|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरु आफ्नै पीरमा रहेका तर एमाले आगामी चुनावको रणनीतिमा जुटेको बताएका छन्।

एमाले बागमती प्रदेश कमिटीद्वारा काठमाडौंमा आयोजित दुई दिने संगठनात्मक व्यवस्थापन र परिचालन बिषयक कार्यशालाको आज उद्घाटन गर्दै ओलीले आगामी निर्वाचनको तयारीका सन्दर्भमा यस्तो बताएका हुन्।

उनले एमालेका नेताकार्यकर्ताहरुलाई गठबन्धनका बिषयमा नसोची आफ्नो आन्तरिक एकता बलियो बनाएर पार्टीकाममा लाग्न निर्देशन दिएका छन्। स्थानीय चुनावमा पार्टीभित्र आन्तरिक एकता कमजोर भएको र अगुवा नेताहरु नै चुनाव हराउन लागिपरेको बताउँदै ओलीले आगामी निर्वाचनमा कसैबाट यस्तो गतिविधि दोहोर्‍याउन नहुने उल्लेख गरे।

नेताहरुलाई प्रशिक्षित गर्दै ओलीले नेताको सादा जीवन र शुद्द आचारण हुनुपर्नेमा जोड दिए। पूँजीवाद र समाजवादको विश्वभरमै द्वन्द रहेकाले एमाले एक्लै लड्नुपर्नेमा जोड दिए। उनले पार्टीपंक्तिलाई एकढिक्का गराउन र आगामी चुनावका लागि आन्तरिक तयारी भैरहेको जानकारी समेत गराए।

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा एमालेका नेताहरु भानुभक्त ढकाल, आनन्द पोखरेल, अरुण नेपाल, पार्वत गुरुङलगायतको उपस्थिति रहेको थियो।

कार्यशालामा प्रदेशका १३ वटै जिल्लाका पार्टी नेता, बागमती प्रदेश अन्तर्गतका केन्द्रीय र प्रदेश तहका नेता, प्रदेशस्तरीय जनवर्गीय संगठनका प्रमुखहरुको सहभागिता रहेको छ।

दुईदिने कार्यशालाले समूहगत छलफलसहित पार्टी निर्माणका सवालमा महत्वपूर्ण तयारी गर्ने र नयाँ ऊर्जाका साथ पार्टी कार्यक्रमहरु अघि बढाउने एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौलाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.