कपिलवस्तुको हैजा नियन्त्रण गर्न ल्याइएको थियो खोप

|

काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ।

असारको पहिलो हप्तामा बागबजारमा दुई दिदीबहिनीमा देखिएको हैजा अहिले काठमाडौंको विभिन्न ठाउँसहित ललितपुर र भक्तपुरमा समेत देखिएको छ।

हैजा मात्रै नभई पछिल्लो समय काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी पनि बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नै हाल दैनिक १५ जनासम्म झाडापखालाका बिरामी उपचारमा पुग्ने गरेका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले भने, ‘बर्खाको मौसम भएको भएर होला हाल उपचारमा आउने झाडापखालाका बिरामी दैनिक १५ जना सम्म आउने गरेका छन्।‘

विश्व स्वास्थ्य संगठनका अनुसार हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार भएन भने केही घण्टामै व्यक्तिको मृत्यु हुनसक्छ। त्यसैले समान्य ठानिए पनि हैजा संक्रमण भएपछि धेरै बिरामीलाई आईसीयूमा नै उपचार गर्नु पर्ने अवस्थासम्म आउन सक्छ।

बागबजारमा असारको पहिलो साता  हैजा भएका दिदीबहिनीलाई आईसीयूमा नै राखेर उपचार गर्नु परेको थियो।

के काठमाडौंको हैजा नियन्त्रण गर्न खोप चाहिन्छ?

जनस्वास्थ्यको हिसाबले हैजाको एउटै केसलाई महामारी सरह मानिन्छ। तर हाल उपत्यकामा २७ जनालाई हैजा संक्रमण भइसकेको छ। यो अवस्थामा संक्रमण थप फैलन नदिन खोप आवश्यक रहेको हो कि भन्न थालिएको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हाल उपत्यकाको हैजा नियन्त्रणको लागि खोपको आवश्यक परिहालेको अवस्था नरहेको बताएको छ।

मन्त्रालयका सह प्रवक्ता डा‍. समीर अधिकारीका अनुसार हैजा विशेषत: भिब्रिओ कोलेरा’ नामक जीवाणुको सङ्क्रमणका लाग्छ र यो जीवाणु प्रायः दूषित पानीमा हुन्छ। हाल काठमाडौंमा फैलिरहेको हैजा दूषित पानीकै कारण फैलिएकाले खानेपानीको शुद्धतालाई ध्यान दिन र घरघरमा पानी खाँदा विशेष ध्यान दिन सके अहिले हैजाविरुद्धको खोप आवश्यक नरहेको उनी बताउँछन्।

‘सरसफाइको हिसाबले काठमाडौं उपत्यकालाई नराम्रो भन्न मिल्दैन तर यहाँ खाइने पानी नै दूषित हुँदा जोखिम बढेको हो, खानेपानीलाई ध्यान दिन सके मात्रै यहाँ हैजा नियन्त्रण गर्न सकिन्छ त्यसैले अहिलेकै अवस्थामा हैजाविरुद्धको खोप आवश्यक पर्दैन, भविष्यमा संक्रमण बढ्दै गए फरक कुरा’ डा‍.अधिकारीले भने।  

यता काठमाडौंमा देखिएको झाडापखला र हैजा नियन्त्रण गर्न पहिलो प्राथामिकतामा खानेपानी शुद्धतालाई ध्यान दिनुका साथै फलफूल तथा सलाद खाँदा विशेष ध्यान दिनुपर्ने र यसरी नै बढ्दै गए बल्ल खोपको प्रयोगतिर लाग्नुपर्ने बताउँछन्, स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ चिकित्सक डा. सुशील प्याकुरेल। ‘खानेपानी उमाले र खाने तथा केही समय काँचो सलाद नखाने र फलफूल उमालेको पानीले पखालेर खाने गर्नाले मात्रै पनि हैजाबाट धेरै बच्न सकिन्छ’, उनी भन्छन्, ‘अहिले संक्रमण धेरै नफैलिसकेको अवस्थामा खानेपानीमै विशेष ध्यान दिन सके बच्न सकिन्छ।’

जीवनजलको व्यवस्था गरौँ

जनघनत्वको हिसाबले काठमाडौंमा हैजा छिटो फैलिने भए पनि स्वास्थ्य संस्थाहरूको पहुँचले गर्दा मृत्यु कम हुन सक्छ। तर अहिलेको अवस्थामा हैजा तथा झाडापखालाको उपचारको लागि चाहिने जीवनजलको व्यवस्था धेरै गर्नुपर्ने अवस्था रहेको डा. प्याकुरेल बताउँछन्। हैजा एकदमै छिटो फैलिन्छ, काठमाडौंमा हालसम्मको अवस्था हेर्दा पनि फरक फरक ठाँउमा संक्रमण देखि रहेको हुँदा स्वास्थ्य स्वयंसेविकालाई घरघरमा जीवनजल पुर्‍याउन लगाउनुपर्ने अवस्था आइसकेको उनले बताए।

‘अहिले काठमाडौंवासीले जारकै पानी भए पनि उमालेर खाने र सरकारले जीवनजलको वितरण तथा अस्पतालमा सलाइन पानीको व्यवस्था गर्नुका साथै पानीको शुद्धीकरणमा सरोकार निकायसँग समन्वय गरेर काम गर्नु पर्ने वेला हो, हैजाले व्यापक रूप लियो भने नियन्त्रण गर्न गाह्रो हुन्छ, जुन कुरा यसअघि हाम्रोमा फैलिएको हैजा तथा झाडापखलाले अवस्थाले देखाइसकेको छ’, उनले भने।

कपिलवस्तुको हैजा नियन्त्रण गर्न ल्याइएको थियो खोप

गत वर्ष असोजमा कपिलवस्तु जिल्लामा हैजा फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डब्ल्यूएचओसँग मागेर कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाइ लाखभन्दा बढी बासिन्दालाई ‘ओरल कलेरा भ्याक्सिन’ दिएको थियो।

सनोफी हेल्थ केयर इण्डिया प्रालिले बनाएको उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकपाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै नेपालमा दुई लाख ५२ हजार ३६३ मात्रा आएको थियो।

त्यसबेला कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बाट असोजको मध्यमा सुरु भएको झाडापखालाको प्रकोप शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका बासिन्दामा समेत देखा परेको थियो। त्यसबेला अस्पतालमा भर्ना भएका बिरामीमा दिसा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो।

हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयलाई उक्त खोप दिएर त्यहाँ फैलिएको झाडापखला तथा हैजा नियन्त्रण गरिएको थियो। तर अहिले काठमाडौंको अवस्था फरक भएको भन्दै खोप हाललाई आवश्यक नपरेको मन्त्रालयको सहप्रवक्ता डा‍.अधिकारीले बताए। ‘कपिलवस्तुमा शौचालय पहुँच तथा सरसफाइको कमीले गर्दा झाडापखाला व्यापक रूप लिएपछि खोप नै आवश्यक परेको थियो’, उनले भने, ‘काठमाडौंको अवस्था त्यहाँको जस्तो छैन, यहाँ खानेपानी र बाहिरको खानेकुरा खाँदा ध्यान पुर्‍याउन सकियो भने मात्रै पनि धेरै सहज हुन्छ।’  

२०६६ सालमा जाजरकोटमा हैजाको महामारी

यसअघि २०६६ सालमा जाजरकोटमा हैजा संक्रमण फैलिँदा महामारीकै रूप लिएको थियो। त्यसबेला जाजरकोटबाट फैलिएको हैजा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायत सात जिल्लामा देखा परेको थियो।

त्यतिखेर त्यहाँ हैजाकै कारण धेरैको ज्यान गएको थियो भने त्यहाँका ६० हजारभन्दा धेरै जनतालाई उपचार गराउनु परेको थियो। तर स्वास्थ्य स्वयंसेविकामार्फत व्यापकरूपमा जीवनजलको वितरण गर्नुका साथै स्थानीयलाई पानी उमालेर खान सुझाव दिएर नै त्यहाँको झाडापखाला र हैजा नियन्त्रण भएको बताउछन्, डा. प्याकुरेल।

‘२०६६ सालमा जाजरकोटबाट फैलिएको हैजा छिमेकी जिल्लामा पनि पुगेको थियो, स्वास्थ्य स्वयंसेविकामार्फत स्थानीयलाई जीवनजल घरघरमा पुर्‍याउनुका साथै अलि कडा खालका बिरामीलाई सलाइनको व्यवस्था तथा सरसफाइ र खानेपानीमा नै ध्यान दिन घरदौलो कार्यक्रम गरेरै त्यहाँको झाडापखला नियन्त्रण गरेका थियौँ’, उनले भने, ‘तर मुख्य कुरा के हो भने हैजा र झाडापखाला संक्रमण सुरुमै नियन्त्रण लिन सकियो भने धेरै राम्रो हुन्छ।’

काठमाडौं उपत्यकामा पनि सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन्। तर काठमाडौं उपत्यकामा बर्खाको समयमा यहाँका बासिन्दाले खानेपानीले गर्दा जहिले पनि जोखिममा रहने बताउँछन्, उनी ।

नेपालमा वि.सं. १९९० सालको भूकम्पपछि काठमाडौं उपत्यकामा हैजा महामारीकै रूपमा फैलिएको इतिहास छ।

कसरी बच्न सकिन्छ?

उस्तै खालका लक्षण देखिने हुँदा धेरै मानिस हैजा र झाडापखालाबाट झुक्किने बताउँछन्, डा प्याकुरेल। हैजा 'भिब्रिओ कोलेरी' नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ। सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुन्छ। उनका अनुसार जीवाणु शरीरमा प्रवेश गरेपछि निरन्तर दिसा लाग्छ।  दिसाबाट चामलको चौलानीजस्तो तरल पदार्थ दिनको तीन पटकसम्म शरीरबाट गयो भने हैजाको आशंका गर्न सकिन्छ। 

यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाका मांसपेशी बाउँडिने जस्ता समस्या अधिकांश बिरामीमा देखिने उनको भनाइ छ। तरल पदार्थ धेरै खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने उनले बताए। बिरामी धेरै थाक्ने र धेरै छटपट हुने उनको भनाइ छ।

यस्तो भएमा घरमा जीवनजल सहित झोलयुक्त खानेकुरा खानुका साथै सकेसम्म चाढै चिकित्सकको पहुँचमा पुग्न उनी सल्लाह दिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.