|

झापा : अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्।

कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट जनजीवन प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।

रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन्।

शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कनकाई नदीको पानी पसेपछि ३३ घरका ११८ जना विस्थापित भएका छन्। उनीहरूलाई त्रिभुवन माविमा सारिएको छ।

गौरादह नगरपालिका ६ स्थित लेलियामा रतुवा नदीको पानी पसेपछि १२५ परिवारलाई  उच्च स्थानमा सारिएको छ। गौरीगञ्ज गाउँपालिका १ स्थित टप्पु वस्तीमा बनियानी र कनकाई नदीको पानी पसेपछि ४५ घरका १२१ जना विस्थापित भएका छन्। उनीहरूलाई छिमेकीको घर र राजजानकी प्राविमा सारिएको छ।

बाह्रदशी गाउँपालिका २ सुकुम्वासी बस्तीमा अदुवा खोलाको पानी पसेपछि ६० घरका ३१० जनालाई दक्षिनेश्वर मन्दिरमा सारिएको जनाइएको छ। त्यस्तै गौरादह नगरपालिका ५ र ६ कोहवाराको उत्तर टंगुवा समुदायमा ५० घर डुुवान परेका छन् भने बालुवाथान समुदायमा रतुवा नदीको पानी पस्न थालेको छ।

गौरादह ९ मा ढ्याग्री खोलाले ६० घर डुबानमा परेका छन्, भने वडा नम्बर ६ स्थित सुकुम्वासी बस्ती दामुना खोलाका कारण ३५ घर प्रभावित बनेका छन्। शिवसताक्षी नगरपालिका ६ स्थित स्वास्थ्य कार्यालय आसपास र ठगवस्तीका ५० परिवार सताक्षी र मक्करडुब्बा खोलाकाे कारण डुबानमा परेका छन्।

कनकाई नदीका कारण झापा गाउँपालिका १ स्थित सितुमारी, मिलनबस्ती र वडा नम्बर २ को सिर्जनाबस्ती, वडा ३ को नयाँबस्ती, वडा ७ को टप्पु बस्तीका ३५० घरमा पानी पसेको रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए। शिवसताक्षी नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालयभित्र पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ।

वर्षाका कारण शिवसताक्षी ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जको स्वास्थ्य चौकी भवन र औषधि पसलमा क्षति भएको छ।

बिर्तामोड नगरपालिका २ चैतुबारीस्थित घाग्रा खोलाको पानीले कनकाई र अम्बे प्लाई उद्योग नजिक कटान गरी बस्तीतर्फ पानी पसेको छ। कचनकवल गाउँपालिका १ स्थित पिण्डलबारी बिरिङ खोलामा आएको बाढीले सीमा स्तम्भ २८ र २९ डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

त्यसैगरी शिवसताक्षी नगरपालिका ४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फार्ममा पैनीको पानी पस्दा १२ सय ब्राेइलर कुखुरा मरेका छन्। ब्राेइलर कुखुरा र दानासहित १० लाख ४० हजार मूल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।

दमक नगरपालिका ७ स्थित सितारामा साहको किराना पसलमा नालीको पानी पस्दा खाद्यान्नमा ठूलो क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.