आरम्भ
नेकपा (२००६) का संस्थापक महामन्त्री पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका महान् आदर्श हुन्। उनले कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रिक आन्दोलनसित जोडेर अगाडि बढाउने दूरदर्शी सोच र व्यवहार रहेको देखिन्छ।
२००७ सालको आन्दोलनमा राणाशाहीका विरुद्ध नेकपा प्रतिकूलताकाबीच पनि पूरै शक्ति लगाएर लाग्यो। चारतारे झण्डाअन्तर्गत मात्र कम्युनिष्टहरूले आन्दोलनमा सहभागी हुन पाइने नत्र नपाइने परिस्थिति निर्माण गरियो।
आन्दोलनमा भूमिगत रूपमा लागिपरेका पुष्पलाललाई नेपाल वा भारत जहाँ भेटे पनि पक्राउ गर्ने तयारी गरिएको थियो। तर पनि नेकपा न्यून उपलब्धिकै प्राप्तिका लागि आन्दोलनमा सरिक भयो।
पुष्पलाल र कपटलाल
मानिसको शरीरमा जीवन तत्व र मरणशील तत्वकाबीच द्वन्द्व भएजस्तो कम्युनिष्ट पार्टीमा पनि विपरीत स्वार्थका बीच द्वन्द्व हुन्छ। त्यसैले, पुष्पलालको त्याग, समर्पण र आवश्यक पर्दा जस्तोसुकै बलिदानी भावनाका विरुद्ध नितान्त निजी र समूहगत स्वार्थमा लम्पट नेताकाबीच द्वन्द्व चर्किँदा पुष्पलाललाई २००८ सालमा पोलिटब्युरोको बहुमतका नाममा संस्थापक महामन्त्रीबाट हटाए।
त्यति मात्र होइन पहिलो महाधिवेशनमा समेत पुष्पलालविरुद्ध गम्भीर षडयन्त्र गरी महामन्त्री बन्न दिइएन। यस्ता विषयहरू आफूले गम्भीर शिक्षाका रुपमा लिएको नवौँ महाधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए।
त्यागी नेताहरू आफू पार्टी र आन्दोलनका पक्षको रक्षाका लागि सदा तम्तयार हुन्छन्। कपटलालहरू पार्टीलाई स-साना स्वार्थमा खरानी बनाउन उद्यत हुन्छन्।
दुई महिनापछि हुने महाधिवेशनसम्म नपर्खिई पार्टी फुटाउँछन्। नेकाको टाङ मुनि छिरेर आन्दोलन जोगाउने र समाजवादको आधार तयार गर्ने ढोग पनि गर्छन्। केही महिने मन्त्री खान घरमा आगो झोस्छन्। विदेशीको भरिया हुन्छन्।
पुष्पलाल र शुष्कलाल
पुष्पलाल देश र जनताको उत्थानमा बलिदानी भावनाका साथ संघर्षमा लागि पर्छन्, मार्क्सवादलाई आफ्ना जीवनमा आत्मसात् गर्छन्। तर, शुष्कलालहरू त मार्क्सवाद मात्र भट्याउँछन्। तिनले मृत आत्माको चिर शान्तिको कामना गर्छन्।
शुष्कलाल आत्मकेन्द्रित चिन्तन र चरित्रबाट ग्रसित हुन्छन्। पुष्पलालले आफ्नो नामका पछाडि कहिल्यै जात, थर, धर्म र सम्प्रदाय उल्लेख गरेनन्। त्यस खालको व्यवहार पनि गरेनन्। तर, शुष्कलालहरू जात, भात, नाक, नश्ल, थर र गोत्रमा रमाउन थालेका छन्।
पुष्पलाल पठन संस्कृतिमा निर्लिप्त हुन निर्देश दिन्छन् भने शुष्कलालहरू पठन संस्कृतिका दृष्टिले निख्लाम देखिन्छन्।
मनको मैलो साबुनले धोएर जाँदैन। गिदीभित्र जमेर रहेको पश्चगामी र अधोगामि लिदी सफा गर्ने अद्भुत साबुन पठन,पठन र पुनः पठन नै हो भन्छन् पुष्पलाल तर शुष्कलालहरू यसमा शून्यप्राय देखिन्छन्।
कम्युनिष्ट र सोकल्ड कम्युनिष्ट
पुष्पलालले कम्युनिष्टहरू वर्ग पक्षधरतामा दृढ हुन्छन् तर सोकल्ड वा ढोँगी कम्युनिष्ट पनि हुन्छ्न् भनेका थिए। उनले पार्टीका ढोँगी कम्युनिष्टलाई गफाडी भनेका छन्।
पुष्पलालले पार्टी भन्नाले सैद्धान्तिक रुपले सबभन्दा चेतनशील अगुवा दस्ता, संगठित र अनुशासनबद्ध मजदुर वर्गको प्रतिनिधिहरूको दल हो भनेका छन्।
पुष्पलालले नेपालको समग्र इतिहासका सबै सरकारहरूलाई स्वीकार गर्दै अघि बढ्ने उद्घोष गरे। उनले नेता र कार्यकर्ताहरूलाई घमन्डी नहुन, जनमैत्री र स्रष्टा मैत्री हुन सल्लाह सुझाए। उनले नेताहरूलाई पठनमैत्री हुन पनि सल्लाह दिएका छन्।
उपसंहार
सदा दिन मुख धोईझैँ पार्टीमा शुद्धीकरण अभियान अपरिहार्य रहेको पुष्पलालले बताइरहे। पार्टीमा आलोचना र आत्मालोचनाको पद्धति बसाल्न सुझाए। पार्टी स्थापनाकालदेखि नै पुष्पलाल चरम आर्थिक भौतिक अभाव व्यहोरेको देखिन्छ।
उनले भोकभोकै बस्ने अवस्था पनि ब्यहोरे। तथापि पुष्पलाल त्याग, समर्पण र बलिदानी भावनाका साथ निष्ठापूर्वक आजीवन लागेको देखिन्छ। त्यसैले पुष्पलाल मूलत : कम्युनिष्ट आन्दोलनमा निष्ठापूर्वक लाग्ने आदर्श र अनुकरणीय महान् नेता हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।