|

बागलुङ : मंगलबार बिहान १० बजे निसीखोला गाउँपालिकाका डिलबहादुर क्षेत्री यातायात व्यवस्था कार्यालय बागलुङमा सवारी अनुमति पत्र नवीकरण गर्न पुगे।

कार्यालयका एक कर्मचारीले उनलाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट ल्याउन भने। क्षेत्री स्वास्थ्य परीक्षण गर्न नजिकै रहेको शंकर पोलिक्लिनिकमा गए। उनलाई डाक्टरले स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिनु पर्नेमा क्लिनिकमा काम गर्ने नक्कली डाक्टरले उनलाई रिपोर्ट थमाइदिए।

नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ९ का २० वर्षीय गणेश भण्डारीले उनलाई रिपाेर्ट थमाएपछि क्षेत्रीलाई आफ्नो स्वास्थ्य परीक्षण गरेकोमा शंका लाग्याे।

लगत्तै उनले थाहाकर्मीलाई खबर गरे। जानकारी पाउनासाथ थाहाकर्मी सो पोलिक्लिनिकमा पुग्दा भण्डारीले अन्य सेवाग्राहीलाई समेत धमाधम स्वास्थ्य परीक्षण गरी रिपोर्ट दिँदै थिए।

सो क्लिनिकमा काम गर्ने डाक्टर धादिङ बेँसीका २७ वर्षीय राम अर्याल भने क्लिनिकमा थिएनन्। तर, भण्डारी भने उनकै नामको हस्ताक्षर गरेको कागजमा स्वास्थ्य परीक्षण प्रमाण पत्र सेवाग्राहीलाई धमाधम बेचिरहेका थिए।

सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि यातायात व्यवस्था कार्यालय बागलुङले शंकर पोलिक्लिनिकसँग केही महिना अगाडि सम्झौता गरेको थियो। डाक्टरले काम नगरी नक्कली रिपोर्ट वितरण गरेको जानकारी पाएपछि यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले यस विषयमा उनीहरुसँग सोधपुछ गर्ने बताए।

गैरकानुनी रुपमा नक्कली डाक्टर बनेर स्वास्थ्य परीक्षण गरेको थाहाकर्मीले प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बागलुङको टोली क्लिनिकमा पुगी भण्डारी र अर्याल दुवैलाई नियन्त्रणमा लियो। नियन्त्रणमा लिएका दुई जनालाई मुलुकी अपराध २०७४ को परिच्छेद १९ अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

‘हामीलाई पत्रकारहरुले जानकारी गराएपछि क्लिनिकमा पुग्यौँ, त्यहाँ पुग्दा नक्कली डाक्टरले स्वास्थ्य परीक्षण गरेको रिपोर्ट बाँडिरहेको पाइयो,’ प्रहरी नायब उपरीक्षक रानाले भने, ‘गैरकानुनी रुपमा स्वास्थ्य परीक्षण गर्न र प्रमाण पत्र दिन पाइँदैन, त्यसपछि उहाँहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ।’

पक्राउ परेका डाक्टर राम अर्यालले आफू खाना खान गएको बेला क्लिनिकमा काम गर्ने कर्मचारीले स्वास्थ्य परीक्षण गरी प्रमाण पत्र दिएको बताउँछन्। गैरकानुनी रुपमा स्वास्थ्य परीक्षण गरी रिपोर्ट बाँड्ने गणेश भण्डारीले यो सामान्य भएको बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.