विश्वकप लिग २ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार (आज) ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै छ। साँझ ७:४५ मा किङ सिटीस्थित मेपल लिफ मैदानमा प्रतिस्पर्धा हुनेछ।
यसअघि आफ्नो पहिलो अभ्यासअन्तर्गत भएको एकदिवसीय खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
जितका बाबजुत एकदिवसीयमा खुलेर ब्याटिङ गर्न नसकेको नेपाली टोली आफ्नो ब्याटिङलाई पुनः लयमा ल्याउने प्रयासमा हुनेछ। टी-२० भएकाले स्वभाविक रूपमा ब्याटिङ लाइनअपमा विस्फोटक ब्याटरको आवश्यकता हुनेछ।
एकदिवसीय अभ्यास खेलमा विनोदले अर्धशतक प्रहार गरेकाले टी-२० मा पनि उनको योगदान महत्त्वपूर्ण हुने आँकलन गरिएको छ। तीव्र बलरमा किशोर महतो, करण केसी र सोमपाल कामीले नेपाली पारी समाल्नेछन्। स्पिनमा कप्तान सन्दीप लामिछानेलाई बसिर अहमदले साथ दिनेछन्।
ओन्टारियो कप्तानी नेपालबाट खेलिसकेका पूर्व राष्ट्रिय खेलाडी नरेश बुढाऐरले गर्नेछन्। बुढाऐरले पहिलो अभ्यास खेलमा नेपालविरुद्ध २९ रन प्रहार गरेका थिए। ओपनर रियाजखान पठान र जश शाहले पनि राम्रो शुरुवात दिलाएका थिए। शील पटेल ओन्टारियोका प्रमुख बलर हुन्।
नेपालले क्यानडासँग दुई एकदिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ। नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ।
नेपाललाई आगमी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न र ओडिआई मान्यतालाई कायम राख्न सुखद नतिजा निकाल्नुपर्ने जरुरी छ। नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेलमा बराबरी गर्दै १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
विश्वकप ग्लोबल छनोट खेल्नका लागि शीर्ष तीनमा रहपर्नुपर्ने चुनौती नेपालसामु रहेको छ। सोचेअनुरूप नभए प्लेअफ मार्फत नेपालले थय यात्रा तय गर्नु पर्नेछ। प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सक्ने टोलीले विश्वकप ग्लोबल छनोटमा अवसर पाउनेछ। एकदिवसीय मान्यता बचाउन नेपाललाई अंक तालिकामा शीर्ष पाँचमा पर्नु पर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।