|

बागलुङ : जिल्लाका धेरै ग्रामीण क्षेत्रमा अहिले पनि विद्यालयको सहज पहुँच छैन। दूर दराजका गाउँका विद्यार्थी पढ्नका लागि दैनिका घण्टौँ धाउन बाध्य छन्। दैनिक ४-५ घण्टा धाएर विद्यालय पुगे पनि उनीहरूले प्राविधिक, व्यवहारिक र जीवन उपयोगी ज्ञान भने लिन सकेका छैनन्। जिल्लाका सुगम मानिने ठाउँमा व्यवहारिक शिक्षा प्रणाली लागु छैन भने दुर्गम गाउँमा त झन् हुने कुरै भएन।

तर पनि विद्यार्थीहरूले आफ्नो उज्जवल भविष्यका लागि घण्टौ धाएर पनि पढिरहेका छन्। जिल्लाको सबैभन्दा दुर्गमा मानिने तमानखोला गाउँपालिकामा यो समस्या बढी छ। गाउँपालिका-६ नर्जखानी, पात्ले र भित्रीवन गाउँका सयौँ विद्यार्थीलाई यो समस्या छ। उनीहरू वर्षौँदेखि नै घण्टौको बाटो छिचोल्दै विद्यालय पुग्छन्।

नर्जाखानी, पात्ले र भित्रीवनका बालबालिकाले गाउँ नजिकैको विद्यालयमा आधारभूत तहको पढाई पूरा गर्न पाए पनि माध्यमिक शिक्षका लागि वडा- ५ खुङ्खानीमा रहेको शान्ति माध्यमिक विद्यालयमा पुग्नु पर्छ। उनीहरूलाई त्यहाँबाट खुङ्खानी पुग्न तीन घण्टा बढी लाग्छ। उनीहरूलाई विद्यालय आउनजान मात्रै ६ घण्टा लाग्छ।

वडा- ६ को पात्ले गाउँमा ३, भित्रीवनमा ५ र नर्जाखानीमा कक्षा ८ सम्म पढाई हुन्छ। नर्जाखानी गाउँका बालबालिबाले गाउँमै कक्षा १ देखि ८ सम्म अध्ययन गर्न पाए पनि भित्रीवन र पात्ले गाउँका बालबालिकालाई त्यो सुविधा छैन। पात्ले गाउँमा बालबालिकाले गाउँमा कक्षा ३ र भित्रीवनका बालबालिकाले कक्षा ५ उत्तिर्ण गरे भने त्यस माथिको तहको अध्ययनका लागि जर्नाखानीमै पुग्नु पर्छ।

भित्रिवनबाट नर्जाखानी आउन करिब ढेड घण्टा लाग्छ भने पात्ले गाउँबाट एक घण्टा लाग्छ। त्यहाँका विद्यार्थीहरूले वर्षौँदेखि यसरी नै पढ्दै आएका छन्। तमानखोला गाउँपालिका वडा नम्बर ६ पात्ले गाउँकी मनिषा घर्ती मगरले घर भन्दा विद्यालय धेरै टाढा हुँदा प्रत्येक दिन ६ घण्टा यात्रा गरेर पढ्नु पर्ने बाध्यता रहेको बताइन्। घर्तीले कक्षा ८ सम्म वडा- ६ नर्जाखानीको विष्णु आधारभूत विद्यालयमा पढेको र त्यस माथिको तहका लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान र खुङ्खानी जानुको विकल्प नभएको बताइन्।

‘आठसम्म पढ्दा त धेरै समस्या थिएन, अहिले निकै समस्या छ यस क्षेत्रका विद्यार्थीहरूलाई,  कक्षा ९ र १० पढ्न कि बोङ्गादोभान जानुपर्छ, कि खुङ्खानी नै जानुपर्छ’, घर्तीले भनिन्, ‘खुङ्खानी जान आउन ६ घण्टा लाग्छ, बोङ्गादोभान गएर आउँदा त दिनै बित्छ, हामीलाई त निकै गाह्रो छ, गाउँमै ९ र १० पनि पढाई हुने भए कति सजिलो हुने गन्थ्यो होला।’

हरेक दिन विद्यालय पुग्न र घर फर्किदा थकाइ लाग्ने गरेको भन्दै पढाईमा समेत असर पुग्ने गरेको मनिषाको भनाई छ। उनले आफ्नो कोठा लिएर बस्न सक्ने अवस्था नभएको भन्दै आफू जस्ता गरिब विद्यार्थीलाई निकै समस्या भोग्नु परेको पीडा सुनाइन्। जाडो र वर्षातको समयमा आफूहरूलाई अझ बढी समस्या हुने गरेको उनी बताउँछिन्।

‘स्कूल टाढा छ, बर्खाको बेला खोलानाला बढ्छन्, वारपार गर्न गाह्रो हुन्छ, पहिरोले बाटो छेकेपछि कति पटक त स्कूल नगई घर फर्किएका छौँ, कता पहिरोले पुर्छ कि, खोलाले बगाउँछ कि भन्ने डर हुन्छ’, उनले भनिन्, ‘जोडमा हात खुट्टा टिट्टाएर हिँड्नै सकिन्न गाह्रो हुन्छ, स्कूल पुगे पनि पढ्नै सकिदैन, ‘स्कूल पुग्दा कहिले ढिला भएर हाजिर छुटेको हुन्छ, कहिले १÷२ पिरियड नै छुटेको हुन्छ।’

पात्ले गाउँका थम्मन घर्ती मगरले पनि मनिषाले जस्तै समस्या सुनाए। उनले गाउँभन्दा विद्यालय टाढा हुँदा आफूले सोचे अनुसारको पढाई हुन नसकेको बताइ। ‘स्कूल टाढा छ, जाँदा आउँदा नै धेरै समय बित्छ, थकानले गर्दा मन लगाएर पढ्न पनि सकिदैन, सोचे जसरी पढ्नै नसकिँदो रैछ, विहान उठेर स्कूल जाने, साँझ आउने खाने सुत्ने मात्रै हुन्छ।’

उनले हिउँदको समयमा खोला नाला र पहिरो डर नहुँदा जसोतसो विद्यालय पुगे पनि वर्षात्को समयमा निकै सास्या भोग्नु परेको सनाए। सरकारले दुर्गम गाउँका विद्यार्थीलाई लक्षित गरि पायक पर्ने विद्यालय संचालन गर्ने र स्कूल बसको व्यवस्था गरे आफू जस्ता सयौँ विद्यार्थीलाई सहज हुने थमन बताउँछन्।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले अन्य स्थानमा विद्यालय सहज पहुँच भएको भन्दै वडा नम्बर ६ भौगोलिक विकटता, छरिएर रहेको बस्ती र कम जनसंख्या भएका कारण शिक्षाको सहज पहुँच कम पुगेको बताए।

अध्यक्ष बुढा मगरले शिक्षाको सहज पहुँच र गुणस्तरीय शिक्षा प्रदानका लागि गाउँपालिकाले प्रयास थालेको भन्दै प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर विकट गाउँका बालबालिकालाई सहज रुपमा शिक्षा प्रदान गर्ने योजना बनाइरहेको बताए।

‘गाउँपालिकाकै सबैभन्दा पिछडिएको ठाउँको वडा नम्बर ६ यहाँ कम जन संख्या, छरिएको बस्ती र भौगोलिक विकटताका कारण सहज रुपमा शिक्षाको पहुँच पुग्न सकेको छैन, यसलाई प्राथमिकतामा राखेर हामीले योजना बनाएका छौँ र केही काम पनि अगाडी सारेका छौँ’, अध्यक्ष बुढा मगरले भने, ‘अब बिस्तारै होला, अहिले संचालनमा रहेका विद्यालयमा भौतिक संरचनालाई पूरा गर्ने र व्यवस्थित गर्ने काम भएको छ, माध्यमिक शिक्षालाई सहज बनाउन हामी लागि रहेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.