'एकबारको जिन्दगी भेडाहरूसँगै रमाएँ'

|

बागलुङ : शिरमा भेडाको उनबाट बनेको टोपी। शरीरमा कालो र खैरो रंगको मैलिएका कपडा, गोडामा फाटेका चप्पल लगाएका र काँधमा घुम (भेडाको उनबाट बनेको पानी छेक्ने कपडा) बोकेका।

बागलुङ र पूर्वी रुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन्। हँसिलो अनुहार र मिजासिलो स्वभाव। निसीखोला गाउँपालिका- ६ का वीरबल घर्ती मगर गोठाले जीवन आनन्दपूर्वक बिताएकोमा सन्तुष्ट छन्।

घर्ती प्रायः यो मौसममा यही सेरोफेरोमै भेटिन्छन्। घर्ती एक्लै होइन, उनीसँगै सयौँ काला, सेता र खैरा रंगका भेडा पनि भेटिन्छन्। यिनै भेडाको रेखदेख र गोठालो गर्नु उनको दैनिकी हो। मध्यपहाडी लोकमार्गको रोल्पा, रुकुम र बागलुङको सिमाना पातीहाल्ने भन्दा केही माथितिर पहेँलो त्रिपालले छाएको एउटा गोठ छ। त्यही गोठछेउमा तीनवटा ठूला–ठूला डरलाग्दा कुकुर पनि छन्।

उनी बिहान बेलुकाको खाना यही पकाएर खाने गर्छन् भने रात बिताउने पनि यही छाप्रो नै हो। घर्तीले गोठै छेउमा बाँधेर राखेका तीनवटा कुकुर आफू र भेडाहरूका ‘रक्षक’ हुन्। भेडा चोरी हुन र वन्यजन्तुबाट जोगाउन यी कुकुरहरू काफी छन्। यो ठाउँ उच्च पहाडी क्षेत्रमा पर्छ। यो क्षेत्र करिब ३२ सय मिटरको उचाइमा छ।

उनको गोठ रहेको ठाउँ रिगताल क्षेत्रमा पर्छ। गोठ रिगताल क्षेत्रमा भए पनि उनी त्योभन्दा निकै माथिल्लो क्षेत्रमा भेडाहरू लिएर जाने गरेको बताउँछन्। उनी सधैँभरी एकै ठाउँ भने बस्दैनन्। हिउँदमा औल (भल्कोट) र वर्षातको समयमा लेकतिर बढी बस्छन्। यसरी लेकबेसी गर्न थालेको तीन दशकभन्दा बढी भएको वीरबलले बताए।

सानै उमेरदेखि भेडा पाल्दै आएका घर्तीमा बुढ्यौली लाग्दै गए पनि जोश र जाँगर भने युवाकै छ। १४ वर्षको उमेरदेखि भेडापालन गर्दै आएका उनी अहिले ५१ वर्ष पार गरिसके। हातगोडा चल्दासम्म र शरीरमा शक्ति हुँदासम्म भेडा पाल्ने सोचमा छन् वीरबल।

सामान्य लेखपढ गरेका उनले जीवनमा धेरै बाधा अवरोध पार गर्दै यहाँसम्म आइपुगेको बताए। अहिले निसीखोलाको रिग, पातीहाल्ने, रोल्पा र रुकुमको सिमाना तिलाचन क्षेत्रमा भेडा चराउँदै आएका वीरबलका बाउबाजे र त्यस अगाडिका पुस्ताले पनि पशुपालन गर्दै आएका थिए। बाउबाजेले गर्दै आएको पशुपालनलाई आफूले निरन्तरता दिए पनि अहिलेका युवा पुस्ताले पशुपालनमा चासो नदेखाएको वीरबल बताउँछन्।

‘जिजू बाजेदेखि नै भेडाहरू पाल्दै आएका रैछन्। हामीले पनि त्यही गरियो, जमानाले गर्दा अहिलेका मान्छेले यस्तो गर्दैनन्, म २७ सालको हुँ, म पछिकाले भेडा पाल्नै छोडे’, घर्तीले भने, ‘अहिले त स्कूल पढ्ने, गाडीमा हिँड्ने विदेश जाने रे, पहिले हाम्रो पालामा पढिएन, विदेश पनि गइएन, यस्तै भेडाहरू पाल्ने लेक–लेक हिँड्ने गरियो।’

जमाना फेरिदै गएपछि मान्छेहरूले आफ्नो पेशा समेत फेर्दै आएका छन्।

आफूले पनि कक्षा ३ पास गरेको स्मरण गर्दै शिक्षाको महत्त्व नबुझ्दा विद्यालय छोडेको र सानैदेखि भेडापालनमा लागेको उनको भनाइ छ। ‘मैले सानैदेखि भेडा चराउन थालेको हुँ। स्कुलमा तीन पढ्दा पढ्दै गाउँको दाइले लौ लाहुरतिर जाऊँ भन्यो, अनि बटौलीतिर गएर केही काम गरियो, १३ महिनामा घर फर्किएँ, फेरि स्कूल गएँ, स्कूल गएर तीन पास गरेँ’, उनले आफ्नो बाल्यकाल सम्झिँदै भने, ‘त्यसपछि छोडेर भेडा गोठाले भएँ, भेडा गोठालो गर्दागर्दै बिहे गरेँ।’

घर्ती भेडा चराउँदै गर्दा २०५२ सालको जनयुद्धमा माओवादीको अपहरणमा पनि परे। अपहरणमा परेर फर्किएपछि पनि उनले त्यही पेशा अँगाले। उनलाई कहिल्यै पेशा बदल्ने सोच आएन।

‘२०५२ सालतिर जनयुद्ध भयो, जनयुद्धमा अपहरण गरेर ५ महिना राखे, त्यहाँबाट छुटेपछि पनि फेरि गोठ आएँ र एक डेढ सय भेडा बनाए, त्यही वेला भेडामा रोग आयो र सबै मरे र पनि भेडा पाल्ने रहर मरेन, मन मानेन’‚  घर्तीले भने।

रोगले सयौँ भेडा बाख्रा मरेपछि उनले केही समय भेडा पाल्न छोडे। वर्षौदेखि भेडासँगै रमाउँदै आएको त्यो मन कहाँ यत्तिकै बस्न सक्थ्यो र? घर्तीले केही समय भेडा पाल्न छोडे पनि पुनः ६ वर्षअघि पुरानै पेशालाई निरन्तरता दिन थाले।

उनले आफूहरूको परम्परागत पेशालाई अहिलेका युवा पुस्ताले बेवास्ता गरेको गुनासो गरे। घर्तीले भेडासँगै लेकबेसी गरेर जीविका चलाउँदै आएको भन्दै अहिलेका पुस्ताले आफ्नो परम्परागत पेशा व्यावसाय माथि घृणा गर्न थालेको बताए। 

‘अहिलेका त स्कूल पढ्ने रे, स्कुल पढेर नोकरी खोज्ने रे, विदेश जाने रे, शहरबजारमा बस्ने रे, हाम्ले भेडाबाख्रा पाल्दा त किन पाल्छौँ, यस्तो जंगलमा हिँड्ने होइन, मैलो भएर यस्तो फाटेको लुगा लाएर, हिँड्ने होइन भन्छन्’‚ वीरबलले भने।

उनले विकासले गर्दा परम्परागत धेरै कुरा लोप हुँदै गएको र भेडापालन पनि बिस्तारै हट्दै जान थालेको गुनासो गरे। घर्तीले अहिले गाउँका युवाहरू विदेश जाने र शहरबजारमा बस्ने गर्दा पुराना परम्परागत पेशा व्यवसाय पनि हराउँदै गएको उनको भनाइ छ। अहिलेका युवाहरूमा गाउँमा व्यवसाय गर्नभन्दा विदेश जान तयार हुने भन्दै गाउँका खेतबारी समेत बाँझो हुन थालेको उनको गुनासो छ।

घर्तीका तीन भाइ छोरा छन्। उनीहरू बजारतिर रहेको उनको भनाइ छ। घरपरिवार यही व्यवसायबाटै चल्दै आएको उनको भनाइ छ। उनले भेडा बेचेर वार्षिक ८-१० लाख कमाउन सकिने बताए।

‘भेडाहरू पाल्दा फाइदा छ, तर बढी दुःख हुन्छ, बर्खामा यी यसरी लेक लेकमा बस्नु पर्छ, हिउँदमा पनि डाला काटेर हाल्नुपर्छ। मेरो त यही भेडासँगै लेकबेसी गर्दै जीवन बितिगो नि', आफ्नो काममा गर्व गर्दै उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.