‘फोहोर वर्गीकरण गर्न निजी क्षेत्रलाई नै दिनुपर्छ’

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह यतिबेला फोहोर व्यवस्थापनमा जुटेका छन्। 

महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर स्रोतमै वर्गीकरण गर्ने निर्णय गरेको छ। जसलाई कार्यान्वयन गर्ने तालिका पनि महानगरले सार्वजनिक गरेको छ। 

अब साउन १ गते (भोलि) बाट महानगरले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर मात्रै सङ्कलन गर्नेछ। वर्गीकरण नगरी फोहोर बोक्ने गाडीसम्म ल्याइएका फोहोर पुनः सम्बन्धित व्यक्तिकै घरमै फर्काइने र पाँच सय रुपैयाँ जरिवाना गरिने चेतावनी महानगरले दिएको छ ।

यस विषयमा महानगरले शनिबार विहान प्रायः सबै वडाहरूमा माइकिङ गरी जानकारी गराएको छ। मेयर बालेन साह पनि शनिबार विहान आफैं पर्चा बाँड्दै फोहोर वर्गीकरण गर्न अनुरोध गर्दै हिँडेका थिए।

यहीबीचमा फोहोर व्यवस्थापनका लागि महानगरका पूर्वमेयर एवं मेयर बालेनका प्रतिस्पर्धी केशव स्थापितले सुझाव दिएका छन्। उनले फोहोरमैला व्यवस्थापनका लागि स्रोत अभाव नरहेको उल्लेख गरेका छन्।

उनले निवर्तमान मेयर विद्यासुन्दर शाक्यले दस अर्ब रुपैयाँ राखिदिएको भन्दै दुई अर्ब लगानी गर्न सुझाएका हुन्। 

‘काठमाडौंका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापनमा कसरी अघि बढ्ने भनेर सुझाव, फोहोरमैला व्यवस्थापन गर्न महानगरलाई स्रोतको अभाव छैन।’ उनले लेखेका छन्, ‘दस अर्ब रुपैयाँ विद्यासुन्दर शाक्यले राखिदिएका छन्। त्यसैमध्ये दुई अर्ब फोहोरमा लगानी गर्दा हुन्छ।’

केही दिनअघि स्थापितकै घरमा मेयर बालेन साह पुगेर केहीबेर छलफल गरेका थिए। महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन निजी क्षेत्रलाई नै प्रस्ताव राख्नुपर्ने स्थापितको सुझाव छ।

‘निजी क्षेत्रका २० देखि २२ वटा कम्पनीले फोहोर उठाइरहेका छन्। उनीहरूलाई फोहोर छुट्याउन र मल कारखाना स्थापना गर्न ५ करोड रूपैयाँका दरले ऋण दिऔं, अनुदान होइन।’ उनले लेखेका छन्, ‘यति गर्न सक्यो भने उनीहरू आफैं फोहोर छुट्याउँछन् र कुहिने फोहोरबाट मल बनाउँछन्। फोहरमैलामा निजी क्षेत्रले संगठित ढंगले काम गरिरहेका छन्। महानगरले उनीहरूलाई नै सम्मानका साथ काममा लगाउनुपर्छ।’

सिसडोल ल्यान्डफिल साइटको फोहोरबाट प्लास्टिक निकाल्न सकिने र व्यवस्थापन गरेर पार्क बनाउन सकिने स्थापितको तर्क छ। ‘सिसडोलमा पार्क बनाएर स्थानीय जनतालाई उपहार दिने हो भने तिमी त्यहाँको हिरो भइहाल्यौ नि !’ बालेनलाई संवोधन गर्दै उनले लेखेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.