|

बैतडी : सुदूरपश्चिम प्रदेशमा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रूपमा मनाइँदै छ। यो महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ। साउने संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रूपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको पण्डित दयाकृष्ण पन्तले बताए।

साउनको महिना देवीदेवता वैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यो महिनालाई कालो महिना भन्ने गरिएको हो। पण्डित पन्तले भने, ‘साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्छन्, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान् वैकुण्ठमा बस्ने गर्छन्।’

शयन गरेका वेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ। आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अनजानमा गरिएका पाप नष्ट हुने विश्वास छ।

बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीय गणेश विष्टले बताए। 

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीले दर्शन गर्न गर्दछन्।

श्रावण महिनाभर मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ। जिल्लाबाट बसाइँ सरेकाहरू पनि मन्दिरमा पूजापाठ गर्न यो महिना जिल्ला भित्रिने गर्दछन्।

हर्‍यालो हालिँदै

सुदूरपश्चिममा आज खेतबारीमा रोग नलागोस् र बालीनालीको उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्‍यालो हाल्ने चलन छ।

हर्‍यायालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ। साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्‍यालो हाल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

देवीदेवता शयन गर्ने भएकाले बालीनालीमा रोग नलागोस् भनेर हर् हाल्ने गरिन्छ, सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ। यस्तै साउनमा खीर पकाएर खाने तथा बिहे गरेर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ।

यसका साथै असार महिनाभर हिलामा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउन सक्ने भएकाले जिउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ। गाउँघरमा यो दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ। त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ।

शहर बजारतिर भने छोरीचेलीलाई बोलाएर मीठा परिकार बनाएर खुवाउने प्रचलन छ। यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। साउन महिनालाई पवित्र महिना मानिन्छ। साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ। यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्छन्। साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन्। साउनमा महिलाहरु हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन्। योसँगै साउनको महिनादेखि चाडपर्व शुरु भएको समेत मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.