर्कोको २४ अर्ब। यो सरकारले संघीयता राम्रो पक्षको रुपमा रेगुलेसन ल्याएको रहेछ‚‘ सांसद गुरुङले भनिन्‚ ‘बजारमा नुनदेखि सुनसम्म पाउँछ भनेको जसरी २४ करोडदेखि २४ अर्बसम्मको बजेट छुट्याएको किताब बाँड्दै हिँडेको रहेछ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय गरिबी निवारण गर्ने मन्त्रालय हो तर जुन मन्त्रालय आफैँ गरिब छ, त्यो मन्त्रालयले गरिबी निवारण के गर्ला? गरिबी निवारण गर्ने मन्त्रालयलाई सरकारले २४ करोड रूपैयाँ बजेट दिएको रहेछ।’
उनले यति भनिसक्दा अर्थमन्त्री जम्मकट्टेल हाँसेर मुर्छा परिसकेका थिए। लामो समयसम्म जम्मकट्टेलले आफ्नो हाँसो रोक्न सकेनन्। मुख छोपेरै मज्जाले अर्थमन्त्री हाँस्न थालेपछि सांसद गुरुङ निरन्तर बोल्न सकिनन्।
बोल्न खोज्दा माइकबाटै उनको हाँसो छुट्यो। उनको हाँसो सुनेर सदनमा भएका अरु सांसद पनि मजाले हाँसे। तर त्यतिमै रोकिइनन् उनी। हाँस्दै उनले उद्योग मन्त्रालयमाथि पनि व्यंग्य गरिन्। उद्योग मन्त्रालयलाई ६५ करोड दिएर सरकारले के गर्न खोजेको भन्दै यो बजेट रकम हास्यास्पद भएको व्यंग्य गरेको थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।