काठमाडौं : देशका विभिन्न ठाउँमा भएका हत्याका घटनाले समाजमा आपराधिक मानसिकता बढेको देखिएको छ। आपराधिक मानसिकताकै कारण यस्ता जघन्य अपराध कम गराउन सुरक्षा निकायलाई पनि चुनौती देखिएको छ।
नचिनेका भन्दा पनि नातागोता र आफन्तबाटै हत्याका घटना भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।
आफन्त र नातेदारले गएका केही महिनामा नै गरेका केही यस्ता जघन्य कर्तव्य ज्यानका घटना हेरौँ।
चितवनको माडी नगरपालिका–६ स्याउलीबासमा गत सोमबार ३७ वर्षीय अर्जुन तामाङले आमा ५५ वर्षीया मायादेवीलाई खुर्पा प्रहार गरी हत्या गरे।
गत असार १० गते शुक्रबार अर्घाखाँची मालारानी गाउँपालिका–२ डाँडाकटेरीका एक दम्पती दिउँसो साढे २ बजे घाँस दाउराका लागि घरनजिकको जंगल गए। जंगल पुगेको केही बेरमै २७ वर्षीय कमल भुसाल ‘श्रीमतीको हत्या गरेँ’ भन्दै प्रहरी कार्यालयमा पुगे। लगत्तै उनलाई नियन्त्रणमा लिएर घटनास्थलमा पुग्दा उनकी पत्नी २७ वर्षीया सरु भट्टराईको शव जंगलको खोल्सीमा स्याउलाले छोपेको अवस्थामा भेटिएको अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
गत असार २ गते बिहान नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित चन्द्रबहादुर भनिने वीरबहादुर तामाङको घरमा ककनी–८ का ५६ वर्षीय एकबहादुर तामाङ मृत भेटिए। गत १० वर्षदेखि माइत बस्दै आएकी ज्ञानमायालाई घर फर्काउन ससुराली पुगेका एकबहादुर आफैँ घर फर्किन पाएनन्। अघिल्लै दिन फोन गरेर पत्नी लिन असार १ गते ससुराली पुगेका एकबहादुरको आफ्नै पत्नी, छोरा र ससुराको हातबाट जीवन समाप्त भयो।
हत्यामा संलग्न मृतककी ३५ वर्षीया पत्नी ज्ञानमाया तामाङ, उनका १४ वर्षीय छोरा, ६७ वर्षीय ससुरा वीरबहादुर र वीरबहादुरका नजिकका आफन्त विदुर–१२ बस्ने ३४ वर्षीय दुखिराम तामाङ पक्राउ परिसकेका छन्। उनीहरूले प्लाष्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेका नुवाकोटका प्रहरी निरीक्षक दिलीपकुमार हुमागाईले जानकारी दिए।
गत असार ७ मा सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको शव अगर्वा चोकबाट सलेमपुर नहरतर्फ जाने सडकनजिक कुलोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला पर्यो। अमेरन्द्रको हत्या आरोपमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँका रूपेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत जेठ २८ गते पर्सा बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोलका ४० वर्षका राजेश रामको शरीर जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्साभित्र घोप्टो परेको अवस्थामा भेटियो। उनको शव घाँटीमा गम्छा कसिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पर्साका डिएसपी ओमप्रकाश खनालका अनुसार राजेशको हत्या उनकै भिनाजु हिरामन महरा र महराका भाइ रामबालकसहित परिवारका ५ जना मिलेर गरेका हुन्। घटनामा संलग्न मृतकका भिनाजु ४५ वर्षका हिरामन, उनका भाइ ३६ वर्षका रामबालक, ४० वर्षीया वसन्तीदेवी, ३५ वर्षकी सुनितादेवी र २२ वर्षीया रिंकुदेवी प्रहरी हिरासतमा छन्।
गएको जेठ १२ गते बिहीबार बिहान उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले उनलाई आफ्नै हजुरआमा ७० वर्षीय मनमाया दनुवारको हत्या अभियोमा नियन्त्रणमा लिएको हो। जग्गा अंशबण्डाको विषयमा विवाद हुँदा आवेगमा आइ रोहितले हजुरआमा मनमायालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मोरङको जहदा गाउँपालिका–२ का ३५ वर्षीया गीतादेवी राजभरको शव वैशाख ३० गते शुक्रबार आफ्नै घरमा भेटियो। उनको हत्या आरोपमा उनकै पति ४३ वर्षका दिनेशकुमार राजभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले घरायसी विवादमा राति काठ र फलामको रड प्रहार गरी पत्नीको हत्या गरेका हुन्।
गत वैशाख २६ गते सुनसरीको इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोकमा बस्ने ७७ वर्षीया तुलसा खड्का स्थानीय चुनावमा भोट खसाल्न आफ्नै घर खोटाङको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानी खुटाडढुवाका लागि हिँडिन्। तर तुलसा घर नपुग्दै बाटैमा (खोटाङको बराहपोखरी गाउँपालिका-५ पानीटारस्थित दुधकोशी नदीको बगरमा) उनको हत्या भयो। करिब डेढ महिनाको अनुसन्धानपछि प्रहरीले तुलसाको हत्या आरोपमा उनकै नाति २९ वर्षीय हरि भनिने निरबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ।
यीसँगै अन्य केही घटनामा पनि आफन्त जोडिएका छन्। पछिल्लो समय हाम्रो समाजमा सामान्य विवादमा पनि जघन्य अपराध बढ्दै गएको छ। यस्ता घटनामा पतिले पत्नी, पत्नीले पति, बुवाआमाले छोराछोरी, छोराछोरी/बुहारीले आमाबुवा/सासुससुराको, नातिनातिनीले हजुरआमाको ज्यान लिएका छन्। सौतेनी आमाबाबु, मामा, काकाकाकी, दाजु-बहिनी, देवर-भाउजू, साली-भिनाजु, सासुससुरालगायत सम्बन्धमै घटना भएका छन्।
हत्यामा आफन्त नै किन संलग्न हुन्छन्?
प्रायः आफन्त जोडिएका घटनामा अंशवण्डा, यौन, पारिवारिक कलह, गरिबी, मदिरासेवन, आर्थिक लेनदेन, तत्कालको आवेश, वैमनस्यतालगायत अनेक कारण हुने गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केसीले जानकारी दिए।
उनका अनुसार केही घटनामा मानसिक रोगग्रस्त व्यक्तिको पनि संलग्नता देखिएको छ। समाजका मूल्य मान्यता फेरिँदै गएको तथा विचलन बढ्दै जाँदा परिवार र आफन्तकै हत्याका घटनाहरू बढेका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार गएका ५ वर्षमा ज्यानसम्बन्धी कसुरका ३५ हजार ९०३ मुद्दा दर्ता भएका छन्। ती मुद्दामध्ये ३ हजार ७५० वटा हत्याका घटना छन्। प्रहरीमा दर्ता भएका ज्यानसम्बन्धी घटनामा खुनडाँका, कर्तव्य ज्यान, विष खुवाएर हत्या, गर्भपतन र आत्महत्या गर्न दुरुत्साहन जोडिएका छन्। तीमध्ये पनि झण्डै ८५ प्रतिशत (३ हजार १२३ मुद्दा) कर्तव्य ज्यानका मात्रै छन्।
कार्यालयका अनुसार आव ०७४/७५ मा ज्यानसम्बन्धी ६ हजार ४०५ कसुरमध्ये ६३८ हत्या रहेका छन्। ०७५/७६मा ज्यानसम्बन्धी कसुरमा ६ हजार ९ सय ५५, आव ०७६/७७ मा ७ हजार १ सय १४, आव ०७७/७८मा ८ हजार ४२ र चालु आव ०७८/७९मा ७ हजार ३८७ वटा मुद्दा दर्ता भएका छन्।
यही अवधिमा मृत्युका कारण पत्ता नलागेका ६ हजार ६१४ फुटकर ज्यान मुद्दाका घटना छन्। त्यसैगरी हत्या प्रयासका घटना अर्थात् ज्यान मार्ने उद्योगका ४ हजार ३४३ मुद्दा प्रहरी केन्द्रीय कार्यालयमा दर्ता भएका छन्।
ज्यानसम्बन्धी घटनाको अनुसन्धान गर्दा पनि अधिकांशको अन्तिम निचोड हत्यामै जोडिएको देखिने प्रहरीले जनाएको छ।
आफ्नै परिवारका सदस्य मार्ने अवस्थामा यसरी पुग्छ मान्छे
आपराधिक घटना नियन्त्रण गर्ने सरकारको योजना कागजमै सीमित भइरहेको छ। नेपाली जनता खुशी हुने कार्यक्रम मन्त्रीले मौखिक आश्वासनमा मात्र आइरहेको छ। खुशीका लागि रमाइलो गर्नेहरूबीच आपसमा हुने मनमुटावका कारण आपराधिक घटना भइरहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने मनोविद् बासु श्रेष्ठले बताए।
‘सबै मानिसमा आफ्नो मनको जिद्दीपन (इगो) हुन्छ। हरेक कुरालाई हेर्ने आफ्नै दृष्टिकोण हुन्छ, त्यसले उसलाई कठोर अझ कठोर बनाउँदै पूर्णतः आत्मकेन्द्रित हुँदै जाँदा यस्तो परिस्थित आउँछ‚’ मनोविद् आचार्य भन्छन्, ‘जति वेला ऊ आवेगमा आउँछ र उसले आफ्नो आवेग नियन्त्रण गर्न सक्दैन अनि जघन्य अपराध गर्न पुग्छ।’
उनका अनुसार यसरी कुनै मानिसले आफ्नो आवेग नियन्त्रण गर्न नसकेपछि उसको उपाय नै मार्ने‚ हत्या गर्नेतर्फ प्रेरित हुने गर्छ। उनका अनुसार यस्तो अवस्थामा मनोविज्ञानका प्रवृत्तिमध्ये मृत्यु मूल प्रवृत्ति मानिसमा हाबी हुन जान्छ। यसको फलस्वरुप थाहै नपाइकन त्यस्तो मानिस हत्या गर्न उन्मुख हुन्छ र आफन्तलाई पनि मार्न सक्छ।
वरिपरिको परिस्थितिका कारण पनि आपराधिक गतिविधितर्फ मानिसहरू प्रेरित हुने मनोविद् आचार्यले बताए। धेरैजसो घटनामा विशेष परिस्थितिमा आपराधिक मानिसको दृष्टिकोण/विचार हाबी भएपछि अपराध उन्मुख हुने गरेको उनले बताए। व्यक्तिको मानसिकता अपराधतर्फ उन्मुख नहुन पारिवारिक भूमिका महत्त्वपूर्ण हुने मनोविद्हरू बताउँछन्।
कैदीबन्दीको दैनिक भत्ता ३३ प्रतिशत वृद्धि
गृहमन्त्री बालकृष्ण खाँणले अपराधका घटना बढेको स्वीकारेका छन्। अपराधीलाई राख्ने कारागारको संख्या बढाउने प्रस्ताव गर्दै गृहमन्त्री खाँणले अपराधका घटना बढेको स्वीकार गरेका हुन्। अपराधका घटना बढिरहँदा सरकारले भने अपराधी राख्ने कारागारको संख्या मात्र होइन उनीहरूले पाउने भत्तासमेत बढाएको छ।
अपराधमा मुछिएकालाई कडा सजाय दिनुपर्नेमा सरकार भने कैदीबन्दीको भत्ता बढाउन लागेको छ। पहिले दैनिक ६० रूपैयाँ भत्ता पाउने कैदीबन्दीले आगामी साउनबाट भने ३३ प्रतिशत वृद्धि भएर दैनिक ८० रूपैयाँ भत्ता पाउने व्यवस्था सरकारले गरेको छ।
कारागारका कैदीबन्दीलाई ससुरालीको मेजमानी दिन थालिएको भन्दै सांसदहरूले श्रम शिविरमा खटाउनुपर्ने माग गरे पनि सरकारले सुविधा बढाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।