ढिलासुस्तीको विरोधमा सडकमै रोपाइँ

|
तस्वीर : ध्रुवसागर शर्मा

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँबजारका बासिन्दाले बेनी–दरबाङ सडकको रणबाङ-नयाँबजार खण्डमा धान रोपेर सडक स्तरोन्नतिमा भएको ढिलासुस्तीप्रति विरोध जनाएका छन्। पानी परेर हिलाम्मे भएको सडकमा आज (सोमबार) गाउँलेले सामूहिक रोपाइँ गरेर सरोकारवालाको ध्यानाकर्षण गरेका हुन्।

बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते २२ करोड ५७ लाख ९३२ रूपैयाँमा बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ८ किलोमिटर सडक निर्माणको जिम्मा लिएको थियो।

तर निर्माण कम्पनीले सडकको काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि बाध्य भएर सडकमा धान रोप्नु परेको स्थानीय श्रीराम पौडेलले बताए। उनका अनुसार गाउँका २० जनाभन्दा बढीले आज सडकमै धान रोपेर सडकको अवस्था जिल्लास्थित सम्पूर्ण सरोकारवालालाई जानकारी गराइएको हो। गत वैशाखदेखि निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको उनको गुनासो छ।

विसं २०७८ साल चैतमा सकिएको सम्झौताको म्याद थप र काम अघि बढाउन पत्र तथा फोनमार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गरेपछि जमानत जफत गरेर कारबाही प्रक्रिया थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ५५ प्रतिशत प्रगति भएको छ। गत वैशाखदेखि काम छाडेर गएका निर्माण व्यवसायी काममा अझै फर्किएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.