|

अझै पनि देशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदान रहेको छ। यसो भन्दै गर्दा असार १५ र दही चिउरा खाने प्रचलनले कृषि र मानव जीवनलाई एकपटक  स्मरण गराइदिन्छ।

सरकारले हरेक वर्ष असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन लागेको दुई दशक पुग्न लागिसकेको छ।

देशको परिस्थिति जेजस्तो भएपनि मनसुन, झमझम वर्षा अनि असार १५ भन्नासाथ कृषिमा आश्रित जनता र कृषि पेशासँग सम्बन्धित सबैलाई अत्यन्त व्यस्त समय अर्थात् असारको माँचो भनेर बुझाउने गर्दछ।

कृषिमा विकास, कृषिमा सुधार भन्ने आवाज र अभ्यासले नेपालीलाई खान पुग्ने बनाउन खोजिएको मात्र कि, कृषि उत्पादन निर्यात गरेर आम्दानी गर्ने बनाउन? नेपाललाई कृषि उद्यमको देश बनाउन सकिने कुरामा विश्वस्त हुने ठाउँ पनि छ?

असार १५ धान दिवसले नेपालमा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य यो दिवसको हुनुपर्छ। तर बिडम्बना, सरकारले प्रत्येक वर्ष धुमधामका साथ यो दिवस मनाउँदै गर्दा चामल आयात भने अझ बढिरहेको छ।

असार १५ मनाइँदै गर्दा प्रत्येक वर्ष अर्बौँ रुपैयाँ बराबरको चामल आयात गर्नुपरेको स्थिति छ। कृषि प्रधान देश भएर पनि नेपाली भान्छामा छिमेकी मुलुकबाट मात्र नभएर तेस्रो मुलुकबाट समेत आयात गरिएको चामल हाम्रो भान्छामा पाकिरहेको छ।

प्रत्येक वर्ष अर्बौँ रुपैयाँ बराबरको चामल आयात गर्नुपरेको स्थिति छ। कृषि प्रधान देश भएर पनि नेपाली भान्छामा छिमेकी मुलुकबाट मात्र नभएर तेस्रो मुलुकबाट समेत आयात गरिएको चामल हाम्रो भान्छामा पाकिरहेको छ। यद्यपि सबै आयात नराम्रो पनि होइन। तर निर्यातको संस्कारतिर पनि ध्यान दिनुपर्छ।

आयात संस्कृतिसँगै नेपाली यति सभ्य भइसकेका छौँ कि टाई सुटमा, गलैँचामाथि राखिएको गमलामा धान रोपेर धान दिवस मनाउन थालेका छौँ। यसले नेतृत्व गर्नेहरूमा खाद्य संकटले जीवनमा के असर गर्छ त्यति हेक्का नभई सकेको आभास हुन्छ।

कृषि क्षेत्रलाई रातारात सुधार्न नसकिने भनिए पनि दैनिक जीवनमा सोच्ने र केही गर्नुपर्छ भन्ने चाहिँ बनाउन जरुरी छ।

असार १५ को दही चिउराले हाम्रो नेपालीपन, संस्कृति र हाम्रो प्राकृतिक आहार र बानीलाई वर्षको एकपटक भए पनि स्मरण गराइदिन्छ। हाम्रा परम्परागत संस्कृति, पर्व र खानपान हेर्ने हो भने धेरैजसो वैज्ञानिक र स्वास्थ्यगत हिसाबले पनि उपयुक्त छन्। असार १५ मा खेतमा रोपाइँमा व्यस्त हुने, खेती प्रणालीमा मस्त हुने र यसलाई एउटा उत्सवको रूपमा मनाउने तथा रोपाहार र बाउसे अनि सबै खेतालाको बिचमा हिलो खेल्ने परम्परा रहेको छ।

हामी जति नै आधुनिक र सभ्य भए पनि कृषि उत्पादन नहुने हो भने हाम्रो जीवन के हुन्छ? त्यसको महत्त्व यो असार १५ ले झल्काउँछ। त्यससँगै खानपानको रुपमा जोडिएर आएको छ दहीचिउरा।  गर्मी, वर्षात्, मौसमी भाइरल र  रोगब्याधिले अधिक सताउने मौसम अनि हरेक हिसाबले मौसममा आउने अनुकुलता र प्रतिकुलताका आधारमा पनि यो मौसममा हाम्रो रैथाने खानेकुरा दहीचिउरा खानु स्वास्थ्यको हिसाबले धेरै उपयुक्त हुनुपर्छ।

त्यसैले असार १५ लाई दही–चिउरा खाएर मनाउने प्रचलन बसेको हुनुपर्छ। अहिले बजारमा पाइने धेरै प्रकारका ‘फास्ट फुड’मध्ये हाम्रो दही चिउरा सजिलो, स्वस्थ र रैथाने फास्ट फुड पनि हो।  बजारमा आउने चाउचाउ लगायतका मैदा र बेकरीका प्रकार भन्दा कैयौँ गुणा पोसिलो र स्वादिष्ट अनि पाचनको हिसाबमा पनि उत्कृष्ट छ, दहीचिउरा।

तर आजकल हामीहरू दहीचिउरा खानु र पाहुनालाई खुवाउनुभन्दा आयातीत अनि रासायनिक पदार्थ प्रयोग गरेर धेरै लामो समयसम्म टिक्ने फास्ट फुडको प्रयोग गर्दा आधुनिक र सभ्य महशुस गर्छौ। गर्व गर्छौँ। स्वास्थ्यको हिसाबले र स्वादको हिसाबले पनि हाम्रा आफ्नै स्थानीय उत्पादन उपयुक्त छन् भन्ने कुरा सिकाउन जरुरी देखिएको छ।

कृषि र प्राकृतिक जीवन

जीवन प्रकृतिको एउटा अभिन्न अंग हो। प्रकृतिसँगै जीवन चल्छ र प्रकृतिमै जीवन समाप्त हुन्छ यहि नै जीवनको चक्र हो। हाम्रो जीवनसँग जोडिन आएका र जीवन जिउन आवश्यक हावा, पानी, जमिन, बोटबिरुवा सबै पञ्चतत्वसँग सम्बन्धित वस्तुसँगै हाम्रो खानपान अर्थात् आहार जोडिएर आउँछ। प्रकृतिमा उत्पन्न अरु जीव जीवाणुको तुलनामा मानिसले आफ्नो विकासक्रमलाई एउटा फैलावट अर्थात् विस्तारको क्रममा लग्दैछ। सारा संसार अहिले आ –आफ्नो तरिकाले फैलिने क्रममा छ र यही फैलावट नै विकासको परिचायक बनेको छ। तर मानिसले त्यो सोच्न  भ्याएको छैन कि उसको विस्तारको तरिकाले उसलाई फाइदा गरेको छ या छैन भनेर।

अझ प्रष्ट भन्नुपर्दा मानवीय विकासको प्रकृतिले हाम्रो स्वाभाविक प्रकृति र वातावरणमा कति अहित गरेको छ भन्ने कुरा मानिसलाई होश पुगेको छैन। मानिसले आफूलाई बाहिरबाट देखिने कुरा मात्र विकास हो भन्ने भ्रम बोकेर बसेको छ। त्यो चाहे आधुनिक खानपान होस या सुविधाभोग या त व्यवहार सबैतिर सिको गर्ने प्रचलन बढेको छ।

आजकल सुनिन्छ– बजारमा आएका सबै चिजको स्वाद लिनुपर्छ, सबै कुराको भोग गर्नुपर्छ। अन्यथा पाखे भइन्छ। पाखे भइने डरले आफ्नो स्वास्थ्य र सम्पत्ति सकाउने जमातको पनि कमी छैन आजकल। मानिसले आफ्नो सारा चेतना बहिर्मुखी विकासमा लगाएको छ।

सबै कुरामा विज्ञता र जानकार राख्ने आजको सभ्य मानिसले आफ्नै खानपानमा ध्यान नदिँदा मूर्खता भएन र ? भौतिक संसारमा यहि बहिर्मुखी विकास नै विकासको परिचय हो यसलाई नकार्न पनि जरूरी छैन।

जीवन र प्रकृति अनि हाम्रो वरिपरिको वातावरणलाई नियालेर त्यसको केन्द्र खोज्ने हो भने हाम्रो विकासको गति या शक्तिको केन्द्र पनि त्यहि भेट्न सकिन्छ अर्थात् बाहिरी परिधिमा मात्र हाम्रो फैलावट र हाम्रो विकास केन्द्रित रह्यो भने वास्तविक केन्द्रबाट हामी टाढा पुग्न सक्नेमा कुनै शंका नै छैन। यी सबै कुराको बोध हुनलाई अवश्यमेव हाम्रो खानपानमा हामीले विचार पुर्‍याउनु पर्ने हुन्छ।

हाम्रो खानाले हाम्रो रगत बन्छ। त्यही रगत सञ्चालनद्वारा हाम्रो शरीर चल्छ र हामी हाम्रो कर्मयोगमा कुशलतापूर्वक आफ्नो भूमिका निभाउन सक्छौँ।

हामी जस्तो खान्छौँ त्यस्तै प्रकारले हाम्रो शरीरले प्रतिक्रिया जनाउँछ र त्यही प्रतिक्रिया अनुरूप हाम्रो विचार उत्पन्न हुन्छ। त्यसैले होला हाम्रा सन्तहरूले सात्त्विक भोजन रोजेर मन, विचार र शरीरलाई आफ्नो वशमा राख्न सफल भएका। मानिस स्वभावैले शान्त प्राणी हो। उसको खानपान, व्यवहार सबै शान्त र मधुर हुनुपर्छ। 

मानिसले नै  गीत गाउँछ,संगीतमा रमाउँछ, कविता लेख्छ, ध्यान गर्दछ र आनन्दको महासागरमा डुब्ने कला जानेको छ। यि प्रकृतिका रुख , विरुवा, यीनीहरुको आफ्नो भाषा,आफ्नो संगीत,आफ्नो स्वभाव जसले आफूलाई समेत आनन्द दिइरहेका छन् भन्ने कुराको बोध मानिसले  गर्न सक्छ।

प्रकृतिको  सुन्दरता हेरेर पनि हामी थाहा पाउन सक्दछौं शान्त स्वभावले अरुलाई पनि आनन्द बाँड्न सकिन्छ भनेर। मानिसलाई प्रेम पूर्ण, करुणा वान, शान्त, सुन्दर, सरल र सहज  बनाउनमा उसको खानपानले धेरै ठूलो भूमिका खेलेको हुन्छ।

हाम्रा हरेक संस्कृती र पर्वले कुनै न कुनै सन्देश दिएकै हुन्छन् भने असार १५ र दही –चिउराको परम्पराले हाम्रो यिनै प्राकृतिक गुण, प्राकृतिक खाना र प्रकृतिसँग नजिक हुँदै आफ्नो स्वभावमा जिउने कला सिकाउँदै आफूप्रतिको जागरणमा लाग्ने प्रेरणा प्रदान गर्न खोजेको हुनुपर्छ। 

गाउँघरतिर हेर्दा अहिले कृषिकर्म महिलाको भरमा चलेको छ। कतिपय जमिन बाँझो छ। पहाडी जिल्लाका किसान गाउँ छोडेर शहर पसेका छन्। शहरमा विकसित हुँदै विदेश छिरेका छन्। त्यता पहुँच नहुने युवा कालापहाड, पिथौरागढ, कुमाउ, गढवाल र दिल्लीमा चौकीदार बनेर जीवन गुजार्न बाध्य छन्।

कृषि र बिचौलिया

खेतमा किसानको उत्पादन खेर गएको, बजार र मूल्य नपाउँदा बजारमा उपभोग्य सामग्रीको भाउ बढेर आकाश छुन लागेका समाचारले कृषिको व्यवसायिकता र किसानको परिश्रमलाई उपेक्षा गर्दै बिचौलिया हाबी भएको यथार्थ नकार्न सकिन्न।

अर्कोतिर, मुलुकको कृषि उत्पादन निरन्तर ओरालो लाग्दै किसान पलायन हुँदै गएका तथ्य पनि महसुस गर्न सकिन्छ। नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षित गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुको कारण हो।

गाउँघरतिर हेर्दा अहिले कृषिकर्म महिलाको भरमा चलेको छ। कतिपय जमिन बाँझो छ। पहाडी जिल्लाका किसान गाउँ छोडेर शहर पसेका छन्। शहरमा विकसित हुँदै विदेश छिरेका छन्। त्यता पहुँच नहुने युवा कालापहाड, पिथौरागढ, कुमाउ, गढवाल र दिल्लीमा चौकीदार बनेर जीवन गुजार्न बाध्य छन्।

एकातिर आफ्नो जनशक्ति पलायन, अर्कोतिर खेतबारी बाँझो, यसको बारेमा विचार नगरी कृषिमा रूपान्तरण होला? हाम्रा युवाको परिश्रम र ऊर्जा आफ्नै भूमिमा लगाएर, आफ्नै परिवारसँग जीवन बाँचेर कृषि उत्पादन वृद्धि, रोजगारी वृद्धि र आम्दानीको जोहो गरिदिन सके कृषिबाट समृद्धि भन्ने समाचार बन्ने थिएनन् होला त?

किसानको उत्थान, किसानलाई ऋण, कृषिमा आधुनिकीकरण जतिपनि मुद्दा उठ्ने गर्छन् अब तिनले व्यावहारिकता पाउन ढिला भैसकेको छ। कृषिको उत्थानसँगै वातावरण शुद्धता, जीवनमा रचनात्मकता, सोचाइमा सकारात्मकता र भकारीमा अन्न आफैँ आउँछ।

असार १५ मा दही चिउरा खाएर उत्सव मनाउँदै गर्दा सोचौँ, हामी कता जाँदैछौँ? के खाँदैछौँ? जीवनशैली कसरी विकास हुँदैछ? हाम्रो जीवनको आधार कृषिमा सरकार र निजी क्षेत्र लगायत व्यक्तिगत रूपमा हाम्रो जमिन, करेसाबारी र कौसी खेती नै किन नहोस् यिनको कसरी अस्तित्व जोगाएका छौँ ? 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.