|

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकका अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्थिति बुझ्न, उद्धार र सहयोग गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले कार्यदल गठन गर्न निर्देशन दिएका छन्। मन्त्रीस्तरीय निर्णयबाट ३ सदस्यीय कार्यदल गठन गर्न लागिएको हो। 

जसमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहनेछन्। समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकको एकीकृत तथ्यांक तयार गर्ने, तिनीहरूलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरूको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात सरल एवम् प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट बेहोर्ने काम गर्नेछ। 

साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली बिरामीका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटकपटक लेखी पठाएको थियो। २८ असार परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय प्रतिनिधिबीच छलफल भएको थियो।

बैठकले साउदी अरबसहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधि नाघिसकेका नेपालीको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो। 

विदेशी अस्पतालहरुमा उपचाररत नेपालीको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिसाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार बोर्डको सचिवालयले गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.