|

काठमाडाैं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।

उनले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले ठूला, साना, मझौला उद्योगीदेखि सर्वसाधारणको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताए। उनले अहिले अर्थतन्त्रमा चुनौती देखिएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको बताए।

अध्यक्ष गोल्छाले ५० लाख शेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधारण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको जनाए। उनले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष अत्यन्तै गहन र जटिलरुपमा भोग्नु परेको पनि बताए।

अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिए। उनले भने, ‘आगामी मौद्रिक नीतिले ठूला उद्योगी व्यवसायीहरु मात्रै नभएर साना र मझौला उद्योगी व्यवसायीहरु र ५० लाख डिम्याट खाता खोलेर बसेका शेयर लगानीकर्ताहरु लगायत सर्वसाधरणको समस्या समाधान हुन्छ कि हुँदैन भनेर एकदमै ठूलो चासोको रुपमा हेरिरहेका छन्।

'उद्योगी व्यवसायी मात्रै नभएर सम्पूर्ण नेपालीले राष्ट्र बैंकमाथि विश्वास गरिएको छ। अहिले जुन अवस्था उद्योगी व्यवसायीहरुले तरलता र तरलतासँग जोडिएर बहुपक्ष प्रभाव अर्थतन्त्रमा परेको छ यस्तो उद्योगी व्यवसायीहरुले जीवनमा पहिला अहिले पनि देखेका र भोगेका थिएनौँ', उनले भने।

'पहिला पनि तरलताका समस्या थिए। तर, यति गहन, जटिल तरलताको समस्या अहिले भोगिरहेका छौँ। यो समस्याले गर्दा बजारमा अहिले ठूलो मन्दीको स्थिति आएको छ। कुनै नयाँ लगानी आउन सकेको छैन भने अहिले राजश्वमा पनि यसको असर देखिन थालिसकेको छ। उद्योगी व्यवसायीहरु असार मसान्तमा आफ्नो ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेका छन्। यो तरलता समस्याको समाधान भएन भने नेपाल एउटा ठूलो मन्दीमा जानेछौँ’, गाेल्छाले थपे।

अध्यक्ष गोल्छाले बजार मूल्य ८ प्रतिशत कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको जिकिर गरे। उनले ५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधारणको ठूलो लगानी शेयर बजारमा डुबेको बताए।

​अध्यक्ष गोल्छाले शेयर लगानीकर्ताको अवस्था असहज भएकाले मौद्रिक नीतिले राहत देला भन्ने आशमा रहेको बताए। उनले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजारले समेत गति लिन नसक्नु अर्थतन्त्रको लागि चुनौतीपूर्ण रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.