|

सर्लाही : असारदेखि भदौ ३ महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि लखन्देही खोलामा प्रहरीकै मिलेमतोमा फेरि नदी दोहन भैरहेको छ।

सरकारी बन्देजको बेवास्ता गर्दै लालबन्दी र हरिवन नगरपालिकाको सिमाना भएर बग्ने लखन्देही खोलाबाट तस्कर र प्रहरीकै साँठगाँठमा नदीजन्य पदार्थको दोहन भैरहेको स्थानीयले बताएका छन्। दिउँसो केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको जस्तो देखिए पनि राति भने प्रहरीले तस्करसँग प्रति ट्याक्टर ५ सय रूपैयाँको दरले लिने गरेको एक ट्याक्टर व्यवसायीले नै बताए।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको लखन्देही पुलको ५ सय मिटर दक्षिण र पुलको ३ किलोमिटर उत्तरका दर्जनौं ठाउँबाट दैनिक स्काभेटर प्रयोग गरि टिपर र ट्याक्टरमा ढुङ्गा,गिट्टी र बालुवा तस्करी भैरहेको छ।

लालबन्दी नगरपालिका–११ हिरापुर, डाप्कालीटोल, हिरापुर कोइरीटो, १ नम्बरको नवलपुर र हरिवन नगरपालिकाको गणेशचोक, मोहनपुरबाट यतिखेर दैनिक दर्जनौं टिपर र ट्याक्टर प्रयोग गरी गिट्टी,बालुवा र ढुंगा ओसारपसार भैरहेको छ। अवैध रुपमा उत्खनन गरि निकालिएका नदीजन्य सामाग्री तस्करले खोलाकै बगरमा थुपारेका छन्। प्रतिबन्धका वेला त ठेकेदारले ती सामाग्री अझ महँगोमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन्।

यतिखेर नदीनजिकका गाउँले र ठेकेदारले दादागिरी शैलीमा नदीजन्य सामाग्रीको उत्खनन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयले गुनासो गरेका छन्। खोला उत्खननमा संलग्न तस्कर भने जनप्रतिनिधिका कार्यकर्ता, नातेदार र आफन्तहरू नै रहेको बुझिएको छ। गएको चुनावमा सघाएका तिनै तस्करले कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन गरिरहँदा पनि जनप्रतिनिधिहरू चुँइक्क बोल्न सकिरहेका छैनन्।

तस्करले खोलाबाट विभिन्न साधन प्रयोग गरी जथाभावी नदीजन्य पदार्थ निकाल्नाले लालबन्दी नगरपालिकाको वडा नम्बर १, २ र ११ तथा हरिवन नगरपालिकाको वडा नम्बर ३ र ४ मा सयौं बिघा जमिन कटान र बाढीको जोखिममा परेको छ।

लखन्देही खोलाको तटीय क्षेत्रमा रहेका दर्जनौं बस्ती नै डुबानको जोखिममा रहेको नन्देश्वर सामुदायिक वनका अध्यक्ष उदयबहादुर कार्कीले बताए। उनका अनुसार नदी उत्खननका कारण गत वर्ष लालबन्दी–१ नवलपुर बजारको उत्तरमा रहेको नन्देश्वर सामुदायिक वनको करिब २० हेक्टर बाढीले कटान गरेको थियो। यसले गर्दा वनमा रहेका लाखौं मूल्य पर्ने सिसौको काठ बाढीले बगाएको उनले गुनासो गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.