|

काठमाडौं : वैदेशिक रोजगारीका लागि इजरायल रोजगारीमा जान अन्तिम श्रम सम्झौता भएका कामदार रोजगारीमा जान पाएका छैनन्। नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको श्रम विवादका कारण नेपाली कामदारका लागि भिसा जारी गर्न नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलको पिवाले १ हजार १७५ जना छनोट गरेको थियो। तीमध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो। वैदेशिक रोजगार विभाग इजरायल शाखाका अनुसार २९७ इजरायल पुगेका छन्। नामावली प्रकाशित भएका ८७८ जनाको रोजगार सम्झौता भएका श्रमिकको इजरायल रोजगारी भने अनिश्चित बनेको छ। 

नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्ने गरी सम्झौता भएर एक चरणमा कामदार पठाइसकेको विभागका इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए। 

इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको श्रम विवादका कारण छनौट भई रोकिएका कामदार इजरायल प्रस्थान हुँदा नेपाली सहयोगी कामदारको भिसा जारी हुन नसकेको विभागलाई जानकारी आएको छ। शाखा प्रमुख सुनुवारले भने, ‘नेपाली कामदार पठाउने विषयमा छलफल भइरहेको छ। आज अर्थात् बुधबार इजरायल सरकार परराष्ट्र मन्त्रालयसँग छलफल  हुनेछ।’ जुममार्फत हुने छलफलले केही निष्कर्ष निकाल्ने उनको भनाइ छ। 

पहिलाको श्रम सम्झैताका आधारमा वैकल्पिक उपायमार्फत भए पनि कामदार पठानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको विभागले जनाएको छ। विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन ब्यूरोसँग रोजगार सम्झौता भएका कामदार पठाउन पहल भइरहेको विभागका शाखा प्रमुख सुनुवारको भनाइ छ।

यसअघि पनि रोकिएको थियो इजरायल रोजगारी 

सरकारले नेपाली कामदारलाई सन् २०१५ देखि इजरायल रोजगारीमा पठाउन शुरु गर्‍यो। करिब ३ वर्ष कामदार लिएको इजरायलले आफ्नै प्राविधिक कारण देखाउँदै सन् २०१८ मा प्राविधिक कारण देखाउँदै नेपाली कामदारका लागि रोक लगाएको थियो। 

त्यति वेला इजरायल जानका लागि विभागले पहिलो चरणमा गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए। त्यसबाट अन्तिम भाषा परीक्षामा १ सयजना सहभागीमध्ये ५९ जना मात्रै छनोट भएर रोजगारीका लागि इजरायल पुगेको विभागको तथ्यांकले देखाउको छ।

दोस्रो वर्षमा इजरायल रोजगारीका लागि १ हजारले आवेदन दिएका थिए। तीमध्ये ४७ जना इजरायल रोजगारीमा गएको विभागीय प्रमुख सुनुवारले जानकारी दिए। त्यसयता गत असोज अर्थात् करिब ४ वर्षपछि तत्कालीन नेपाली राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौतामा हस्ताक्षर गरी  प्रक्रिया अगाडि बढाइएको थियो।   

नेपाल-इजरायलबीच भएको सोही सम्झौता अनुसार गत मंसिरको पहिलो साता भाषा परीक्षा सञ्चालन गरी नेपालमा श्रमिक छनौट गरियो। जसबाट १ हजार १७५ जना श्रमिक छनोटमा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.