धनगढी डुबानमा, विपद् व्यवस्थापनका लागि कार्यदल

|

धनगढी : कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा आज (बुधबार) बिहान ३ घण्टा भीषण वर्षा भएको छ। वर्षाका कारण पथरैया, काँढा, कान्द्रा, गोदावरी, मोहना, खुटियालगायत साना तथा ठूला नदीमा बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको र बढिरहेको हुँदा नदी तटीय क्षेत्र, होचा र डुबान भइरहने क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज सुदूरपश्चिमका विभिन्न स्थानमा वर्षा भइरहेको छ। धनगढीमा आज बिहानैदेखि मेघ गर्जनसहित वर्षा भइरहेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ। देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

वर्षाले धनगढी डुबानमा

हरेक वर्षायाममा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ। बुधबार पनि धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। आज बिहानै परेको वर्षाले धनगढी उपमहानगरपालिका जलमग्न भएको छ।

पछिल्ला वर्ष खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। ठूलो पानी पर्दा हुने डुबानका कारण सानो पानीमा पनि धनगढी डुब्नुको कारण चाँही खोलानाला अतिक्रमण नै रहेको धेरैको तर्क छ। पछिल्लो समय उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाइरहेको छ। डुबानका कारण आवतजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन्।

वर्षाकै कारण धनगढी उपमहागरपालिका–२ रामजानकी टोलका ७१ वर्षीया देवी ओझाको कच्ची घर भत्किएको छ। सुतिरहेको अवस्थामा घर भत्किएपछि ओझाको टाउको र हातमा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

विपद् व्यवस्थापनका लागि कार्यदल गठन

सुदूरपश्चिम प्रदेश सरकारले वर्षामा विपद् व्यवस्थापन तथा प्रकोप न्यूनीकरण गर्न प्रत्येक जिल्लामा ५ सदस्यीय कार्यदल गठन गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले मनसुनी पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ बनाएर सबै मन्त्रालय, प्रदेशस्थित सबै सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समितिलाई विपद् पूर्वतयारी गरी धनजनको क्षति हुन नदिनसमेत निर्देशन दिएको सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव एवं विपद व्यवस्थापन परिषदका सदस्यसचिव रामेश्वर दंगालले जानकारी दिए।

प्रकोपको बेला सवारी आवागमन जारी राख्न आवश्यक पर्ने जनशक्ति, हेभी इक्विपमेन्ट, ढुङ्गा, रबर बोट एवं अन्य व्यवस्थापकीय काम समन्वयात्मक र प्रभावकारी बनाउने निर्णय गरेको उनले बताए।

यसका लागि तीनवटै सुरक्षा निकायलाई तत्काल १०/१० लाख रूपैयाँ र नौवटै जिल्ला विपद् व्यवस्थापन समितिलाई ५/५ लाखका हिसाबले रकम उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश प्रमुख सचिव दंगालका अनुसार बैठकले विपद्पीडितलाई प्रदेश विपद् व्यवस्थापन तथा राहत वितरण निर्देशिका २०७६ बमोजिम राहत रकम तत्काल वितरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

उक्त निर्णयअनुसार प्रदेश सरकारबाट प्रदान गरिने राहत वितरणमा प्रत्येक जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले तोकेको प्रतिनिधि वा प्रदेशस्तर कार्यालयको प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, विपद् घटेको स्थानीय तहको विपद् सम्पर्क व्यक्ति, नेपाल प्रहरी, नेपाल रेडक्रस वा विपदसम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रतिनिधि सम्मिलित पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.