|

बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा पालिकास्तरीय आधारभूत अस्पताल निर्माण शुरु भएको छ। केन्द्र सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको हो। अस्पताल निर्माण २०८० पुसमा सक्ने गरि बनाउन थालिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए।

गाउँपालिकाले १० करोड ९४ लाखको इस्टमेट गरेकोमा हिन्दुङ एसी आइएस जेभी कन्ट्रक्सनले ८ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरि जिम्मा लिएको गौतमको भनाई छ। अस्पताल १० शय्याको निर्माण हुने उनको भनाई छ। ‘अस्पतालको सम्झौताको भएर निर्माण शुरु भएको छ, आगामी २०८० पुससम्म सम्पन्न हुने गरि सम्झौता भएको छ‚’ उनले भने।

अस्पतालको लागत ठूलो भएको हुँदा निर्माण समय लामो भएको उनको भनाई छ। केन्द्र सरकारले कार्य प्रगतिको आधारमा बजेट दिने गौतमले बताए। अस्पताल भवन सुविधासम्पन्न हुने बताइएको छ। अस्पताल निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गर्ने हुने अपेक्षा लिइएको छ। भवन दुईतले हुने उनले बताए।

भवन निर्माणका लागि गाउँपालिकाले केही समयअगाडि नै ८ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो। अस्पताल बनाउन ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ। स्थानीयले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पताल शिलान्यास गरेको थियो तर निर्माण भने बल्ल शुरु भएको छ।

अस्पताल विशेषगरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ। झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा दिन थालेपछि निसीखोलाका हजारौँ नागरिकलाई उपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। उनले वर्षौंदेखि यहाँका बासिन्दा सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात गाउँ ठाउँबाटै सहज सेवा लिन सक्ने बताउँछन्।

‘निसीखोलाका दूरदराजमा रहेका बासिन्दाले वर्षौंदेखि सहज स्वास्थ्य सेवा लिन पाइरहेका छैनन्, सामान्य स्वास्थ्य सेवा पाउन नसकेका नागरिकले यहाँ अस्पताल बनेपछि विशेषज्ञ सेवा पाउने छन् भन्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष घर्ती मगरले भने‚ ‘सहज स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्रमुख दायित्व हो। धेरै नागरिकले स्वास्थ्य उपचारका लागि दुःख पाए अब त्यो समस्याको समाधान गर्नेतर्फ हामी छौँ।’

अध्यक्ष घर्ती मगरले सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुने बताए। ‘निसीखोलामा अझैसम्म विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुन सकिराखेको छैन, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइहरू त हामीले स्थापना गरेर सञ्चालनमा छन् तर विशेषज्ञ सेवा भने दिन सकिराखेका छैनौँ, त्यसका लागि ठूला–ठूला अस्पतालमा पुग्नु पर्ने अवस्था यथावत छ,’ उनले भने‚ ‘अब त्यो अवस्था पार लगाउनुपर्ने हिसाबले काम शुरु गरेका छौँ।’

यस क्षेत्रमा स्वास्थ्य चौकीभन्दा ठूला अस्पताल छैनन्। त्यसैले यहाँका हजारौँ नागरिक सामान्य बिरामी हुँदा बित्तिकै बुर्तिबाङ जाने गर्छन्। बुर्तिबाङमा उपचार हुन सकेन भने पोखरा, काठमाडौँ, पाल्पा, भरतपुरलगायत ठूलो अस्पताल जानुपर्ने बाध्यता छ। निसीखोलामा अहिलेसम्म पनि विशेषज्ञ सेवा छैन। निजी क्षेत्रले पनि यो सेवा उपलब्ध गराउन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.