|

बागलुङ : वर्षातका कारण बागलुङबाट गाउँगाउँ पुग्ने सडक क्षतविक्षत बनेका छन्। ग्रामीण सडकहरू क्षतविक्षत हुँदै गएपछि यात्रुलाई समस्या भएको छ।

भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण अहिले ती सडक क्षतविक्षत हुँदै गएका छन्। जसका कारण बर्खाको समयमा आउजाउ गर्न र सामान ढुवानी गर्न समस्या भएको छ। बागलुङका करिब ३४ प्रतिशत सडक मात्रै बाह्रैमास चल्ने गर्छन्। 

जिल्लाका कुल सडकमध्ये करिब ६० प्रतिशत सडक ८ महिनामात्र सञ्चालन हुने गर्छन् भने चार महिना बन्द हुने गर्छन्। अन्य सडक ६ महिनाभन्दा धेरै नटिक्ने तथ्याङ्क छ। सडकहरू बिग्रँदै गएपछि आउजाउ गर्न, शहरबाट गाउँमा सरसामान लैजान र गाउँमा उत्पादित वस्तु शहरमा ढुवानी गर्न समस्या भएको छ।

गाउँमा गरिने डोजरे विकास र मनपरी खनिने शाखा सडकका कारण यी सडक हिँड्ने नमिल्ने गरी बिग्रन थालेका छन्। 

पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण अहिले आफूहरूलाई सवारीसाधन चलाउन समस्या परिरहेको चालक टेकबहादुर भण्डारीले जानकारी दिए। ‘गाउँतिर निकै समस्या हुन्छ। पानीका कारण ठाउँठाउँमा सडक बिग्रिएको छ। सडक बिग्रिँदा गाडी बिग्रने समस्या त छँदै छ। यात्रुहरूलाई पनि निकै कष्ट परिरहेको छ’, उनले भने, ‘पुराना योजनालाई बेवास्ता गर्ने र नयाँ योजनालाई मात्र बजेट छुट्याउँदा यो समस्या आएको हो।’

बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकनबिना नै खनिएका छन्। यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन्। वातावरणीय प्रभाव मूल्यांकनबिना नै सडक खन्ने होडबाजीका कारण पहिरोको जोखिमका साथै गाउँ नै कुरूप हुँदै गएका छन्। सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्याको केही समाधान हुने काठेखोला गाउँपालिकाका रिमबहादुर पुनले बताए।

‘अलि फराकिलो बाटो बनाउनुपर्छ, बागलुङ अलि भिरालो ठाउँमा कताकता भूगोल मिलेको छैन’, उनी भन्छन्, ‘शाखा सडकको ठाउँमा एउटै सडक हुने हो भने स–सानो पहिरो जाँदा त्यति धेरै समस्या हुँदैन। धेरै नराम्रा बाटा बनाउनुभन्दा एउटै राम्रो बाटो बनाउनु पर्छ।’

बागलुङका सबै स्थानीय तहमा बर्खाको समयमा सबैको हालत उस्तै हुने गरेको छ। चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङका विभिन्न वडामा हिउँदभरि गाउँ थर्कने गरी स्काभेटर लगाएर खनिएका सडकमा पानी बग्दा पहिरोको जोखिम बढाएका छन्। बर्खा लागेसँगै शहरी क्षेत्रमा ढलको समस्या र ग्रामीण क्षेत्रमा पहिरोको समस्या हुने गरेको छ।

समस्याको दिगो समाधानका लागि सरोकारवाला निकायको पर्याप्त ध्यान समेत पुग्न सकेको छैन। ढल र पहिरोको विषयमा गुनासो बढ्दै गए पनि सरोकारवालाले तयारी जवाफ दिने गरेका छन्। बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा भन्छन्, ‘बजारको मुख्य क्षेत्रमा नालीको समस्या र गाउँमा ग्रामीण पहिरो जाने समस्या हुने गरेको छ।’

यसका लागि कार्यपालिकाले कार्यतालिका बनाएर विभिन्न वडामा योजना बनाएको छ। त्यति मात्र नभई नगरपालिकाले हामीसँग भएका सबै मेसिन सामग्री प्रयोग गर्ने र सोही अनुरूपको जनशक्ति नियमित नाली सफा गर्न र पहिरो पन्छाउनका लागि खटाएका छौँ।’

नयाँ सडक खोल्नका लागि तँछाडमछाड गर्ने सरोकारवाला निकाय मर्मतका लागि भने बेवास्ता गर्दै आएका स्थानीय बासिन्दाको गुनासो छ। समस्याको समाधानका लागि जनताको नजिकको सरकारको रूपमा चिनिएको ‘स्थानीय सरकार’ले पनि ठोस योजना नल्याएको बागलुङवासीको आरोप छ। समस्याको दीर्घकालीन समाधानका लागि तीनै तहका सरकारसहित सम्पूर्ण सरोकारवालाले सोही अनुरूपको योजना ल्याउनुपर्ने उनीहरूले माग छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.