|

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी मेला सुरु भएको छ।

बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिको समन्वयमा दुई दिने मेला सोमबार सुरु भएको हो। 

मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरणको अवस्था राम्रो भएको बताए। उनले अब महिलाको आर्थिक हैसियत उठाउनु पर्ने बताए। 

मेलामा बागमती प्रदेशको १३ वटै जिल्लाका महिलाले उत्पादन गरेको सामानको ५१ वटा स्टल राखिएको छ। महिलाले उत्पादन गरेको अचार,क्रिष्टल माला, हातले बुनेको लुगा,काठ तथा बाँसका सामग्रीलगायत राखिएको छ।

सम्मेलनमा सहभागीका रूपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यमी प्रतिनिधि, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमी र २० जना आमन्त्रित महिला उद्यमी रहेको आयोजकले जनाएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव गीता मैनालीले महिलाले उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि मेला आयोजना गरेको जानकारी दिइन्। उनले उपज प्रदर्शनीको लागि महिलालाई नि:शुल्क स्टल उपलब्ध गराएको बताइन्।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.