|

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन्।

वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको सङ्ग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ।

आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए।

सङ्ग्रहालय र काउन्सिलभित्र रहेका अनलाइन, रेडियो, प्रिन्ट र छापा माध्यम अनुगमन संयन्त्रबारे अवलोकनपछि बोल्दै उनले सेवा, सुविधा बढेसँगै काउन्सिलको प्रभावकारिता बढ्दै जानुपर्ने सुझाव समेत राखे। काउन्सिललाई उदाहरणीय संस्था बनाई नेपाली प्रेसको अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव उनकाे थियो।

त्यसक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वच्छ, मर्यादित, सन्तुलित र जिम्मेवार पत्रकारिता विकासका लागि नयाँ नयाँ कामको थालनी काउन्सिलबाट भइरहेको जानकारी दिएका थिए।

काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, प्रेस सङ्ग्रहालयबारे जानकारी दिए। उनले मिल्दाजुल्दा नामका अनलाइनलाई सूचीकरण नगर्ने, अनलाइन दर्ता अघि अनिवार्य अभिमुखीकरण कक्षामा बस्नुपर्ने, आचारसंहिता उलङ्घन गर्नेलाई आचारसंहिताको कक्षा दिइने गरेको, आचारसंहितालाई विभिन्न भाषामा अनुवाद गरिएको लगायतका कामहरू भएको जानकारी दिए।

प्रेस काउन्सिल कर्मचारी विनियमावली र प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली तत्काल संशोधन गर्नुपर्ने, प्रेस काउन्सिल ऐन २०४८ मा उल्लेख भएका कतिपय प्रावधान शंसोधनका लागि पेस भएकाले शीघ्र अघि बढाउनुपर्ने, काउन्सिललाई स्रोतसाधन सम्पन्न बनाउनका लागि बस्नेतले सरकारको ध्यानाकर्षण समेत गराएका थिए।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.