|

हेटौंडा : तीनपटक सरकार परिवर्तन भइसकेको बागमती प्रदेशमा पुनः एकपटक सरकार परिवर्तनको खेल सुरु भएको छ। 

एमालेको सरकार ढालेर सरकार गठन गरेको गठबन्धनन दलहरू नै सत्ताको लागि एकअर्काको विरुद्धमा उत्रिएसँगै बागमती प्रदेशको राजनीति नै नयाँ मोडमा पुगेको छ। 

प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसमा अन्तरसंघर्ष चलिरहेको बेलामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गठबन्धन भत्काउन ‘समर्थन’को कार्ड फालेको छ। प्रदेश सरकारको नेतृत्व गर्न मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरेसँगै एमालेले गठबन्धन भत्काउन कार्ड फालेको हो। 

प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउन आफ्नो समर्थनको कार्ड फालेको छ। एमालेले गठबन्धन नेतृत्वको सरकार ढले नयाँ सरकार गठन गर्न जसले सहयोग मागे पनि समर्थन गर्ने बताएको हो। एमालेसँग प्रदेशसभामा ४३ सदस्य छन्। एमालेको समर्थनमा कांग्रेस र समाजववादी दुवैले सहजै सरकार बनाउन सक्छ। त्यसैले एमालेले गठबन्धनमा समस्या आए सरकार बनाउन सहयोग गर्ने बताएको हो। 

एमालेका  मुख्य  सचेतक दीपक निरौलाले प्रदेशमा सत्ताका लागि गठबन्धनमा द्वन्द्व सुरु भएको भन्दै प्रदेशलाई सरकारविहीन अवस्थामा  नपुर्‍याउन आवश्यक परे जुनसुकै दललाई पनि समर्थन गर्ने बताए। तर आफूहरूले नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने उनको भनाइ छ। 

‘प्रदेशको ठुलो दल भएकाले अहिले हामी सत्ताका लागि गठबन्धनमा भएका उतारचढावलाई नजिकबाट नियालिरहेका छौँ।  भोलिका दिनमा उहाँहरू मिलेर जानै नसक्ने अवस्था भयो,काटामार नै गर्न लाग्नुभयो र हारगुहार गर्दै सहयोग माग्नुभयो भने सहयोग गर्छौ’,थाहाखबरसँग उनले भने। निरौलाले गठबन्धनबीच  समझदारी हुन  नसकेको खण्डमा एमालेको  सहयोगविना सरकार बन्न नसक्ने भएकोले प्रदेशलाई सरकारविहीनताको अवस्थामा नराख्न एमालेले सहयोग गर्ने बताए। उनले गठबन्धन भत्काउन नभई चुनावसम्मका लागि कामचलाउ सरकार बनाउन सहयोग माग्न आए एमाललेले सहयोग गर्ने दाबी गरे।

‘ढुंगागिटी बालुवामा  भएको  कर छुटको विषयमा उहाँहरूको  कुरा नमिलेर अहिले यस्तो कुरा बाहिर आएको हो’,  उनले थपे, ‘उहाँहरू भोलि मिल्न सक्नुहुन्छ। मिल्नुहोस् भन्ने कामना पनि छ। तर,मिल्न नसकेको खण्डमा हाम्रो समर्थन रहन्छ।’ 

केन्द्रमा पाँचदलीय  गठबन्धन ढलमल हुँदै चलिरहेको, वाम गठबन्धनको चर्चा चलिरहेको र प्रदेशमा सत्ताको लागि गठबन्धनमा विवाद सुरु भइरहेको अवस्थामा एमालेले फालेको  समर्थनको कार्डले गठबन्धनभित्रको राजनीतिलाई रोमाञ्चक बनाएको छ। एमाले कुनै पनि  हालतमा प्रदेशमा गठबन्धन टुटाउन चाहन्छ। प्रदेशमा गठबन्धन फुटेमा त्यसको असर केन्द्रसम्म पुग्छ। त्यसैले एमालेले गठबन्धन फुटेर कसैले सरकार बनाउन चाहेमा समर्थन गर्ने बताएको हो। 

सत्तारुढ गठबन्धनमा बागमती प्रदेश सरकारको आधाआधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र कांग्रेसको इन्द्रबहादुर बानियाँले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै कांग्रेसले सत्ताको साँचो आफूले पाउनुपर्ने बताइरहेको छ।

गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका समाजवादीका पाण्डे भने सत्ता छोड्न चाहँदैनन्। उनले विगतमा भएको सहमतीलाई बेवास्ता गर्दै आफैले सरकारको नेतृत्वमा निरन्तरता पाउनुपर्ने बताइरहेका छन्। गठबन्धनमा भएको सहमतीलाई अटेर गर्दै पाण्डेले मार्गप्रशस्त नगर्ने देखिएपछि कांग्रेसले माओवादीको सहयोगमा पाण्डेविरुद्ध रणनीतिक दबाब सुरु गरेको छ। बिहीबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै सत्ता परिवर्तनका लागि गठबन्धनभित्र कसरत सुरु भएको छ।

पाण्डेलाई दबाबस्वरूप कांग्रेस र माओवादीले समेत बुधबार नै उनीविरुद्ध हस्ताक्षर संकलन गरिसकेका छन् भने आफ्नो दलबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारीसमेत गरेका छन्। गठबन्धनका एक सांसदका अनुसार बुधबार कांग्रेसको २२ र माओवादीको २३ सांसदको हस्ताक्षर संकलन गरिनुका साथै पाण्डेले सहजै बाटो खुला नगरे सरकारमा रहेका आफ्ना दलका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णयसमेत भएको छ। 

आफूविरुद्व कांग्रेस र माओवादीले हस्ताक्षर संकलनन गरेपछि मुख्यमन्त्री पाण्डे पद जोगाउने पहल गर्न बिहीबार नै काठमाडौं  पुगेका छन्। प्रदेशमा सरकार परिवर्तन हुने कुरा केन्द्रको निर्देशनअनुसारहुने बताएका उनी गठबन्धनमा आफूविरुद्धको गतिविध सुरु भएसँगै शीर्ष नेतासँग छलफल गर्न काठमाडौं पुगेका हुन्। कांग्रेसका बानियाँ र माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल पनि बिहीबार नै काठमाडौं गएका छन्। समाजवादीले सत्ता नछोड्ने र कांग्रेसले जसरी पनि आफूले पाउनुपर्ने दाबी गरिरहँदा गठबन्धनभित्र हलचल भएको छ। 

बागमतीमा बहुमतको सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ। नेकपा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजववादीको १३ र जसपाको एक गरी ५९ सांसदको समर्थनमा पाण्डे  मुख्यमन्त्री बनेका थिए। त्यसबाट कांग्रेसको २२ र माओवादीको २३ सांसदले समर्थन फिर्ता लिए पाण्डे नेतृत्वको सरकार ढल्छ। समाजवादीको समर्थनबिना माओवादी र कांग्रेसले पनि सरकार गठन गर्न सक्दैनन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.