|

बागलुङ : बाढी पहिरोले गाउँदेखि बजार र बजारदेखि गाउँ जाने सडक ठप्प छन्। बागलुङका मुख्य तथा ग्रामीण सडक पहिरोले अवरुद्ध छन्। निरन्तरको वर्षाले  यात्रा गर्न निकै कठिन छ। वर्षाले सबैतिर त्रास बढेका वेला सदरमुकाम बागलुङ बजारमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। 

गत वर्षहरूमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिउँदमै हुने गर्थ्यो। प्रतियोगिताको रौनक पनि निकै हुन्थ्यो। बागलुङ बजारमा जिल्लाभरबाट आएका विद्यार्थी र प्रशिक्षकको भीड लाग्थ्यो तर यो वर्ष बजेट सक्नकै लागि मध्य वर्षातमा प्रतियोगिता हुँदा खासै चहलपहल देखिएन।

जिल्लास्तरीय प्रतियोगितामा १० वटै पालिकाबाट विद्यार्थीहरू सहभागी हुनुपर्ने हो तर मध्य असारमा प्रतियोगिता हुँदा सदरमुकामभन्दा टाढाबाट विद्यार्थीहरू आउन पाएनन्। सहभागी हुन आएका विद्यार्थीहरूले पनि वर्षातमा दुःख पाएको गुनासो गर्छन्।

काठेखोला गाउँपालिकाबाट प्रतियोगितामा सहभागी हुन बागलुङ आएकी प्रकृति कँडेलले वर्षातको समयमा यस्तो कार्यक्रम राख्दा आफूहरूले सास्ती खेप्नुपरेको बताइन्। वर्षाको कारण बाटो हिलाम्मे भएको हुँदा यात्रा निकै कष्टकर भएको उनको भनाइ छ।

‘यो प्रतियोगिता माघफागुनमा आयोजना गरेको भए राम्रो हुन्थ्यो, अहिले यस्तो बर्खाको समयमा गाउँगाउँबाट आउन पनि गाह्रो छ। हाम्रा धेरै साथीहरू बर्खा लागेको छ, बाटो अप्ठ्यारो छ भनेर आएनन्’, कँडेलले भनिन्, ‘हामी पनि आउँदा बाटोमा निकै समस्या भोग्नु पर्‍यो।’

त्यस्तै गलकोटको पाण्डवखानीबाट आएकी आकृति बुढा मगरले टाढाबाट आउँदा निकै समस्या भोग्नुपरेको भन्दै खेल मैदान समेत उपयुक्त नभएको बताइन्। खेल मैदान हिलो हुँदा सडकमै दौड लगायतका प्रतियोगिता गराउँदा दुर्घटना हुने डर भएको उनको भनाइ छ।

‘घरबाट आउँदा पनि निकै समस्या भोग्नुपर्‍यो, यहाँ पनि खेल मैदान गतिलो भएन, मैदानमा सबै घाँस उम्रिएको छ, सडकमा दगुराउँछन्, त्यसले गर्दा दुर्घटना हुने डर भयो’, उनले भनिन्, ‘खासमा यो समय प्रतियोगिता गर्ने सही समय होइन।’

विद्यार्थीहरू आफ्नो ज्यान धरापमा पारेर प्रतियोगितामा सहभागी हुन आएका छन्। वर्षाले बाङ्गेचौर खेलमैदान पनि हिलाम्मे हुँदा विद्यार्थीलाई खुला सडकमा खेल्न लगाइएको छ। दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने सडकमा प्रतियोगिता राख्दा दुर्घटनाको जोखिम समेत उस्तै छ। 

प्रतियोगितामा बागलुङ, गलकोट, ढोरपाटन नगरपालिका तथा बडिगाड र काठेखोला गाउँपालिकाबाट मात्रै न्यून विद्यार्थी सहभागी छन्। अन्य पाँच पालिकाका विद्यार्थी भने खेल खेल्नबाट वञ्चित भए। खेलकुद क्षेत्रको विकासभन्दा पनि बजेट सक्नका लागि वर्षातको समयमा प्रतियोगिता राखेको टीकाटिप्पणी भएको छ। बेमौसममा प्रतियोगिता हुँदा प्रतियोगिता व्यवस्थापनमा समेत समस्या भएको छ।

जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले प्रदेशबाट ८ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउने भनेर पत्र आएपछि आफूहरूले सोही अनुसार कार्यक्रम सञ्चालन गरेको बताए। उनले यो समय प्रतियोगिता सञ्चालन गर्न अनुकूल नभए पनि माथिबाट पत्र आएपछि गर्नुपर्ने अवस्था आएको बताए।

जेठ १६ र १७ गते जिल्लामा भएको प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी प्रदेशमा जानेछन्। प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले तीन लाख रुपैयाँ दिनेछ। वर्षाका कारण राम्रो खेल्न सक्ने खेलाडीहरू प्रतियागितामा भाग लिन पाएका छैनन्। यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.