|

बागलुङ : बजारवासीले विश्रामस्थलको रूपमा लिँदै आएको ऐतिहासिक वीरेन्द्र–ऐश्वर्य उद्यान झण्डै एक दशक अलपत्र पर्‍यो। हरियाली तथा व्यवस्थित बनेको सुन्दरपार्कमा वीरेन्द्र–ऐश्वर्यको सालिक थियो।

२०६२।६३ सालको जनआन्दोलनका क्रममा आन्दोलनकारीले वीरेन्द्र–ऐश्वर्यको सालिक तोडफोड गरे। त्यसपछि पार्क विस्तारै कुरूप बन्दै गयो।

पछिल्लो एक वर्ष अघिसम्म पार्कमा जीर्ण रूखमात्रै बाँकी थिए। धेरैले पार्क कुरूप बनेपछि पार्क संरक्षणको जिम्मा पाएको बागलुङ नगरपालिकाको चर्को आलोचना समेत भयो तर पछिल्लो ६ महिनायता वीरेन्द्र–ऐश्वर्य उद्यानले जुनी फेरेको छ। कुरूप बनेको पार्क अहिले हरियालीमा परिणत भएको छ।

बागलुङ बजारभित्र अव्यस्थित वीरेन्द्र–ऐश्वर्य उद्यान पुनर्निर्माणपछि चिरिच्याँट्ट परेको छ। अहिले पार्क निर्माणले अन्तिम रूप लिँदा भने स्थानीय बासिन्दा दंग परेका छन्। पार्क निर्माणले अन्तिम रूप लिएको छ भने दूबो रोपेर हरियाली बनाइएको छ।

अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुङ्गा छाप्ने काम सकिएको छ भने केही रङ्गरोगन र विद्युत् जडान लगायतका काम भने बाँकी रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

‘श्रेष्ठले मैले पार्क पुनर्निर्माणको अनुगमन गरेको छु। केही कमी कमजोरी सच्याउन भनेको छु। एक दुई महिनाभित्रै पार्क सर्वसाधारणलाई खुला गर्ने तयारी छ, पार्क अझै आकर्षक बन्नेछ’, श्रेष्ठले भने, ‘लामो समयदेखि अस्तव्यस्त उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरासहित पुनर्निर्माण गरिएका कारण निकै आकर्षक देखिन थालेको छ।’

नगरपालिकाले झण्डै एक करोडको लागतमा उक्त पार्क पुनर्निर्माण गरेको हो। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यीकरण तथा स्थापना गरिएको थियो।

विसं २०६२।६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र–ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरूप हुँदै आएको थियो। अहिले राजारानीको सालिक भएको स्थानमा पानीको फोहोरा बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.