‘पावर सेयरिङ’मा प्रचण्डको चासो, दिल्लीले खोज्यो गठबन्धनको सुनिश्चितता

|

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानछाओ चारदिने नेपाल भ्रमणबाट फर्किएलगत्तै नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमणका लागि निस्किए। भारतीय जनता पार्टीको निम्ताेमा भारत भ्रमणका गएका प्रचण्ड तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्किए। 

निर्वाचनको मुखमा​ लिउ फर्किएलगत्तै प्रचण्डकाे दिल्ली दौडलाई अर्थपूर्ण रुपमा लिन सकिने जानकारहरू बताउँछन्। साविकको नेकपा एकता भंग भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ‘निर्णायक’ भूमिका खेलेका प्रचण्डले निर्वाचनको मुखमा दिल्लीको दौडले राजनीतिक वृत्तमा चर्चा छ।

प्रचण्डको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी कांग्रेस नेत्री आरजु राणासँग दिल्लीमा भएको भेटबारे नेपाली राजनीति थप तरल बनेकाे छ। प्रचण्ड र आरजुको दिल्लीमा भएकाे भेटलाई एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल लज्जास्पद भएको टिप्पणी गर्छन्। 

‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँडको भद्दा झल्को दिन्छ‚’ उनले फेसबुकमा लेखेका छन्, ‘२०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो।’

उनले ओलीलाई सरकारबाट हटाउनका लागि भारत नै सक्रिय भएको संकेत गरेका छन्। सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका छलफलको विवरण प्रचण्डले भारतलाई बुझाएको उनको आरोप छ।  

‘सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू त खुशी होलान्। तर यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको छ‚’ उनको भनाइ छ। 

त्यस भेटबारे प्रष्टीकरण दिँदै प्रचण्डले भने, ‘आरजु राणासँग दूतावासमा भेट भयो। उपचारको कामना गरेँ। त्यसभन्दा अरु केही छैन। बाहिर भएको हल्लामा सत्यता छैन।’ 

दिल्ली दौडका क्रममा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा, भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका थिए। 

भ्रमण फलदायी भएकाे दाबी

प्रचण्डले भारत भ्रमण सबै हिसाबले फलदायी भएको दाबी गरेका छन्। विमानस्थलमा आइतबार पत्रकारहरूसँग उनले भनेका थिए, ‘अपेक्षाअनुसार भ्रमण सफल भएको छ। कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ। न्यानो स्वागत भयो। पहिला प्रधानमन्त्री भएर जाँदाभन्दा अहिले फरक लागेन। भ्रमण फलदायी रह्यो।’

उनले भेटमा नेपाल-भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको बताए। भेटको क्रममा भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीबारे छलफल गरी सम्बन्ध बिस्तार गर्ने सम्बन्धी प्रस्ताव राखेको र आफूले स्वीकारेको उनको भनाइ छ। 

‘भारतमा भएका सामूहिक भएको भेट फलदायी भए। थिंकट्यांकको सम्बोधनमा मैले जे बोलेको छु, तिनै कुरा भएका छन्। सन १९५० को सन्धि पुनरावलोकन, सीमा समस्या, इपिजी र थाँती रहेका विषयमा मैले कुरा उठाएको छु‚’ प्रचण्डको भनाइ थियो। 

‘क्लाइमेक्स’मै ब्रेक !

भारत भ्रमणका लागि भाजपाले प्रस्ताव गर्दा नै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटकाे सुनिश्चितताकाे शर्त राखेका थिए। त्यसलाई भाजपाले स्वीकार गरेर नै प्रचण्डले भ्रमण तय गरे। माेदीले भेट नदिएपछि प्रचण्डकाे याेजना सफल हुन सकेन।  

भाजपा अध्यक्ष नड्डासँग भेटपछि प्रचण्ड ‘क्लाइमेक्स’ बाँकी रहेको भन्दै मोदीसँग भेट्न बाहिरिएको थिए। तर भेटका लागि हिँडिसकेका प्रचण्डको ‘क्लाइमेक्स’लाई मोदीले भेट नदिएर बीचमै ‘ब्रेक’ लगाइदिए। 

नेपाल फर्किएपछि मोदीले भेट किन स्थगित गरे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।  

त्यसबारे प्रचण्डको भनाइ जस्ताको तस्तै

हामीलाई त भेट हुन्छ नै भनिएको थियो। १ बजे भेट्ने कुरा थियो। १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं। होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो। प्रेसिडेन्टले भेटिसकेपछि यही नै क्लाइमेक्स हो भन्ठानेर हो कि भन्ने अधिकारीहरुले चर्चा गरे।

अर्को हिजो मात्रै बाढीले पूरै भारतमा ठूलै जनधनको क्षति र डुबान भएको छ। हिजो मोदीजी उता जानुभएको थियो। एकदम ‘रस आवर’ भएर हो कि भनेर उहाँहरूले भन्नुभयो। तर के कारणले हो भन्ने मैले पनि थाहा पाएको छैन। तर मलाई टेन्सन छैन। बिजेपीको लिडरसिप सबैसँग भेट भयो। मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला। अरु त के हुन्थ्यो होला र!

तर माओवादी स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मोदीसँगको भेट तय भएरै प्रचण्ड भ्रमणमा गएको दाबी गर्छन्। 

उनी भन्छन्, ‘मोदीसँगको भेट तय भएको थियो। अन्तिममा किन हुन सकेन हिजो उहाँले पनि आफ्नो कुरा राख्नुभएको छ। त्यो भन्दा अरु कुरा आउन सकेको छैन।’

प्रचण्डलाई मोदीले भेट नदिएपछि नेपालमा आउँदा प्रचण्डले नभेटे पनि हुने बाटो खुलेको माओवादी पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दिपशिखा बताउँछन्। 
उनी भन्छन्, ‘भारतमा भ्रमणको क्रममा मोदीले हाम्रो पार्टीका अध्यक्षलाई भेट नदिनु भनेको मोदी नेपालमा आउँदा नभेटे पनि हुनेगरी बाटो खुल्यो।’

त्यसो त एमाले नेता भीम रावलले उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुने भएकाले भारत भ्रमणको क्रममा प्रचण्ड निरीह बनेको टिप्पणी गरेका छन्। 

‘उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो‚’ उनले ट्विटरमा लेखेका छन्, ‘कति निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति। यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ।’

प्रचण्डको जस्तो कच्चा कूटनीतिले नेपालको राजनीति र कूटनीतिलाई नजोगाउने उनको तर्क छ। उनले ‘झुक नीति’को आसे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्ने बताएका छन्। 

‘झुकनीतिको आसे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त  हुनुपर्छ। देशले के उपलब्धि पायो भनी मूल्याङ्कन नगरी कति मान, सेवा, सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र हो‚’ उनले थपेका छन्, ‘भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिष्ट पार्टीको अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?’

भारतमा पनि कांग्रेसको पछि लाग्दा कम्युनिष्ट पार्टीको सकिएको स्मरण गर्दैै प्रचण्डले त्यसबारे सोच्नुपर्ने उनले बताएका छन्। कम्युनिष्ट पार्टीका घटक विभाजन भएर प्रचण्ड र माधव नेपालले देउवालाई सत्ताको बागडोर थमाएका छन्। 

प्रधानमन्त्रीको लबिङ !

प्रचण्ड र आरजुबीच दिल्ली भेटमा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको सुनिश्चितता खोजेको स्रोतको दाबी छ। नेकपा विभाजनपछि माधव नेपालको साथमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवालाई सत्ता बुझाएका प्रचण्डले आलोपालो भए पनि प्रधानमन्त्री बन्ने बाटो खोजेकाे बुझिएको छ। 

प्रचण्डले असार १० गते काठमाडौंमा आयोजित एक कार्यक्रममै यसको संकेत गरेका थिए। 

‘पहिलोचोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चिकै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने देशलाई नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ‚’ प्रचण्डको भनाइ थियो।

प्रचण्डले आगामी निर्वाचनपछि आलोपालो प्रधानमन्त्री खोज्नु स्वाभाविक भएको बताउँछन् माओवादी नेता हरिबोल गजुरेल। 

उनी भन्छन्, ‘गठबन्धनबाटै निर्वाचनमा गएपछि उहाँको दाबी स्वाभाविक हुन आउँछ। त्यसबारे गठबन्धनमा अनौपचारिक छलफल चलेको भए पनि अहिलेसम्म कुनै निर्णय भएको भने होइन।’ 

त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका राष्ट्रियसभामा प्रमुख सचेतक खिमलाल भट्टराईले गठबन्धन जोगाएर पदको बाँडफाँड गर्न प्रचण्डले भारत भ्रमण गरेको आरोप लगाए।

दिल्लीमा प्रचण्ड र आरजुको भेटलाई संकेत गर्दै उनले सोमबारको राष्ट्रियसभा बैठकमा भने, ‘जुन मिटिङ बस्नुभयो र सामाजिक सञ्जालमा बाहिर जे सन्देश देशमा आएको छ, पदको बाँडफाँड त्यहाँ बसेर गरियो भन्ने कुरा छ। सत्ता गठबन्धन जोगाउने, कायम राख्ने अगाडि बढाउने र त्यसको साथमा पदको बाँडफाँड गरेर को राष्ट्रपति हुने? को प्रधानमन्त्री हुने? कति समय को बस्ने? त्यसपछि को बस्ने भन्ने खालको कुरा गरियो भन्ने खालका कुरा आएको छ‚ यो नहोस्।’

उनले भारत भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर पद बाँडफाँड गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यस्तो नहोस् भन्ने चेतावनीसमेत दिन भ्याए। 

उनले थपे, ‘यस्तो कुरा हिजो राणाकालमा हामीले सुन्यौँ। तर यस्तो नहोस् अबको नेपालमा। यो लोकतन्त्र, गणतन्त्र हामीले यसको लागि ल्याएको होइन। विदेशी भूमिमा गएर सिटको बाँडफाँड गर्ने‚ पदको लागि चाकडी गर्ने? हामीले भीख मागेर पद, पदासीन हुनुभन्दा भिखारी नै भएर सडकमा हिँड्नु मजा हुन्छ। यस्तो सन्देश अहिले देशमा गइराखेको छ।’

अर्को देशमा भएर देशको सत्ता बाँडफाँड गर्नुले लोकतन्त्रलाई बलियो नबनाउने उनको भनाइ छ। 

गठबन्धनको सुनिश्चितता

त्यसो त प्रचण्ड भारत भ्रमणको वेला नेपालमा वाम तालमेलदेखि एकतासम्मको खुबै चर्चा चल्याे।  

शनिबार नेपाल-चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफलमा सार्वजनिक मञ्चबाटै माओवादी नेता नारायणकाजी श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेपछि वाम एकता चर्चामा रह्यो। 

ओलीले एमाले मात्रै वामपन्थी भन्ने जवाफ दिएपछि नेता श्रेष्ठ असन्तुष्ट बने। त्यही बीचमा एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच वाम तालमेलबारे छलफल भएको बुझिएको छ। तर प्रचण्डसँग दिल्लीले पाँचदलीय गठबन्धनकै निरन्तरताको लागि सुनिश्चितता खोजेको उनी निकटस्थ नेताहरू बताउँछन्। 

प्रचण्डले प्रतिगमनको खतरा अझै रहेकाले गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा आश्वस्त पारेको बुझिएको छ। उनले ०७४ सालको निर्वाचन झैं यसवर्ष अर्को गठबन्धन नबन्नेमा ढुक्क रहन भनेको पनि बुझिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.