|

धनकुटा  : धनकुटाको बेंशीफाट क्षेत्र आँप उत्पादनको पकेट क्षेत्र मानिन्छ। बेंशीफाटका बगैँचामा मालदह, कलकत्तिया बम्बईलगायत आँप पाकेर धमाधम बिक्री भइरहेका छन्। जिल्लाका अरुण र तमोर नदीका किनारमा विशेष गरि आँप फल्ने क्षेत्र हुन्।

जिल्लाका मुलघाट, बेलाहाराबेशीं, फमामेटार, साप्तीङटार, सफाइधाप, चानुवा, दमार लगायतका क्षेत्रमा आँप खेती हुने गरेको छ। धनकुटा नगरपालिका–९ की गीता थापालाई यतिबेला आँप टिप्न भ्याइनभ्याइ छ। अबको केही दिनमा बजारमा आँप बिक्री नगरे आँप बिग्रने चिन्ता छ। १५ रोपनी क्षेत्रफलमा आँप खेती गरेकी थापाले बगैँचामा आँप देख्दा राम्रै कमाइ हुने आशामा रहेको बताउँछिन्।

यस्तै, धनकुटा ९ बेलाहाराबेंशीका जमबहादुर सार्कीलाई पनि आँप टिपेर बेच्न भ्याइनभ्याइ छ। उनको बगैँचामा कलकत्ते, दशहरी, बम्बइ, मालदह प्रजातिका आँप फलेका छन्। उनले मालदह आँप १ सय रुपैयाँ र अन्य आँप ४० देखि ५० रुपैयाँ प्रति किलोग्राममा बिक्री गरि गरिरहेको बताउँछन्।

सार्कीका अनुसार रोगका कारणले यसपालि कम मात्रामा आँप फलेको छ। यहाँ उत्पादन भएको आँप साउन १५ सम्म रहने सार्कीले बताए। सार्कीका अनुसार कम मात्रामा आँप फलेको भए पनि गत वर्षको तुलनामा यस वर्ष राम्रो उत्पादन भएको छ।

धनकुटाको मुलघाट बजारमा अहिले नै बजार भरि जताततै पहेँलै आँप देख्न सकिन्छ। अझ बेंशीफाटका प्रत्येक गल्ली र चोकमा थरीथरी जातका आँप बेच्न राखिएको भेट्नु नौलो कुरा भएन। हेर्दै रहर लाग्दा आँप किनौँ र खाऊँ जस्तो लाग्छ।

किसानको बढ्दो आकर्षण

आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने र सुख्खा जमिनमा अन्य बाली नफस्टाउने भएकाले अधिकांश कृषक व्यावसायिक आँप खेतीतर्फ आकर्षित हुने गरेको कृषि प्राविधिकहरूको भनाइ छ।

झन्झट कम र उत्पादन बिक्री गर्न सहज हुने भएकाले पनि कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। हेरचाह र फल बिक्रीका लागि बजारसम्म पु¥याउन झन्झट व्यहोर्नु भन्दा बोट नै बिक्री गर्न सजिलो हुने भएकाले किसानहरुले आँप फुल्न सुरु गरे लगत्तै व्यापारीहरूलाई बगैँचा ठेक्कामा दिने गरेका छन्।

गत वर्ष आँप उत्पादनमा कमी हुँदा बजार भाउ महँगिएको थियो। यस वर्ष आँप उत्पादन बढ्ने भएपछि मूल्यमा गिरावट हुन सक्ने किसानहरूको दाबी छ। कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांकअनुसार धनकुटामा गत वर्ष कृषकहरूले ५३ दशमलव ५ हेक्टर क्षेत्रफलमा हेक्टरमा आँप खेती गरेका थिए। त्यसबाट १७४ दशमलव ५ मेट्रिकटन विभिन्न प्रजातिका आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।

कसरी नेपालमा भित्रियो आँप?

आँपले शरीरमा तागत दिन्छ, प्यास मेटाउँछ, भोक पनि मेटाउँछ। २५–३० लाख वर्षअघि सर्वप्रथम भारतको उत्तरपूर्व राज्य, बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तानमा गरिँदै आएको छ।

फलको राजा भनिने आँपको वर्णन हिन्दु धर्मग्रन्थमा पनि गरिएको छ। हाम्रो शरीरमा रोग प्रतिरोधक प्रणालीलाई राम्रो अवस्थामा राख्न र राम्रो स्वास्थ्यका लागि आवश्यक मानिन्छ। आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन सी, भिटामिन ए तथा २५ विभिन्न खाले क्यारोटेन्वाइड्सले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वास्थ्य राख्ने चिकित्सकहरु बताउँछन्। 

आँपले एक वर्ष बिराएर फल्नु उसको विशेषता हो। गत वर्ष धेरै कम फलेका आँप यस वर्ष राम्रै फलेको किसानहरु बताउँछन्। किसानहरु फलसँगै दाउरा तथा काठसमेत प्रयोग गर्ने हुँदा धनकुटाका बगैँचामा माल्दह, कलकत्तिया, बम्बै जातिका आँप अधिक लगाउन मन पराउँछन्। यी जातिका रुखहरू ठूला हुने हुँदा अधिक उत्पादन हुन्छ।

सामान्यतया यी आँपमा फल लाग्न ८ महिना लाग्छ। पुसदेखि सुरु हुने आँप फल्ने प्रक्रिया असार–साउनमा पुगेर अन्त्य हुन्छ। तर, आधुनिक जातका आँपले ६ महिनाभन्दा छोटो अवधिमै सम्पूर्ण प्रक्रिया पूरा गर्ने कृषि ज्ञान केन्द्र धनकुटाकी प्रमुख पूर्ण माया गुरुङले बताइन्। 

धनकुटा जिल्लामा उत्पादित आँप स्वादिला हुने भएकाले तराईका जिल्लामा बढी निर्यात हुने गरेको छ। सुनसरीको इटहरीबाट धनकुटाको मुलघाट आएका मेहरमान विश्वकर्माले तराईको भन्दा धनकुटाको आँप स्वादिलो भएको बताए। उनले तराईको आँप काँचै टिपेर पकाउने गरेको र धनकुटाको आँप बोटमै पाक्ने भएका कारणले पनि स्वादिलो हुने गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.