|

झापा : अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको पुरुषको शव भारतीय नागरिक ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको रहेको खुलेको छ।

भारत गुजरात राज्य अहमदाबाद, कुबेरनगर निवासी जपडिया नरेशलाई फलामको मार्तोलले हिर्काएर हत्या गरेको आरोपमा झापा प्रहरीले एक महिलासहित ३ जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न एक जना फरार छन्। उनको खोजी भइरहेको छ।

पक्राउ पर्नेहरू अर्जुनधारा नगरपालिका–७ स्थित डाँडागाउँ निवासी ३२ वर्षीया जानुका देवी थापा, सोही ठाउँका ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१० निवासी २५ वर्षीय सुरेश परियार रहेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

जानुका र बृख पति–पत्नी हुन्। आरोपी तीनै जनालाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जपडिया नरेशको हत्या योजनाबद्ध तरिकाले गरिएको बताउँदै एसपी पोखरेलले भने, ‘पाँच लाखको सुपारी लिएर बराह क्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको अनुसन्धानले देखाएको छ।’

जानुकाले सुपारी लिएका परियारको हत्या गर्नुअघि २५ हजार दिएकी थिइन्। पछि फेरि एक लाख ७५ हजार गरी २ लाख दिएकी थिइन्। अर्का व्यक्तिलाई एक लाख दिएको र बाँकी रकम दुई लाख रूपैयाँ तिर्न बाँकी देखिएको एसपी पोखरेलले बताए।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोबाइल र २ वटा खाली बोतल फेला पारेको थियो। उनीहरूविरुद्ध झापा जिल्ला अदालत भद्रपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाएको उनले बताए। 

यस्तो थियो मृतक र जानुकाबीच सम्बन्ध

गुजरात घर भएका मृतक जपडिया नरेशसँग जानुका थापाको चिनजान भारतमै भएको थियो। २०७६ साल मंसिर महिनातिर जानुका कामको सिलसिलामा भारतको दिल्ली गएकी थिइन्। त्यसपछि उनी गुजरात जाँदा त्यहाँ डेढ महिना बस्ने क्रममा मृतक जपडिया नरेशसँग भेटघाट तथा चिनजान भएको थियो। चिनजान यति गहिरो भयो कि जानुका २०७६ सालको फागुन अन्तिम सातातिर नेपाल फर्किँदा जपडिया नरेश पनि सँगै आए।

नरेश जानुकालाई छाड्न भारतको पानीट्यांकी नाकासम्म आएका थिए। २०७६ साल चैतमा नरेशले जानुकाकी छोराछोरीहरूका लागि खेलौना तथा लत्ताकपडा भारतीय गाडीमा नेपाल पठाएका थिए। मृतक नरेश पटक–पटक मोरङको विराटनगर आउने जाने गरेको भन्ने जानुकाले प्रहरीलाई बयान दिएकी छिन्। नरेशले जानुकालाई घर निर्माणका लागि पाँच लाख रूपैयाँ पनि दिएको अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए। 

यसरी मारिए नरेश 

मोरङको विराटनगर नाकाबाट नेपाल आएका नरेशलाई २०७९ वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध भारतीय रूपैयाँ ५९ हजारसहित पक्राउ गरेको थियो।

पक्राउ परेका उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटी रकम बुझाएर तारेखमा छुटेका थिए। २०७९ साल जेठमा नरेश सोही मुद्दाको तारिखका लागि जानुकाको घरमा आएर बसेका थिए। त्यहाँ बस्ने क्रममा नरेशले जानुकाको पतिकै अगाडि उनलाई दुर्व्यवहार गरेका थिए।

दुर्व्यवहार गरेपछि जानुका र उनका पति बृखले उनको हत्या गर्ने योजना बनाउन शुरु गरेको एसपी पोखरेलले बताए। त्यसपछि फेरि नरेश २०७९ असार ७ गते जानुकाको घरमा आएर बसे। त्यही मौका छोपी हत्याको सुपारी लिएका परियारलाई जानुकाले असार ८ गते घरमा बोलाइन्। अर्को व्यक्ति असार ९ गते जानुकाको घर पुगे।

आफ्नो हत्या गर्ने योजना भइरहेको छ भनेर नरेशले सुइँको समेत पाएनन्। असार ९ गते बिहान मुद्दाको तारिखका लागि नरेश इटहरीतर्फ लागे। सोही दिन दिउँसो २ः३० बजे पुनः नरेश जानुकाको घर फर्किएर आए।

हत्याको योजना मुताबिक साँझ परेपश्चात् मृतक नरेश, सुरेश परियार र अर्का एक जनासँगै बसेर मादकपदार्थ सेवन गर्न थाले। राति साढे १० बजेको समयमा भुइँतलाको उत्तरतर्फको कोठाको ढोकामा उभिरहेका नरेशमाथि परियारले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गरे।

नरेश भुईंमा लडेपछि परियारले मृतकको मुख थुनिदिई अर्का व्यक्तिले कोठामा रहेको फलामको मार्तोलले निधारलगायत शरीरका विभिन्न भागमा प्रहार गरे। मार्तोलको प्रहारले उनको घटनास्थलमै मृत्यु भएको एसपी पोखरेलले बताए।

‘त्यसपछि उनीहरूले नरेशको शव लुकाउन र घटना ढाकछोप गर्ने योजना बनाउन शुरु गरे,’ एसपी पोखरेलले भने, ‘शवलाई बोराभित्र प्याक गरी बृखले चलाउने प्रदेश १–०१–०१२ प ८१५० नम्बरको रातो रङको एफ जेड मोटरसाइकलमा हालेर परियार र अर्को व्यक्तिले लगे, उनीहरूले शव हालेको बोरा ह्युम पाइपभित्र फालेर हिँडे।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.