तत्काल मर्मत गर्ने मन्त्रीको दाबी

|

धनगढी : कैलालीको धनगढीका आयुश जोशीको शनिबार साँझ साढे ५ बजे पर्स हरायो। रातोपुल क्षेत्रमा पर्ने मल्ल आयल स्टोरनजिकै उनको पर्स हराएको थियो। जोशीको पर्समा केही नगदसहित सवारीचालक अनुमतिपत्र, बैंकहरूका एटिएम कार्डलगायत अन्य कागजपत्रसमेत थिए।

त्यसकारण जोशीले हराएको पर्सको खोजी तत्कालै थाले तर पर्स भने भेटिएन। दोस्रो दिन बिहीबार आफ्नो समस्या लिएर जोशी जिल्ला प्रहरी कार्यालय कैलाली पुगे। र, सिसिटिभी फुटेज हेरिदिन आग्रह गरे। तर बजार क्षेत्रका अधिकांश सिसिटिभी क्यामेरा बिग्रेका कारण उक्त फुटेज हेर्न नसकिएको भनाइ जोशीको छ।

‘सिसिटिभी फुटेज हेर्न पाएको भए पर्स लग्ने मान्छे पत्ता लगाउन सजिलो हुन्थ्यो,’ उनले भने, ‘यो मात्र हैन, दुर्घटना लगायतका आपराधिक घटनाका कुरा पनि छन्। २ महिनासम्म मर्मत नहुनु कमजोरी हो।’

धनगढीको मुख्य बजार क्षेत्रमा १९ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छन्। निजी क्षेत्रलगायत अन्य निकायको सहयोगमा ती क्यामरा जडान गरिएका थिए। तर धनगढीको मुख्य बजारमा १९ वटा क्यामेरा जडान गरिएको भए पनि ४ वटा मात्रै सञ्चालनमा छन्। बाँकी १५ वटा क्यामेरा बिग्रेको लामो समय भएको छ। मर्मतसम्भारमा बेवास्ता गरिएको छ।

केही क्यामेरा वैशाखमा बिग्रेका हुन् भने केही त्योभन्दा अगाडि नै खराब भएका थिए। तर अहिलेसम्म पनि मर्मतसम्भारमा कसैको ध्यान गएको छैन। बजार क्षेत्रका क्यामरा बिग्रेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउद बताउँछन्।

‘राजमार्गलगायत बजार क्षेत्रका सिसिटिभी क्यामेरा बिग्रेका छन्,’ उनले भने, ‘मर्मत गरेर सञ्चालन गर्ने प्रयास गरिरहेका छौं।’ सुदूरपश्चिम प्रदेश सरकारको करोडौं बजेटमा राजमार्ग क्षेत्रमा पनि सिसिटिभी क्यामेरा जडान भएका छन्। चालू आर्थिक वर्षकै बजेटमा उक्त क्यामेरा जडान गरिएको हो।

तर जिल्ला प्रहरी कार्यालय कैलालीले निगरानी गर्ने गरी जडान भएका ती क्यामेरा पनि लामो समयदेखि प्रयोगविहीन छन्। क्यामेरा जडानकै समयमा आएको प्राविधिक समस्या अझै समाधान हुन सकेको छैन। करोडौं खर्च गरेर जडान गरिएका क्यामेरा मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउनतर्फ भने कसैको ध्यान जान सकेको छैन।

यता सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बिग्रेका क्यामेरा तत्काल मर्मत हुने दाबी गरेका छन्।

‘जडान गरिएका क्यामेरा मर्मत गर्न निर्देशन दिइसकेको छु। यसलाई अझै व्यवस्थित गर्ने काम गर्छौं‚’ उनले भने। धनगढीको मुख्य बजारसहित अन्य ठाउँका सिसिटिभी क्यामेरा सञ्चालन नहुँदा अपराध अनुसन्धान गर्न तथा विभिन्न क्रियाकलापको निगरानी गर्न प्रहरीलाई समस्या हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.