|

संखुवासभा : जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ४ जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ।

जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जना मध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो। गत २०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो।

संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्ति प्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ५ जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार गौतमले जानकारी दिए।

श्रेस्तेदार गौतमका अनुसार हत्यामा संम्लग्न मादी, १ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारावास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ।

हत्यामा संम्लग्न भएका १७ बर्षीय नरेशलाई बाल सुधार गृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो। जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा ४ जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपैयाँ रकम समेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ।

उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन्। जिल्ला प्रहरी संखुवासभाले पनि ४ जनाविरुद्ध आजीवन कारावास सजाय माग दाबी गरेको थियो। गत २०७८ भदौ २१ मा उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

घटनाको विवरण यस्तो थियो

घटना भएपछि इप्रका चैनपुर, जिप्रका संखुवासभा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसीको कमान्डमा सिआइबी, संघीय इकाइ प्रहरी कार्यालय सहितको टोलीले  घटनाको अनुसन्धान गरेर लोक बहादुर कार्कीलाई पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।

लोक बहादुर कार्की पक्राउ परेपछि पुन: थप अनुसन्धानको लागि चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा घटनास्थलमा नै खटिई थप अनुसन्धान गरी बाँकी ५ जनालाई प्रमाणसहित पक्राउ गर्न सफल भएका थिए। पक्राउ पर्ने मध्ये प्रतिवादी लोकबहादुर कार्कीको बुबा रणबहादुर कार्कीलाई सोही घटनामा मारिएकाहरुको किरिया बसिरहेको समयमा पक्राउ गरिएको थियो।

उक्त घटना पश्चात घटनामा प्रयोग गरिएका हतियार र हराएकाे मोबाइल समेत खतिवडाले अनुसन्धान गरी बरामद गरेका थिए। उक्त घटनाको सफल अनुसन्धान गरेका खतिवडालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले १४ जिल्ला मध्ये छनौट गरी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको थियो भने २०७८ सालको प्रहरी दिवसको अवसरमा नगद ५० हजार समेत प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.