|

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७, ढल्केबरमा प्रदेश स्तरीय ट्रमा सेन्टर निर्माण कार्यको प्रक्रिया सुरु भएकाे छ।

प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गरिएकाे हाे।

मिथिला नगरपालिका वडा नम्बर ७, साविकको ढल्केबर गाविस वडा नं २ ‘क’को कित्ता नं १६९ को चार बिघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरिएकाे छ।

प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका सब इन्जिनियर सुनिल ठाकुरले बताए। माटो परीक्षण कार्य दुई दिन सम्म चल्नेछ।

यसअघिका जनप्रतिनिधिहरुको अनावश्यक विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा नै ट्रमा सेन्टर बनाउन मेयर महतो सक्रिय भएपछि निर्माण कार्यको प्रक्रिया सुरु भएकाे हाे।

गत चैत्र १७ गते आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर तत्कालीन शहरी विकासमन्त्री रामकुमारी झाँक्री जग्गा निरीक्षण गर्न ढल्केबर आएकी थिइन्। तर पनि निर्माण कार्य सुरु हुन सकेको थिएन।

तत्कालीन मन्त्री झाँक्रीसँगै ढल्केबर आएका शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले अहिलेसम्मको अध्ययन अनुसार ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताउँदै आएका थिए।

यद्यपि निर्माण कार्य सुचारु गराउन नसकेपछि मेयर महतो एक साता काठमाडौँमै बसेर निर्माण कार्य प्रक्रिया अघि बढाउने पहलमा थिए। मेयर महतोको दबाब पछि प्रस्तावित जग्गामै ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो।

यसअघि स्थानीयहरुले बुधेश्वर महतो र चन्देश्वर महतोको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर ट्रमा सेन्टर बचाउका लागि सडक तताउँदै आन्दोलन गरेका थिए। ढल्केबरमै ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै उनीहरुले पटकपटक नगरपालिका घेराउ गरी दबाब दिँदै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.