|

धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको धनगढीमा आज बैठक सम्पन्न भएको छ। केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन गर्ने छलफल चलिरहेका वेला सरकारको नेतृत्व गरिरहेको माओवादीले संसदीय दलको बैठक गरेको हो।

बैठकले सरकारको नेतृत्व परिवर्तनबारे आइरहेका चर्चा र केन्द्रीय गठबन्धनको चासोबारे सामान्य छलफल मात्र गरेको बैठकमा सहभागी एक सांसदले बताइन्। बैठकमा माओवादीबाट थुप्रै योग्य सांसदहरू मन्त्री बन्न छुटेको विषयमा पनि छलफल भएको उनले बताइन्। यस्तै बैठकमा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटबारे पनि छलफल गरिएको थियो।

बजेटमा भएका त्रुटि संशोधन गरेर संसद् चलाउने वातावरण मिलाउन पहल गर्ने बैठकले निर्णय गरेको ती सांसदले बताइन्। सुदूरपश्चिममा अहिले माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयले अहिले चर्चा पाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरिरहेको छ।

अहिले सुदूरपश्चिम प्रदेशसभामा पनि समाजवादी सबैभन्दा ठूलो दल रहेको छ। यस्तै सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले रुष्टता जनाएका छन्। सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले असार १ गते आगामी आर्थिक वर्ष २०७९।०८० बजेट प्रस्तुत गरेका थिए।

बजेट संसद्‌मा प्रस्तुत भएसँगै यसमथि छलफल अगाडि बढाएर पारित गर्नुपर्ने हुन्छ तर बजेट प्रस्तुत भएको दुई साता बढी बितिसक्दा पनि छलफलको टुंगो लागेको छैन। सरकारले मनपरी ढंगले बजेटमा योजना समावेश गरेको भन्दै मन्त्रीदेखि सत्तारुढ दलका सांसद तथा प्रतिपक्षी सांसद रुष्ट बनेका हुन्। बजेटप्रतिको असन्तुष्टिका कारण प्रदेशसभा बैठक पनि अनिश्चित बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.