काठमाडौं महानगरको ७० करोड प्रस्तावित बजेट

|

काठमाडौं : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र स्थानीय तहले वार्षिक बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ। यहीअनुसार स्थानीय तहले आव ०७९/८० काे बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

स्थानीय तहले शिक्षा क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ कार्यक्रम ल्याएका छन्। काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रका लागि करिब ७० करोड रूपैयाँको बजेट प्रस्तावित गरेको छ।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार शिक्षा विभागका लागि ५० करोड, विद्यालय संरचना निर्माण गर्न १० करोड, विद्यालय खेलकुदका लागि २ करोड बजेट विनियोजन गर्ने प्रस्तावित छ। ‘शिक्षा क्षेत्रमा सबै गर्दा करिब ७० करोड बजेट प्रस्तावित छ, अब रातो किताबमा आए पछिमात्रै यी बजेट छुट्याएको भन्न सकिन्छ,’ उनले भने।

कक्षा कोठामै लकरको व्यवस्था

महानगरपालिका शिक्षा विभागका प्रमुख सुवेदीका अनुसार हाल महानगरपालिकाभित्र ८९ सरकारी विद्यालय सञ्चालनमा छन्। यी सबै सरकारी विद्यालयमा स्मार्ट बोर्डको ब्यवस्थापन गर्न बजेट विनियोजन भएको छ।

त्यस्तै, बालबालिका किताबकाे गह्रौं भारी बोक्न बाध्य भएकाले कक्षाकोठामै लकरको व्यवस्था गरिने गरी बजेट छुट्याइएको छ। ‘कक्षा १–५ सम्मको बालबालिकालाई किताबको भारी नबोकाउन कक्षाकोठामै लकरको व्यवस्था गर्ने योजना छ, यही वर्ष सबै विद्यालयमा व्यवस्था गर्न नसकिएला तर परीक्षण लागि शुरुवात हुन्छ,’ उनले भने।

स्थानीय नेपाल भाषाको पठनपाठन प्रभावकारी बनाउन महानगरभित्रका सरकारी विद्यालयमा १ सय ७२ जना र निजी विद्यालयमा ३ सय जना नेपालभाषा अध्यापन गर्ने प्रशिक्षक र सहायक प्रशिक्षकलाई प्रशिक्षण दिइएको महानगरपालिकाले जनाएको छ।

त्यस्तै, हाल ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन भइरहेकोमा आगामी आवमा थप २ वटा विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ।

आवासीय निजी विद्यालयमा कम्तिमा १ जना चिकित्सक र सम्भावित विपद जोखिम न्यूनीकरण गर्न अग्नि नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइने बजेटमा उल्लेख छ।

निजी विद्यालयको शुल्क पुनरावलोकन गरी वैज्ञानिक र मापदण्डमा आधारित बनाइनेछ, सरकारी र निजी विद्यालयबीच गुणस्तर विकास र असल अभ्यास आदानप्रदानका लागि साझेदारी गर्नेलगायत नीति तथा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ।  

शिक्षामा ललितपुरको ५ करोड बजेट, महानगरीय स्कुल चलाउने

ललितपुर महानगरपालिकाले याे वर्ष शिक्षा क्षेत्रका लागि करिब ५ करोड बजेट प्रस्तावित भएको छ। महानगरपालिकाको शिक्षा विभाग प्रमुख महेन्द्रबहादुर क्षेत्रीले यी बजेट प्रस्तावित भएको र रातो किताब छापिन बाँकी रहेको जानकारी दिए।

बजेटले कक्षा १ देखि ३ सम्मका सरकारी विद्यालयमा नेपाल भाषा पठनपाठन सञ्चालन गर्ने, विद्यालय स्मार्ट बनाइने उनको भनाइ छ। उनले महानगरीय स्कुल सञ्चालन गर्ने योजना ल्याएको पनि जानकारी दिए।

उनले भने, ‘एउटा महानगरीय स्कुल सञ्चालनमा ल्याउने योजना छ, परीक्षा प्रणालीलगायत विद्यालय सुधार गरि गुणस्तरीय शिक्षाका लागि बजेट विनियोजन भएको छ।’

भक्तपुरले शिक्षामा छुट्यायो ४२ करोडभन्दा बढी

भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले शिक्षा र संस्कृति क्षेत्रका लागि ४२ करोड, ४४ लाख ८ हजार बजेट विनियोजन भइसकेको जानकारी दिए।

यही बजेटले आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरिनेछ। यसले विद्यार्थीमा प्रतिस्पर्धी भावनाको विकास हुनुको साथै शैक्षिक स्तरमा सुधार आउने विश्वास नगरपालिकाको छ।

त्यस्तै, स्थानीय नेपाल भाषा लिपीसम्बन्धी कक्षा सञ्चालनको लागि तालिमको व्यवस्था, जनज्योति पुस्तकालयलाई अझ स्तरीय बनाउन आवश्यक भौतिक सुधार गर्नुका साथै शिक्षा अध्ययन गर्न विद्यार्थीका लागि आवश्यक पुस्तकसहित ई-लाइब्रेरीको व्यवस्था गर्ने लगायत नगरपालिकाको नीति तथा कार्यक्रम छ।

गोकर्णेश्वरले यो वर्ष शिक्षक दरबन्दी मिलान गर्ने

गोकर्णेश्वर नगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने, विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नेलगायत यो वर्षको नीति तथा कार्यक्रम ल्याएको छ।

नगरपालिकाका शिक्षा विभाग प्रमुख दण्डपाणि शर्माले बढी प्राविधिक शिक्षालाई जोड दिने कार्यक्रम ल्याएको बताए। ‘रातो किताबमा छापिएपछि मात्रै शिक्षामा छुट्याएको बजेट भन्न मिल्छ, हामीले बढी भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएका छौँ,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.