|

दाङ :  धनुषा कमला नगरपालिका– ४ का रामनारायण ठाकुरलाई आम बाथले निकै दुःख दिएको थियो। उनले त्यसको उपचार भारतको हरिद्वारमा गराए पनि राम्रो भएन। एक छिमेकीले तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा  रहेको राप्ती आयुर्वेद चिकित्सालयमा जाने सल्लाह  दिएपछि उनी उपचार गर्न दाङ आएका थिए।

उनले अस्पतालमा करिब साढे २ महिना उपचार गरेपछि आम बाथको समस्या कम हुँदै गएको भन्दै खुशी व्यक्त गरे। उनले अस्पतालबाट राम्रो सेवा सुविधा पाए पनि औषधि भने बाहिर  किन्नुपर्ने बाध्यता रहेको बताए। ‘यहाँ उपचार गर्दा बस्न, खानाको लागि पैसा नलाग्ने रहेछ। डाक्टरहरूको सेवा पनि राम्रो लाग्यो’, उनले भने, ‘तर, अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बाहिर किन्नु पर्ने रहेछ।’ 

तुलसीपुर–८ अश्वाराका टेकबहादुर केसीलाई फिस्टुलाको समस्या छ। उनले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा करिब ६ महिनासम्म र काठमाडौंमा पनि निजी अस्पतालमा उपचार गराउँदा निको भएन। त्यसपछि बिजौरीमा रहेको आयुर्वेद अस्पतालमा २४ दिन भर्ना भएर उपचार गराउँदा अहिले निको हुँदै गएको बताए। ‘ यो रोगले मलाई  धेरै सताएको थियो।  ५\६  महिनासम्म तुलसीपुरमा उपचार गर्दा ठिक भएन',  उनले भने, 'त्यसपछि काठमाडौँमा गएर उपचार गराए पनि ठिक भएन। अन्तमा  बिजौरी आएर गर्दा ठिक भयो।’ 

त्यस्तै घोराही उपमहानगरपालिका १७ का गणपति खनालले पनि आयुर्वेद पद्धतिलाई विश्वास मान्नुपर्ने बताए। उनले पनि आफूलाई पायल्सको समस्या भएको र अन्य अस्पतालमा नगएर आयुर्वेदमा विश्वास भएका कारण उपचार गर्न आएको बताए। उनले अस्पतालमा आएर उपचार गर्दा धेरै राम्रो सेवा पाएको बताए।

उनले अस्पतालमा अप्रेसन गरेका बिरामीहरूलाई पुरानो भवनमा राख्ने भएकाले जोखिम रहेको भन्दै यसतर्फ ध्यान दिन पनि आग्रह गरे।  ‘बिरामीहरू अप्रेसन गरेर बस्ने ठाउँ पुरानो जीर्ण भवनमा छ', उनले  भने, 'अस्पताललाई राम्रो बनाउन राज्यले ध्यान दिनुपर्छ।’

त्यस्तै  अर्घाखाँचीबाट उपचार गर्दै आएका टिकाबहादुर रानाले पनि आफूलाई फिस्टुलाको समस्या रहेको र बाहिर उपचार गर्दा ठिक नभएपछि दाङमा उपचार गर्न आएको बताए। उनले करिब २ महिनादेखि अस्पातलमा बसेर फिस्टुलाको उपचार गरेको बताए। अर्घाखाचीमा आयुर्वेदको शाखा रहेको र त्यहाँबाट नै दाङमा राम्रो उपचार हुन्छ, भन्ने  थाहा पाएपछि यहाँ आएको उनको भनाइ छ। ‘अन्य अस्पताल भए लाखौँ खर्च  हुन्थ्यो होला। दुई महिनादेखि अस्पतालमा बसेर उपचार गर्दै आएको छु। तर, खर्च एकदमै न्यून छ‘, उनले भने, ‘हामी जस्ता गरिबले उपचार गर्ने अस्पताल रहेको यहाँ आएर उपचार गर्दा मात्र थाहा भयो।’ 

अस्पतालका अनुसार दाङ  लगायत अहिले रुकुम, रोल्पा, सल्यान, प्यूठान, अर्घाखाची लगायतका ठाउँबाट बिरामी उपचार गर्ने आउने गरेका छन्। कोरोना महामारीपछि फेरि आयुर्वेदप्रति सर्वसाधारणको विश्वास बढेको अस्पतालका निमित्त प्रमुख डाक्टर सन्तोष ठाकुरले बताए। ‘आयुर्वेद चिकित्सा पद्धति मात्र नभई जीवनशैली पनि हो। हामीले यहाँबाट विशेषज्ञ चिकित्सकबाट मात्र सेवा दिएका छौँ’, उनले भने, ‘अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गर्दा निको भएर गएका छन्। त्यसैले म  सबैलाई एक पटक सेवा लिन आग्रह गर्छु।’

उनका अनुसार नेपालकै शय्यायुक्त आयुर्वेद अस्पताल अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद अस्पताल दोस्रो स्थानमा पर्छ। अस्पतालमा सुविधा सम्पन्न अप्रेसन गर्ने व्यवस्था मिलाइएको र पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उनले बताए। ठाकुरले यस अस्पताललाई अब ५० शय्यायाको अस्पतालमा स्तरउन्नती गर्नु पर्ने  अवस्था आएको बताए। उनले ५० शय्याको बनाउँदा अन्तरंग र बहिरंग विभागको भवन पनि बनाउन आवश्यक रहेको बताए। उनले अस्पतालमा भवन निर्माण भएपछि अझथप सेवा विस्तार गर्न सकिने पनि बताए। उनले अहिले भएको संरचनाबाट सेवा दिन समस्या भइरहेको बताए। 

‘बिरामीको संख्या दिनप्रति दिन बढेको छ। ओपीडी सेवा दिनसमेत समस्या भएको छ’, उनले भने, ‘हाम्रो तर्फबाट गुणस्तरीय सेवा दिन तल्लीन छौँ।’ यसपटक लुम्बिनी प्रदेश सरकारले औषधि निर्माणको लागि ३ करोड बजेट विनियोजन पनि उनले जानकारी दिए। अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकारसँग आग्रह गरेको पनि उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.