|

हेटौंडा : बागमती प्रदेशसभा सदस्य आशामाया तामाङले सत्तारुढ गठबन्धनलाई मण्डले भनेपछि नेकपा माओवादी केन्द्रका सांसद राजकाजी महर्जनले विरोध गरेका छन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ल्याएको बजेटमाथिको छलफलका क्रममा एमालेकी सांसद तामाङले गठबन्धनलाई मण्डले बनेपछि सत्तारुढ गठबन्धनका सांसद महर्जन​ जंगिएका हुन्। बजेटमाथि आफ्नो धारणा राख्न रोष्ट्रममा पुगेकी तामाङले संविधान रक्षाका लागि भन्दै बनेको गठबन्धन मण्डले मात्रै भएको टिप्पणी गरेपछि माओवादी सांसद महर्जनले उठेर विरोध जनाए।

सभामुख सानुकुमार श्रेष्ठले पटक पटक बस्न आग्रह गरे पनि महर्जनले मानेनन्। उनले एमाले सांसद तामाङलाई संसद्‌मा बोल्ने तरिका सिकेर आउन आग्रह गरे। तामाङले पनि जंगिएका महर्जनलाई चिढ्याउँदै पटक पटक ‘गठबन्धन मण्डले हो’ भनिरहिन्।

उनले भनिन्, ‘गठबन्धनको सरकारले प्रदेशमा ६६ वटा निर्वाचन क्षेत्र छ भन्ने कुरा बिर्सिए जस्तो छ। प्रदेशमा ११९ वटा स्थानीय तह छन् भन्ने हेक्का राखोस्। एमाले तपाईंहरूभन्दा २/४ सिटले मात्रै कम छ। भोलि तपाईंहरूबीच द्वन्द्व भएर खटपट हुनेबित्तिकै सरकार हामीले ह्याण्डल गर्न सक्छौं। मलाई यो गठबन्धन कुटुम्ब जस्तो लाग्छ। संविधान रक्षाका लागि गठबन्धनको गरेको भनेको छ। कहाँ छ संविधान रक्षा ? यो गठबन्धन मन्त्रिमण्डल गठन गर्न बनेको मण्डले मात्रै हो।’

सांसद तामाङले यति भनिसक्दा सांसद महर्जनले उठेर विरोध मात्रै जनाएनन्, आक्रोशित देखिएका उनले औँला ठड्याएर गठबन्धनलाई मण्डले भन्न नमिल्ने भन्दै बोल्न सिकेर आउन भने। सभामुख श्रेष्ठले सांसद महर्जनलाई तामाङले बोलेको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे तर सभामुखले करिब १० पटक आग्रह गरेपछि मात्रै उनी बसे।

महर्जन बसेपछि जवाफमा तामाङले संसद्‌मा आफूले बोल्न सिकेर आएको भन्दै गठबन्धनको दम्भ नदेखाउन आग्रह गरिन्। पटक पटक गठबन्धन मण्डले बताउँदै उनले भनिन्, ‘बोल्न सिकेर नै आएको हो। गठबन्धन सरकारको दम्भ धेरै नदेखाउनुस्। यो दम्भ धेरै टिक्नेवाला छैन।’

उनले एमाले नेतृत्वको सरकार हुँदा ७ वटा मात्रै मन्त्रालय भएको भन्दै अहिले १४ वटा मन्त्रालय हुँदा खर्च बढेकाले मन्त्रालय कटौती गर्न मुख्यमन्त्रीलाई आग्रह गरिन्।

तामाङले बोलिसकेपछि सभामुख श्रेष्ठले बोल्दा विषयवस्तुमा केन्द्रित हुन आग्रह गरे। उनले सांसदहरूलाई संसदमा बोल्दा आफ्नो मर्यादामा रहेर मात्रै बोल्न पनि आग्रह गरे। मण्डले भन्ने शब्द प्रयोग नगर्न आग्रह गर्दै रेकर्डबाट हटाइने सभामुख श्रेष्ठले जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.