धनकुटा : गन्धर्व जातिको सारंगी बजाउने पुर्ख्यौली पेशा विस्तारै लोप हुँदै गएको छ। सबैलाई मोहित बनाउने सारंगीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन पछिल्लो समय हराउँदै गएको हो।
गन्धर्व जातिको बस्ती नभएको भए पनि धनकुटामा भोजपुरबाट गन्धर्व आएर घरघर गाउँदै हिँड्ने चलन रहेको थियो। खासगरी सारंगीप्रति युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत सारंगी बजाउने पेशा संकटमा परेको हो।
पहिले–पहिले दशैँको नवदुर्गा शुरु भएसँगै मालश्री गाउन रातमा गाउँबस्तीमा जाने चलन थियो।
सारंगी नेपाली मौलिक बाजा हो। तर यो बाजा विस्तारै नेपाली संगीतको मूलधारबाट लोप हुँदै गएको छ। त्यसैले सारंगीको जोगेर्ना गर्न मात्रै हैन, कलाका पारखीहरूले त्यही सारंगीभित्र देश देखाउने प्रयत्न गरेका छन्। चिटिक्कको मादल र कलात्मक ढंगले बनाइएको सारंगीको धुन सुनाउन हेमराज गन्धर्व, सुरेश गन्धर्व र भरत गन्धर्व यतिबेला देश दौडाहमा रहेका छन्।
उनीहरूमध्ये हेमराज र भरत दाङ जिल्लाको घोराहीका हुन् भने सुरेश बाँकेको कोहलपुरका हुन्। उनीहरूले सारंगी र मादलको धुनसँगै सचेतनाका गीत गाउँदै धनकुटा आइपुगेका छन्। उनीहरूले घरेलु हिंसा, लैंगिक हिंसा, बालविबाह, बलात्कार विरुद्धको सन्देशमूलक गीत गाउँदै आएका छन्।
सबैभन्दा पीडित नारी छन्
के कारणले पछाडी पारिन्छन्
जन्ता अनि प्रहरी दाजुभाई, सुरक्षित बनाऔं है समाजलाई...
दिदी बैनी दाजु र भाइ
अपराधमुक्त समाज बनाउनु छ हामीलाई
जस्ता सन्देशमुलक गीत उनीहरू गाउँदै आएका छन्। उनीहरूले गाउने गीतमा शिक्षाको जागरण पनि रोजाइमा पर्ने गरेको छ। उनीहरूको गीतले सुन्ने जतिलाई लठ्याउने र मन्त्रमुग्ध बनाउने गरेको छ।
उनीहरूको अभियान लोप हुन लागेको मौलिक बाजा सारंगीलाई चिनाउने पनि रहेको हेमराजले बताए। सारंगीसंगै जोडिने गन्धर्व जातिको भाव जोडेर उनले फेरि यसरी भाका हाले ।
अन्धकारको भुमरीमा बल्झियो हाम्रो जीवन
कतै आँसु कतै विरह भेटियो आज जीवन
सम्पत्तिको नाममा हाम्रो यहि सारंगी बाजा
बज्नै छाड्यो भन्छन् सबले गाउँघरमा आज
उनीहरू सचेतना फैलाउने अभियान लिएरै सुदूरपश्चिमदेखि कयौ गाउ“वस्ती छिचोल्दै धनकुटा पुगेका हुन्।
हालसम्म ७४ बढी जिल्लामा सचेतनाको स्वर छर्दै बाँकी पुर्वी पहाडी जिल्लाको यात्रामा उनीहरू छन्। नेपाली बीरता र ऐतिहासिक कथा वस्तु समेटिएका दर्जनौँ गीत कन्ठस्तै छ। सुरुमा सुशिल दुखी गन्धर्वको सोचले यात्रामा निस्किएको उनीहरू बताउँछन्।
यस यात्रामा भोजपुरका तेजेन्द्र गन्धर्व पनि रहेका छन्। तर सुशील र तेजेन्द्र अन्य जिल्लामा यसै अभियानमा छन्। गन्धर्वको सांस्कृतिक समूह गठन गरेर उनीहरू यात्रामा निस्किएका हुन्। दाङको प्रदेश प्रहरी कार्यालयले मध्य पश्चिमका जिल्लामा सचेतनामूलक यात्राको लागि समन्वय गरिदिएको उनीहरूले बताए।
‘सबैतिर तारिफ मिलेपछि देशैभरी सचेतनाका गीत र सारंगीलाई चिनाउने अभियान लिएर निस्कन हौसला दियो’ हेमराजले भने, ‘दुई वर्षदेखिको अभियानले मुलुकभरी पुग्ने अवसर मिल्यो।’
त्यसो त उनीहरू जहाँ जान्छन्, सबैको वाहवाही पाउने गरेकोमा दंग छन्। सचेतना गीतको लागि शिक्षण संस्था, प्रहरी प्रशासन, विभिन्न कार्यालय तथा आफुहरूलाई निम्ता गर्ने स्थानमा पुग्ने गरेका छन्।
कोरोनाकालीन समयले अभियानलाई केही समय स्थगन गर्नु परे पनि त्यसपछि निरन्तरता दिंदै आएको बताउँछन्। मध्यपश्चिमबाट थालेको यात्रा सुदूरपश्चिम हुँदै मध्य तथा पुर्वी भागमा पुग्दा आफ्नै खर्च व्यहोर्नु परेको सुनाए। गीत गाएर पाएको पैसाले यात्रा खर्च र घरपरिवारका लागि समेत यसैबाट जोहो गर्नुपर्ने भरतले बताए।
विभिन्न सांगितिक प्रतिस्पर्धामा अब्बल पहिचान बनाइसकेका छन्। पछिल्लो पुस्तामा गीतसंगीतमा साधना गर्ने क्रम कमी हुँदै गएको प्रति उनीहरू चिन्तित छन्। गीत गाउने पुर्ख्यौली पेशा अपनाएका गन्धर्व जातिको प्रतिभालाई राज्यले नचिनेको भन्दै दुःख व्यक्त गरे।
पहिले पहिले धनकुटाका गाउँगाउँमा बालकदेखि वृद्धसम्मका गन्धर्वहरू पुगेर सारंगी रेट्दै गीत गाउँदै आइपुग्थे। तर अहिले सारंगी रेट्ने चलन हराउँदै गएको छ भने सारंगी रेट्ने मानिस पाउन मुश्किल भएको छ।
युवा पुस्ता सारंगी बजाउने पेशामा आकर्षित हुन नसकेका कारण यो समस्या आएको स्थानीय बताउँछन्। अझ सामाजिक विभेदका कारण युवा पुस्ता यो पेशामा आकर्षित हुन नसकेको बताइन्छ।
गीतसंगीतमा सारंगीको भूमिका उल्लेख्य रहे पनि अहिले यो लोकबाजा बजाउने मानिसको अभाव बढ्दै गएको छ। सारंगी बजाउने सिप भएका गन्धर्व समुदाय राज्यको बेवास्तामा पर्दा पेशा परिवर्तन गर्न थालेका छन्।
सारंगी रेटेर गाउने गीतमा नेपाली संस्कृति र मौलिकता झल्किने गर्छ। तर बजार केन्द्रित संगीतका कारण यो सांस्कृतिक र मौलिक बाजाप्रतिको मोह विस्तारै घट्दै गएको सुरेशले बताए।
गन्धर्व कला र गलामा धनी भए पनि निश्चित भूगोल र सामाजिक परिबन्धको घेरामा परेको कारण पनि सारंगी लोप हुँदै गएको बताउने गरिएको छ। सूचना, संगीत र मनोरञ्जनका लागि अत्याधुनिक प्रविधिहरूको विकास हुनु र मौलिक बाध्य सामग्रीप्रतिको बेवास्ता बढ्नुले गन्धर्व जाति पनि विस्तारै सारंगीबाट टाढा हुन लागेको देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।