|

रुकुम (पूर्व) : भूमे गाउँपालिका–७ गुनाम गाउँमा उत्पादित अर्गानिक आलुले बजार पाउन सकेको छैन। भूमे–७ गुनाम गाउँका किसानले खेतबारीमा अर्गानिक आलु फलाए पनि उक्त आलुले बजार नपाएपछि किसान चिन्तित बनेका हुन्।

प्रदेश सरकारले गुनाम गाउँलाई आलु ब्लक विकास कार्यक्रम समेत सञ्चालन गरेको छ। विगतदेखि नै गुनाम गाउँमा आलु धेरै फल्ने गरेको थियो। आलु उत्पादनमा किसानलाई थप प्रोत्साहन दिनका लागि प्रदेश सरकारले आलु ब्लक विकास कार्यक्रम सञ्चालन गरेको हो। आलु ब्लक विकास कार्यक्रमलाई कार्यान्वयनका लागि जिल्लामा रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय र भूमे गाउँपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ। 

आलु ब्लक विकास कार्यक्रमले आलु उत्पादकत्व वृद्धि भएको लालीगुराँस कृषक समूहका सचिव कुमार सुनारले बताए। प्रदेश सरकारले आलु ब्लक विकास कार्यक्रम सञ्चालन गरेपछि सरकारले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गरेको थियो। साथै कृषि प्राविधिक र रोग तथा कीराबाट जोगाउनका लागि जैविक विषादी सरकारले उपलब्ध गरेको थियो।

आलुको उन्नत बीउ तथा कृषि प्राविधिक सहितको सरकारले आलु ब्लक विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन भएपछि आलु उत्पादकत्व वृद्धि भएको सुनारको भनाइ रहेको छ। गुनाम गाउँमा करिब तीन सय घरधुरी रहेका छन्। प्रत्येक घरले २ क्विन्टलदेखि ७ क्विन्टलसम्मको आलु फलाएका छन्। 

गाउँभरीमा गरी १६० क्विन्टल हाराहारीमा आलु बिक्रीका लागि तयार रहेको कृषक समूहका सचिव सुनारले जानकारी दिए। सबैको घरघरमा अर्गानिक आलु फलेको तर उक्त आलुले बजार नपाउँदा आफूहरू चिन्तित बन्नु परेको सुनारको भनाइ छ। बजारसम्म पुर्‍याउनका लागि वर्षाका कारणले गाउँको सडक अवरुद्ध भएकाले थप समस्या व्यहोर्नु परेको सुनारको भनाइ छ।

गाउँमा फुटकर प्रतिकिलो आलु ४० रुपैयाँमा बेच्ने गरेका छन् भने सहकारीले थोकमा खरिद गरिदिने भएपछि प्रतिकिलो ३२ रुपैयाँमा आलु खरिद गरिदिने कृषक समूह र सहकारीबीच सहमति भएको छ।

भूमे गाउँपालिकाका कृषि प्रसार अधिकृत स्वतन्त्रराज चौधरीका अनुसार उक्त आलु मारिङ बहुउद्देश्यीय सहकारी सङ्घमार्फत खरिदका लागि कुरा भइरहेको बताए। यद्यपि वर्षाका कारणले सडक अवरुद्ध भएपछि आलु बजारसम्म ल्याउन नसकिएको चौधरीको भनाइ रहेको छ।

उत्पादित आलुलाई खेर जान नदिनका लागि अवरुद्ध भएको सडक गाउँपालिकाले खुलाइदिने र अबको केही दिनमै सहकारी सङ्घले गाउँमै पुगी किसानका सबै आलु खरिद गरिदिने चौधरीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.