|

हालै माओवादी नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासी भारत पुगे। उनी सत्तारुढ गठबन्धनको घटकका प्रमुख नेता पनि हुन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।

अन्तिम समयमा आएर मोदी र प्रचण्डबीच वार्ता भएन। दुईपटक प्रधानमन्त्री भएका प्रचण्ड भारतको सत्ताधारी दल भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका हुन्।

भारतीय अधिकारीसँग सम्बन्ध सुधार्न भनेर भारत पुगेका वेला बरु नेपाली काँग्रेसकी नेत्री एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा र प्रचण्डबीच भारतमा भेटघाट भयो। नेपालको सत्तारुढ गठबन्धनका दुई घटकका उच्च तहका नेता भारतमा गएर भेटघाट गर्नु पक्कै पनि उचित होइन। यद्यपि यो भेटघाटलाई प्रचण्डले कार्यतालिकामा नभएको र राजदूतकहाँ पुग्दा आरजुसँग भेट भएको बताएका छन्।

त्यसै त नेपाली राजनीतिमा भारतीय हस्तक्षेप रहेको कुरा नेपाली नेताले भन्दै आएका हुन्। विगतमा प्रचण्डले नै पटक पटक यस्ता नारा लगाउँदै आएका हुन्। अहिले उनै प्रचण्ड भारतको राजधानी दिल्लीमा बसेर आफ्नै सत्तारुढ घटककै नेत्रीसँग भेटघाट गर्छन्। यसले विगतमा उनले गर्ने गरेको कुरालाई पुष्टि गर्ने पर्याप्त ठाउँ दिएको छ।   

यसरी एकातिर प्रचण्ड र आरजु देउवा भारतीय अधिकारीसँग भेटघाटका लागि कुदिरहँदा भारतका लागि नेपालका राजदूत शंकर शर्मा भने भारतीय अधिकारीसँग भेट नपाएर पर्खेर बसेका छन्।

दुई देशको सम्बन्धलाई आधिकारिक रूपमा अगाडि बढाउने र समन्वय गर्ने काम राजदूतको हुन्छ। राज्यले त्यसकै लागि राजदूतको व्यवस्था गरेको हुन्छ। हो‚ कुनै विशेष अवस्थामा दुई देशबीचको सम्बन्धमा राजनीतिक रूपमा अगाडि सर्नुपर्ने हुन्छ। त्यो विशेष अवस्थाबाहेकको समयमा राजदूत नै दुई देशबीचको सम्बन्धको सेतु हो। शर्माले गत अप्रिलमा पदभार ग्रहण गरे पनि भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकर र विदेशसचिव विनय मोहन क्वात्रासँग औपचारिक भेटघाट भएको छैन।

दुई देशबीच असल सम्बन्धका लागि शंकर शर्मालाई नेपालले भारतका लागि राजदूतको जिम्मेवारी दिएको हो। राज्यको हितका सामु प्रचण्ड र आरजु वा तिनका दलका स्वार्थ महत्त्वपूर्ण हुनै सक्दैनन्। त्यति कुरा पनि काँग्रेस र माओवादी केन्द्रले नबुझेका होलान् वा आफूभन्दा राष्ट्रिय हितलाई गौण ठाने। यो कुरा दुवै दल र तिनका नेताले स्पष्ट पार्नु आवश्यक छ।

वास्तवमा कुनै पनि देशमा रहेको विदेशी दूतावासले विदेश मन्त्रालयमार्फत मात्रै त्यो देशसँग कूटनीतिक सम्बन्ध कायम गर्छ।

राजदूत शर्माले भारतीय विदेशमन्त्री र परराष्ट्र सचिवसँग औपचारिक भेट भने हुन सकेको छैन। दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘लामो समयदेखि हामीले भारतका विभिन्न मन्त्रालयलाई दर्जनौँ पत्र लेखेर राजदूतलाई भेट दिन आग्रह गरेका छौँ। अहिलेसम्म हामीले कुनै जवाफ पाएका छैनौँ।’

अर्को पक्षतर्फ हेरौँ। नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले पदभार ग्रहण गरेको एक महिनाभित्रै नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेटघाट गरिसकेका छन्।

यति मात्र होइन‚ भारतीय राजदूतले नेपालका सबै ठूला दलका नेता र विभिन्न मन्त्रीहरूसँग पनि भेट गरेका छन्। भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले भारतको यस्तो रवैयाले हाम्रो छिमेकी मुलुक कूटनीतिक माध्यमबाट सम्पर्क गर्न नचाहेको प्रष्ट देखाएको बताउँछन्। ‘हाम्रा राजदूतलाई भेट्नु भारत सरकारको प्राथमिकतामा नपरेको स्पष्ट छ’, उनले भने।

परराष्ट्रमन्त्री जयशंकरले प्रचण्डलाई पर्याप्त समय दिए पनि नेपाली राजदूतलाई समय नदिएकोमा प्रश्न उठेको छ।

यसअघि शनिबार भारतीय विदेशमन्त्रीले प्रचण्डसँग भेट गरेका थिए। त्यति मात्र होइन, भाजपा अध्यक्ष जेपी नड्डा र प्रचण्डबीचको भेटमा भारतीय विदेशमन्त्री पनि उपस्थित थिए। भारतीय नेतृत्वले नेपालसँग सम्बन्धलाई कूटनीतिक माध्यमबाट मान्यता दिनभन्दा नेताहरू मार्फत नै सञ्चालन गरिरहेका छन्। यस्तो कूटनीतिक असफलताको जिम्मेवार नेपाली नेतृत्व रहेको बताउँछन् ।

नीलाम्बर आचार्य भन्छन्, ‘म भारतलाई जिम्मेवार ठान्दिनँ। हाम्रो सरकारले हाम्रा कूटनीतिक नियोगहरूलाई महत्त्व दिएको छ कि छैन भनेर हामीले आफैंमा हेर्नुपर्छ। उनले नेपालले भारतीय कदमको परीक्षण गर्नुपर्ने बताए।’

तीन महिना बितिसक्दा पनि नयाँ राजदूतलाई लिएर भारतबाट चिसो प्रतिक्रिया आएको छ। प्रचण्ड र भारतबीचको सम्बन्धलाई लिएर विगतमा नै विवादास्पद धारणा अभिव्यक्त हुँदै आएका छन्।

हिजो माओवादी विद्रोह गर्दा नेपाल सरकारसँग उठाएका मागमा भारतसँगका विभिन्न समस्या पनि समावेश थिए। ती मागका बारेमा दुई दुई पटक आफू प्रधानमन्त्री हुँदा पनि प्रचण्डले भारतसँग उठाउन सकेनन्।

यसैगरी हिजो विद्रोह कालमा माओवादीकै तत्कालीन नेता लालध्वज (बाबुराम भट्टराई)लाई भारतपरस्त रहेको आरोप लगाई श्रमशिविरमा राखेका प्रचण्ड भारतसँग ढुलमुले देखिनु उनको भाषामा क्रान्तिकारी छलाङ हो। यसैगरी प्रचण्डले आफ्नै गुरु मोहन वैद्य ‘किरण’ र अर्का नेता सी पी गजुरेललाई पनि भारतीय जासुसलाई जानकारी दिएर थुनाउन लगाएका आरोपको प्रचण्डले अहिलेसम्म चित्तबुझ्दो जवाफ दिन सकेका पनि छैनन्।  यस्तो अवस्थामा भएको प्रचण्डको भारत भ्रमणले गतिलो सन्देश दिएको छैन।

नेपालका दलहरूले भारतसँगको सम्बन्धलाई महत्त्व दिनुभन्दा आफ्ना कार्यकर्तालाई जागिर खुवाउने ठाउँ बनाएर तमासा गरिदिन्छन्। विश्वको दोस्रो शक्ति बन्ने तयारी अवस्थामा रहेको भारतमा डेढ वर्षसम्म नेपालले राजदूत नियुक्त नगरेर परराष्ट्रका जुनियर अधिकृतको भरमा चलाएको थियो।

त्यस्तै नेपालमा सरकार बदलिनासाथ नयाँ सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई अयोग्य भएको भन्दै फिर्ता बोलायो। त्यो बीचमा नयाँ सरकारले हिसाबकिताब नमिल्दा भारतमा नयाँ राजदूत नियुक्त गर्न सकेन। फेरि सरकार बदलियो तिनै दीपकुमार उपाध्यायलाई भारतका लागि राजदूत बनाइयो। केही महिनाअगाडि राजदूतमा अयोग्य ठानेर फिर्ता बोलाएको व्यक्ति केही महिनामै त्यही देशमा फेरि राजदूत बनाइन्छ। यसले नेपालका राजनीतिक दल र तिनका नेताको टिठलाग्दो कूटनीतिक क्षमता चित्रण गर्छ।

एकातिर यस्तो गाईजात्रे कूटनीति देखाउने नेताहरू अर्कोतिर विदेशी नेतालाई भेट्दा सम्बद्ध राजदूतसँग परामर्श पनि गर्दैनन्।

यसपालिको प्रचण्डको भारत भ्रमणले नेपाली नेता र कूटनीतिक असफलता झल्किएको छ।        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.